Comments Add Comment

डर्टमण्डमा हालान्डको शानदार डेब्यु, बेन्चबाट गएर २३ मिनेटमै ह्याट्रिक

काठमाडौं । यसै जनवरी विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट जर्मन क्लब बोरुसियाडर्टमण्ड पुगेका एर्लिन हालान्डको लिग डेब्यु शानदार रह्यो । उनले डेब्युमा ह्याट्रिक गर्दै यादगार मात्र बनाएनन् डर्टमण्डलाई समेत जित दिलाएका छन् ।

हालान्डले डेब्युमा ह्याट्रिक गर्दै डर्टमण्डलाई जिताए । त्यो पनि दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक पूरा गरे ।

बुण्डेशलिगाअन्तर्गत शनिबार डर्टमण्डले अग्सवर्गलाई ५–३ ले हरायो ।

पहिलो हाफ घरेलु टोली अग्सवर्गको थियो । जसमा उसले १–० को अग्रता लिएको थियो । तर दोस्रो हाफ हालान्ड र डर्टमण्डको रह्यो । जसमा हालान्डले ह्याट्रिक गरे । डर्टमण्डले ५ गोल गर्दै जित पोल्टामा पार्न सफल रह्यो ।

५६ औं मिनेटमा लुकास पिजेको स्थानमा हालान्ड मैदानमा प्रवेश गर्दा डर्टमण्ड ३–१ ले पछि थियो । तर जब हालान्ड मैदान छिरे, खेलको कथा फेरियो । मैदान प्रवेश गरेको तीन मिनेटमै उनले बुण्डेसलिगामा डेब्यु गोल गरे । उनले पहिलो टचमै गोल गरेका थिए । जसले डर्टमण्डको खेलमा फर्कने आशा पलायो । दुई मिनेटपछि डर्टमण्डका लागि जाडोन सान्चोले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याए । त्यसपछिको दुई गोल हालान्डको नाममा रह्यो । उनले ७० औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। मैदान छिरेको २३ मिनेटमै यो सब भएको थियो । तर उनले २० मिनेट अन्तरमा तीन गोल गरेका हुन् ।

त्यसअघि फ्लोरिन नाइडेलनचर र मार्को रिचरले गोल गर्दै अग्सवर्गलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा डर्टमण्डका लागि युलियन बर्नाण्टले गोल गरेका थिए । तर नाइडेलनचरले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा अग्सवर्गले ३–१ को अग्रता बनाएको थियो । तर जोगाउन सकेन भने हालान्ड प्रेरित डर्टमण्डले उत्कृष्ट पुनरागमन गर्दै ३ अंक जोड्यो ।

जितपछि १८ खेलबाट ३३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा छ । समान अंक भए पनि डर्टमण्ड गोलअन्तरमा वायर्न म्युनिखभन्दा पछि छ । वायर्नले एक खेल कम खेलेको छ । यस्तै साल्केलाई भने डर्टमण्डले गोलअन्तरमा पछि पारेको छ ।

साल्केकले दोस्रो स्थानको मोन्चेनग्लाडबाचलाई २–० ले हराउँदै ३ अंक जोडेको हो । १८ खेलबाट ३५ अंक रहेको मोन्चेग्लाडबाचले शीर्ष स्थानको लेइपजिगसँग अंकदूरी कम पार्ने मौका गुमायो । टिमो वेर्नरको दुई गोल मद्दतमा लेइपजिगल एफसी युनियन बर्लिनलाई ३–१ ले पराजित गर्दा शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment