Comments Add Comment

भरतपुर विमानस्थलको सेना दियालो बंगलामा सारिने !

२७, पुुुस, चितवन । चितवनको भरतपुर विमानस्थल विस्तार गर्दा हटाउनुपर्ने नेपाली सेनाको लागि अर्को उपयुक्त थलोको खोजी भएको छ ।

उत्तरपश्चिमतर्फको नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको केही जग्गा आवश्यक पर्ने देखिएपछि सेनालाई वैकल्पिक स्थानमा सार्ने विषयमा छलफल चलिरहेको छ ।

यसै क्रममा भरतपुर महानगरपालिकाले नेपाली सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि दियालो बंगलाको जग्गा प्रस्ताव गरेको छ । महानगरपालिकाकी मेयर रेनु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गलाको जमिनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

सेनाले पनि यहीँ नै बढी इच्छा देखाएको छ । वडा नं १ मा पर्ने आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० विघा हाराहारी जमीन छ । तत्कालिन राजा महेन्द्रको निधन यही बंगलाको दरवारमा भएको थियो ।

सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक महत्वका संरचना सुरक्षित हुने विश्वास महानगरको छ । दोस्रो विकल्पका रुपमा आँपटारीको जंगल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ ।

ती जमीनको रंगीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको महानगर प्रमुख दाहालले अनलाइनखबरलाई जानकारी दिइन् ।

घोडा फार्मका लागि गणेशस्थानदेखि पूर्वको क्षेत्रमा प्रस्ताव गरिएको छ । प्रमुख दाहालले नेपाली सेनाले जुन स्थान उपयुक्त ठान्दछ सोही ठाँउमा उचित व्यवस्थापन गरिने बताइन् ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिकृष्ण लामिछाने संयोजकत्वको ५ सदस्यीय समतिले एक महिनाअघि विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । समितिमा पर्यटन मन्त्रालयका सुर्वण भट्टराई सदस्य सचिव छन् भने, नेपाली सेनाका कर्णेल विजितराज रेग्मी, रक्षा मन्त्रालयबाट उपसचिव प्रदीप सुवेदी, र नागरिक उड्यन प्राधिकरणबाट इन्जिनियर नलविक्रम थापा सदस्य छन् ।

समितिका सदस्य सचिवसमेत रहेका पर्यटन मन्त्रालयका प्राविधकि सुर्वण भट्टराईले ‘प्रि फिजिविलिटी’ अध्ययनमात्रै गरिएको बताए । कति समयभित्र प्रतिवेदन बुझाउने कार्यादेश तोकिएको छ भन्ने अनलाइनखबरको प्रश्नले उनले ठ्याक्कै यति दिन भनेर भन्न नसकिने बताए ।

हाललाई सेनाको घोडा तबेलासहितको केही जग्गा भए विमानस्थललाई सुरक्षित गराउन र एटीआर ७२ ल्याउन सक्ने पुग्ने समितिको बुझाइ छ । समितिका सदस्यसमेत रहेका नागरिक उड्यन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले १२ सय मिटर रहेको धावन मार्गलाई १६५० मिटर बनाउने गरी प्रारम्भिक चरणको काम थालिएको बताए ।

यति हुँदा विमानस्थलमा एटीआर ७२ र ब्यास ८ विमान सजिलै आउन सक्ने उनले बताए । भरतपुरको धावन मार्ग १६५० मिटर बनाउँदा यो धनगढी पछिको दोस्रो ठूलो रनवे भएको आन्तरिक विमानस्थल बन्छ । धनगढीको १८ सय मिटर छ ।

प्राधिकरणका इन्जिनियर थापाले सेनाले भोग चलन गर्दै गरेको सबै जग्गा आवश्यक नभए पछि घोडा फर्मको सबै र सेनाको थोरै जग्गा आवश्यक पर्ने बताए । उनले विमानस्थललाई सुरक्षित बनाउन वरपरका घरसमेत भत्काउनुपर्ने बताए । ‘सेनाको फार्म र घर भत्काउँदा ठूलो खर्च आउनसक्छ’ इन्जिनियर थापाले भने ‘सकभर कम क्षति हुने उपायहरु सुझाउन खोजिरहेका छौं ।’

सेना बाधक बन्दैन : पर्यटनमन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले विमानस्थलको रनवे विस्तारमा नेपाली सेना बाधक नबन्ने बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै मन्त्री भट्टराईले नेपाली सेनाकै सहमतिमा विमानस्थल विस्तार गरिने बताए । स्थानान्तरणका लागि सेना तयार छैन भन्ने कुरा ‘रेडिमेड’ हल्लामात्रै भएको मन्त्री भट्टराईले बताए ।

‘नेपाली सेना हाम्रो सेना हो, सेनाले विमानस्थल विस्तारमा बाधक नबन्ने बताइसकेको छ, सेनाको प्रतिनिधि पनि कमिटिमा हुनुहुन्छ’ मन्त्री भट्टराईले भने, ‘आजको भोलि नै हट भन्नेवित्तिकै हटिहाल्ने सेना पान पसल त होइन, तरकारी पसल पनि हैन, त्यसको पनि विधि र प्रक्रिया छ, वैकल्पिक जमिनको व्यवस्थापन महानगरपालिकाले गरेपछि सेना सर्छ ।’

उनले विमानस्थल विस्तारका लागि जिम्मेवारी तोकेर नै काम गरिने बताए । ‘मन्त्रालयले प्राविधिक काम र लगानी गर्छ, महानगरपालिकाले सेनाका लागि वैकल्पिक जमिनको व्यवस्था मिलाउँछ र जोखिमयुक्त संरचना हटाउँछ’ मन्त्री भट्टराईले भने । भरतपुरमा विमास्थल विस्तार भए दैनिक एक सय उडान, डोमेस्टिक विमानहरुको हव बनाएर रात्रीकालीन उडान समेत गर्न सकिने मन्त्री भट्टराईले बताए ।

मापदण्ड विपरीतका घर भत्काइएन

मापदण्ड विपरीत निर्माण भएका भौतिक संरचनाबारे अध्ययन गर्न ११ जेठ २०७१ सालमा बनेको समितिले २ सय ५७ घरहरु मापदण्ड विपरीत भएको प्रतिवेदन दिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरीत बनेका घरहरु तत्काल हटाउन सुझाव दिइएको थियो । तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै काम प्याकेजमा एकैपटक हल गरिने बताइन् । महानगरपालिकाले दक्षिण पूर्वतर्फ रहेका घर माथिको ट्रष्ट हटाउने भनेपनि अझै हटाएको छैन । सोही ठाँउमा रहेको विद्युतको हाइटेन्सन लाइनलाई भने विद्युत प्राधिकरणले भूमिगत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment