Comments Add Comment

ए डिभिजन लिगमा आज चिर प्रतिद्वन्द्वी मनाङ र थ्रि–स्टार भिड्दै

एन्फा कम्प्लेक्समा पुलिस र जावलाखेलकाे खेल

४ माघ, काठमाडौं । लिग फुटबल होस् या नकआउट फुटबल, मनाङ मर्स्याङ्दी भर्सेस थ्रि–स्टार क्लबको खेल भनेपछि छुट्टै चर्चा हुन्छ । नेपाली फुटबलकै सबैभन्दा ठूलो प्रतिस्पर्धा छ यी दुई चर्चित क्लबको ।

मनाङ गत सिजनको च्याम्पियन टिम हो भने थ्री स्टार गत सिजन तेस्रो भएको थियो । यता दुवै टिम पहिलाको जस्तो छैनन् । मनाङले गत सिजन लिग जित्दा कप्तान विराज महर्जनसहित १२ खेलाडीले यस सिजन मनाङ छाडे । थ्री स्टारबाट पनि यस सिजन ८ खेलाडी बाहिरिए । नेपालको राष्ट्रिय टिमले पछिल्लो पटक भुटानमा कुवेतसँग गरेको प्रतिस्पर्धामा खेलेका तीन खेलाडी अनन्त तामाङ, विक्रम लामा र मिक्छेन तामाङ थ्री स्टारमा छन् । मनाङमा त वर्तमान राष्ट्रिय टिमका कुनै खेलाडी छैनन् । तर राष्ट्रिय टिमबाट खेलिसकेका रन्जन विष्ट, विमल राना र आदित्य चौधरी छन् । त्यसैले दुवै क्लब पहिलेजस्तो बलियो यस सिजन देखिएका छैनन् । तर, फेरि यी दुई क्लबको खेलको छुट्टै चार्म छ ।

यस सिजन यी दुई क्लबबाटै नाम चलेका खेलाडी भित्र्याएर मछिन्द्र क्लबले उपाधिको दाबेदारी पेस गरिसकेको छ । तर चर्चा मनाङ भर्सेस थ्री स्टारकै बढी हुन्छ । मनाङले त मछिन्द्रसँग खेलिसकेको छ । अब थ्री स्टारले खेल्न बाँकी छ । मनाङ र थ्री स्टार क्लबबीचको खेलले उपाधिको समीकरणलाई समेत प्रभावित पार्नेछ । गत सिजन मनाङले थ्री स्टारलाई २–१ ले पराजित गरेको थियो । त्यसबेला थ्री स्टारले मनाङबाट अनील गुरुङलाई प्रवेश गराएको थियो । यस सिजन मनाङले थ्री स्टारका रञ्जन विष्टलाई भित्र्याएको छ । तर मछिन्द्रविरुद्धको खेलमा मुक्कामुक्कीमा संलग्न भएपछि रञ्जन दुई खेलको निलम्बनमा छन् । त्यसैले पूर्वक्लब थ्री स्टारविरुद्ध खेल्न पाउने छैनन् ।

यस सिजन स्टार खेलाडीबिना नै मनाङ र थ्री स्टारले जेनतेन खेलिरहेका छन् । साविक विजेतासमेत रहेको मनाङले ६ खेलसम्म अपराजित यात्रा कायम राख्दै १२ अंक जोडेको छ । सुरुवाती ३ खेल जित्दै उत्कृष्ट थालनी गरेको मनाङले त्यसयता लगातार ३ बराबरी खेलेको छ । उता, थ्री स्टारले ३ जित र १ बराबरीबाट १० अंक जोडेको छ । २ खेलमा भने थ्री स्टार पराजित भएको थियो ।

मनाङ र थ्री स्टारभन्दा अंक तालिकामा त्रिभुवन आर्मी र मछिन्द्र क्लब छन् । आर्मीको ६ खेलबाट ४ जित र १ बराबरीसहित १३ अंक छ । आर्मीको एक हार मनाङसँग नै थियो । यस्तै ७ खेल खेलिसकेको मछिन्द्रको १३ अंक नै छ । ६ खेलसम्म अपराजित मछिन्द्र सातौं चरणमा हिमालयन शेर्पासँग पराजित भएको थियो । मछिन्द्रले ४ जित र २ बराबरीबाट १४ अंक जोडे पनि गत सिजन अन्तिम दुईमा रहेकोले यस पटक १ अंक ऋण तिरेको हो ।

आर्मीले सातौं चरणमा खेल्न बाँकी छ । त्यसअघि मनाङ र थ्री स्टार भिड्दा दुवैलाई ३ अंक जोड्दै अगाडि बढ्ने अवसर छ । मनाङले जिते आर्मी र मछिन्द्रलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा पुगनेछ । थ्री स्टारले जितेमा भने आर्मी र मछिन्द्रसँग अंक बराबरी गर्नेछ । यस्तोमा गोलअन्तरले अंक तालिकामा स्थान छिनोफानो हुनेछ ।

मनाङ र थ्री स्टारले बराबरी खेलेमा भने मनाङले आर्मी र मछिन्द्रसँग अंक बराबरी गर्नेछ भने थ्री स्टार चौथो स्थानमै रहनेछ ।

लिगकै सबैभन्दा बढी प्रतीक्षा गरिने र हेरिने खेलमा पर्छ मनाङ र थ्री स्टारबीचको खेल । त्यही दुई क्लब आज दिउँसो ३ बजे दशरथ रंगशालमा भिड्दैछन् । मनाङले सर्वाधिक ८ पटक लिग उपाधि जितेको छ । थ्री स्टारले ४ पटक लिग जितेको छ ।
दुवै क्लबले करिब संगै ए डिभिजन लिग खेल्न थालेका थिए । डी सी बी डिभिजन जित्दै ०४२ सालबाट ए डिभिजन लिग खेल्न थालेको मनाङले डेब्यु सिजन देखि नै लगातार ३ पटक उपाधि जित्दै ह्याट्रिक गरेको थियो ।

त्यसयता मनाङले २०५७, २०६०, २०६२, २०७० र २०७५ सालमा लिग जितेको थियो । थ्री स्टारले २०५४ र ५५ मा लगातार दुई पटक जितेको थियो भने २०६१ र २०६९ मा पनि लिग जितेको थियो ।

पुलिस र जावलाखेल एन्फा कम्प्लेक्समा भिड्ने

आजै नेपाल पुलिस र जावलाखेल युथ क्लबबीच पनि खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेल दशरथ रंगशालमा गर्नेगरी खेल तालिका सार्वजनिक गरेको थियो । तर शुक्रबारको वर्षाका कारण आजको एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको छ । शुक्रबार मछिन्द्र र हिमालयन शेर्पा क्लबबीचको खेल पनि वर्षाका कारण एन्फा कम्प्लेक्समै खेलाइएको थियो ।

जावलाखेल ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकामा पाँचौं स्थानमा छ । समान खेलबाट ८ अंकसहित पुलिस सातौं स्थानमा छ । दुवै टोलीलाई आजको खेल जित्दै अंक तालिकामा सुधार गर्ने मौका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment