Comments Add Comment

बागमती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा

१ माघ, इनरुवा । नेपाल आर्मी क्लब मनमोहन मेमोरियल एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

उसले बुधबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ६४ रनले हराएको छ । आर्मीले दिएको २१७ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्र जोड्न सक्यो ।

उसका लागि सातौं नम्बरमा आएका सोनु तामाङले ७४ रनको महत्वपूर्ण पारी खेलेका थिए । तर कप्तान सुवास खकुरेलले १५ र इशान पाण्डले १७ रन बनाउनु बाहेक अरुले दोहारो अंकसमेत जोड्न सकेनन् ।

आर्मीका सुशन भारीले तीन विकेट लिएर शाहब आलमले २ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४६.३ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । उसका अनिलकुमार मण्डलले ४३ रन बनाए भने कुशल मल्लले ३७, रोहितकुमार पौडेलले २९ र विक्रम शोवले २४ रन जोडेका थिए ।

बागमती प्रदेशका गौतम जिसीले ४ विकेट लिँदा तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डेले २-२ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment