Comments Add Comment

सर्भरको समस्याले पटक-पटक श्रम स्वीकृति प्रक्रिया प्रभावित

५ माघ, काठमाडौं । गत बुधबारदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एर्फइआईएमएस)मा बारम्बार समस्या देखिन थालेको छ । यसले विदेश जान नयाँ श्रम स्वीकृति लिन र श्रम स्वीकृति नवीकरण गर्न आएकाहरु समस्यामा परेका छन् । कतिपयले टिकट रद्ध गर्नुपरेको छ भने कतिलाई आर्थिक क्षति समेत भएको छ ।

बुधबारदेखि दिनको एक-दुई घण्टा आंशिक रुपमा मात्रै प्रणालीको ‘सर्भर’ चलिरहेको छ । आइतबार भने सर्भरमा समस्या नदेखिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

वैदेशिक रोजगार विभागको प्रणाली सरकारी प्रणालीमध्ये कम ‘डाउन’ हुनेभित्र पर्थ्यो । तर सरकारले जनवरी १ बाट यसमा वैदेशिक रोजगारसम्बद्ध सबैजसो कार्यालयहरुमा जोडेर ‘क्षेत्र’ विस्तार गरेको छ ।

त्यसपछि सर्भरको क्षमता भन्दा बढी उपयोग हुने अवस्था आएपछि सर्भरमा समस्या देखिन थालेको विभागमा कर्मचारी बताउँछन् । सर्भरमा पटक-पटक समस्या आएपछि विदेश जान टिकट काटेका कामदारहरु भने समस्यामा परेका छन् ।

हाल विभागको अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति दिन सकिने गरी प्रवन्ध छ । ‘म्यानुअल’ सेवा दिन नसक्दा बुधबार, बिहीबार र शुक्रबार विदेश जान टिकट काटिसकेकाहरुलाई श्रम स्वीकृति प्राप्त नभएर समस्या हुने अवस्था आएको थियो । जसले गर्दा शनिबार पनि कार्यालय खोलिएको थियो ।

सर्भरले पटक-पटक धोका दिन थालेपछि सेवाग्राहीलाई काठमाडौंमा थप समय बस्नुपर्ने, टिकट क्यान्सिल गर्नुपर्ने, त्यसका कारण आर्थिक क्षति हुने लगायतको जोखिम र समस्या बढेको छ ।

टिकट काटिसकेका र फ्लाइट छुट्ने अवस्था देखिएका कामदारको श्रम स्वीकृति बेला-बेला सर्भर खुल्दा ‘इन्ट्री’ गरेर व्यवस्थापन गरिएको बताउँछन् ताहाचल कार्यालयका निर्देशक सुरेश जोशी ।

‘आइतबार सर्भरमा समस्या छैन,’ उनले भने,’समस्या आएपनि सेवाग्राहीलाई समस्यामा पर्न दिँदैनौं ।’

तर लाइनमा बसेका कामदारहरु भने विभागले दुःख दिएको भन्दै आक्रोशित छन् । सर्भर डाउन भएपनि वैकल्पिक रुपमा अन्य माध्यमबाट व्यवस्थापन गरेर श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । सर्भरको समस्याले धेरै कामदारले टिकट समेत रद्ध गरेको दावी म्यानपावर व्यवसायीले गरेका छन् ।

विभागले कामदारले उडानको मितिभन्दा एक हप्ताअघि नै श्रम स्वीकृति लिने प्रक्रिया पुरा गरेमा सास्ती नहुने भन्दै प्राविधिक समस्या आउन नदिन आफ्नो प्रयास जारी रहेको तर्क गरेको छ ।

को-को छन् सर्भरमा ?

विभागको यो प्रणालीमा वैदेशिक रोजगारसँग सम्बद्ध सबैजसो निकाय तथा संस्थाहरु जोडिएका छन् । यसमा जोडिएका निकाय तथा संस्थाले आफ्नो तोकिएका प्रक्रियाहरु अनलाइनमार्फत नै पूरा गर्नुपर्छ ।

प्रमुख श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरु पनि यसमा समेटिएका छन् । दूतावासले मागपत्र प्रमाणीकरण गरेकै दिनमा म्यानपावर कम्पनीले अनलाइनबाट पूर्वस्वीकृतिका लागि प्रक्रिया थाल्न सक्छन् ।

दूतावासबाट प्रमाणित मागपत्र सिस्टममा राखिने भएकाले विभागले चाहेका बेला तत्कालै हेर्न सक्छ । दूतावासमा प्रमाणित भएको मागपत्र नै अन्तिम हुने भएकाले त्यसैअनुरुप पूर्व श्रमस्वीकृति जारी हुन्छ ।

अनलाइनबाट पूर्व श्रम स्वीकृति लिएकाले अनलाइनबाटै अन्तरवार्ताको अनुमति लिन सक्छन् । प्रक्रियामा कुनै कागजात अपुग भए वा नमिले विभागले अनलाइनमै सूचना माग्छ ।

यो प्रणालीले विभागीय कर्मचारी र म्यानपावर कम्पनीको भेट नहुने भएकाले यसअघिजस्तो मिलेमतोमा अनाधिकृत श्रम स्वीकृति जारी गर्ने जोखिम कम भएको छ । कामदार छनोटपछि अनलाइनबाटै विभागले श्रम स्वीकृति जारी गर्छ । विभागले श्रम स्वीकृतिको ई-स्किटर पनि अनलाइनमै जारी गर्छ । जसलाई म्यानपावरले पि्रन्ट गरेर लिन सक्छन् भने कामदारको इमेलमा पनि ई-स्टिकर पठाइन्छ ।

यो पद्धतिपछि विमानस्थलको अध्यागमन डेस्कमा जोडिने प्रणालीका राहदानी नम्बर राख्नासाथ श्रम स्वीकृति लिए नलिएको सबै विवरण देखिन्छ । त्यसैबाट सीधै अध्यागमन विभागका अधिकारीले प्रणालीबाट श्रम स्वीकृतिको विवरण हेर्न सक्छन् र त्यसैअनुरुप निरीक्षण गरेर विदेश उड्ने अनुमति दिन सक्छन् ।

यो प्रणालीमा कामदारदेखि म्यानपावर कम्पनी स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम केन्ऽ, बिमा कम्पनी, बैंकसम्म जोडिएका छन् । वैदेशिक रोजगार विभागसहित वैदेशिक रोजगार कार्यालयहरु, अध्यागमन विभाग, राहदानी विभाग, नेपाली दूतावास, कन्सुलर विभाग र वैदेशिक रोजगार बोर्डले पनि यो प्रणालीमा तोकिएका प्रक्रिया तथा सूचनाको पहुँच पाएका छन् ।

तर, अत्याधुनिक भनिएको सर्भर नै नचलेपछि भने विभागसँगै सम्बद्ध संस्था र कामदारहरू अन्योलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment