Comments Add Comment

असई बनाइदिन्छु भनी ठगेको आरोपमा नेकपाका नेता रामबाबु बैठा पक्राउ

६ माघ, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ कमिटीका सदस्य रामबाबु बैठा पक्राउ परेका छन् । ‘नेपाल प्रहरीको असई पदमा जागिर लगाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा पोखरिया–१ का नेता बैठा पक्राउ परेका हुन् ।

रौतहट मौलापुर–७ का प्रदीप कुमार साह कानुले उनी र सुनिल चौरसियाविरुद्ध ०७६ कात्तिक २ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जिल्ला अदालत पर्सामा ठगी मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।

पर्साको कालिकामाई गाउँपालिका– ३ का सुनिल चौरासियाको आइएमी बैंकमा रहेको खाताबाट २०७२ माघ १० गते बैठालाई रकम पैठाएको दाबी प्रदीपले गरेको छ । सुनिलको  नाममा रहेको खातामा वीरगञ्जबाट काठमाडौं पैसा पठाएको दाबी प्रदीपले गरेका हुन् । त्यसैगरि असोज २ गते पनि पैसा पठाएको रसिद भेटिएकोे छ ।

चौरसिया र घटनामा पछि जोडिन आइपुगेका कालिकामाई– १ का ईश्क कुमारलाई प्रहरीले यसअघि नै पक्राउ गरेर अदालत पेश गरिसकेको थियो । मंसिर ११ गते चौरासिया ५ लाख र ईश्क कुमार ५० हजार धरौटी बुझाएर तारिखमा रिहा भइसकेका छन् ।

बैठाले आफूलाई समेत ठगेको दाबी चौरसियाले गर्दै आएका छन् । चौरसियाका अनुसार बैठाले ७ लाख रुपैयाँ लिएर फिर्ता गरेका छैनन् । उजुरीपछि फरार रहेका बैठा सोमबार स्वयं जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर राखेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता विरेन्द्र साहीले ठगी मुद्धामा बैठालाई पक्राउ गरिएको जानकारी दिए । ‘ असई बनाइदिन्छु भनेर ५ लाख ठगी गरेको भनी कात्तिक २ गते नै मुद्धा परेको थियो । त्यसबेलादेखि नै बैठा फरार थिए ।’ उनले भने ‘ हामीले खोजतलास गर्दा फेला परेका थिएनन्, आज अचानक आफैं जिल्ला प्रहरी कार्यालय पर्सामा आएपछि हामीले नियन्त्रणमा राखेका छौं ।’

उनी विरुद्ध अदालतबाट म्याद थप गरी बयान लिएर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने डिएसपी शाहीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment