Comments Add Comment

बेल्जियमकी राजकुमारी आइतबार नेपाल आउने

२ माघ, काठमाडौं । बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद आगामी हप्ता नेपाल आउने भएकी छिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राजकुमारीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्नेछिन् ।

आफ्नो एक हप्ता लामो भ्रमणका क्रममा अस्त्रिद कैलाली, नवलपरासी र चितवन समेत पुग्ने मन्त्रालयले बताएको छ । कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्नेछिन् । उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि यस्ता बिरामीलाई भेट्नेछिन् ।

यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । राजकुमारी अस्त्रिद बारुदी सुरुङ विरुद्धको अभियानमा पनि सक्रिय छिन् ।

सरकारले यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने र सहकार्य थप विस्तार हुने आशा राखेको छ । आफ्नो भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते शनिबार फर्कनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment