Comments Add Comment

बुलेटबाट ग्यास लिक हुँदा वीरगञ्ज-पथलैया सडक डेढ घण्टा अवरुद्ध

२ माघ, वीरगञ्ज । बुलेटबाट ग्यास लिक भएपछि पथलैया–वीरगञ्ज सडकखण्ड बिहीबार डेढ घण्टा अवरुद्ध भएको छ । बिहीबारसाँझ ६ बजेदेखि साढे ७ बजेसम्म सिक्स लेन सडक अवरुद्ध भएको हो ।

भारतबाट ग्यास लिएर चितवनतर्फ जाँदै गरेको एम एल ०१ के ५८९५ नम्बरको ग्यास बुलेटबाट ग्यास लिक भएको थियो ।

जितपुर सिमरा उपमहानगरपालिका–२ सूर्य नेपाल अगाडि ग्यास लिक भएपछि आसपासका स्थानीय आत्तिएका थिए । प्रहरीले सवारी आवागमन रोकेर बुलेटको प्वाल टाल्न प्राविधिक बोलाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्राविधिक आएर लिक भएको ठाउँको प्वाल टालिसकेको जानकारी दिए ।

‘बुलेटबाट एक्कासी ग्यास निस्किएछ, खबर आए लगत्तै प्रहरी टोली पुग्यो । बाहिर आगो लाग्न सक्ने खतरा भएकोले दुवै तर्फ सवारी आवागमन रोकेर राख्यौं । प्राविधिक बोलाएर बन्द गरिसकेका छौं,’ डीएसपी मिश्रले भने, ‘ बुलेट सडकमा फसेका कारण लिक बन्द गरेपछि पनि निकाल्न केही समय लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment