Comments Add Comment

लिगमा नवौं चरण सकियो, तीन टोली उपाधि होडमा

१६ माघ, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबसंगै विभागीय टोली त्रिभुवन आर्मी र धेरै खर्च गरेको मछिन्द्र शहीद स्मारक ए डिभिजन लिगको उपाधि होडमा अगाडि रहेका छन् ।

नवौं चरणको खेल सकिँदा यीनै टोली शीर्ष तीनमा छन् अनी जम्मा १ अंकको मात्र अन्तर रहेको छ । नवौं चरणमा मछिन्द्र क्लबसंग पराजित भएपछि ४ पटकको लिग विजेता थ्री स्टार क्लब भने उपाधि होडबाट बाहिरिएको प्रशिक्षक मेघराज केसीले नै स्वीकारिसकेका छन् ।

नवौं चरणमा विभागीय टोली आर्मीले जाउलाखेलविरुद्ध १-० को कठिन जीत हात पार्दै शीर्ष स्थानमा रहेको छ । मनाङ मर्स्याङ्दीले भने साविक उपविजेता संकटा क्लबमाथि ३-० को शानदार जितसहित नवौं चरणको खेल सकिँदा १९ अंक जोडेर उपाधि रक्षा अभियानलाई बलियो बनाउँदै लगेको छ ।

मछिन्द्र र मनाङलाई पछि पार्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा छ । यस सिजन मनाङसंग मात्र हारेको आर्मीले ६ जित र २ बराबरीबाट २० अंङ्क जोडेको छ । सधैँ उपाधिको दाबेदार हुने गरे पनि आर्मीले अहिलेसम्म लिग जित्न सकेको छैन ।

यस सिजन मछिन्द्रले साविक विजेता मनाङसहित थ्रीस्टारबाट नाम चलेका दर्जन भन्दा बढी खेलाडीहरु भित्र्याउँदै उपाधि नै एक मात्र लक्ष्य बनाएको थियो । मछिन्द्रले अहिलेसम्म त्यो लक्ष्यलाई साथ दिने प्रदर्शन गरिरहेको छ । तर एकनाशको प्रदर्शन गर्न नसक्दा ६ जित २ बराबरी र १ हारसहित १९ अंक जोडेर आर्मीभन्दा पछि छ ।

मछिन्द्रले २० अंक नै जोडे पनि गत सिजन भएको रेलिगेसन नहुने लिगमा पुछारबाट दोस्रो भएकोले यस पटक १ अंक गुमाएको हो । मछिन्द्रले गत सिजन मनाङले लिग जित्दाका कप्तान विराज महर्जनसहित सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ देवेन्द्र तामाङ अभिषेक रिजाल हेमन गुरुङ जस्ता खेलाडीलाई क्लब भित्र्याएको थियो ।

हेमन पहिलो खेल खेलेपछि अष्ट्रेलिया तिर लागे भने अभिषेक पनि ८ खेलेपछि माल्दिभ्सको बी डिभिजन लिग खेल्न गए । मछिन्द्रले थ्री स्टारबाट रन्जित र विजय धिमालसहित बुद्ध चेम्जोङ र विदेशी खेलाडी पिटर सेगुनलाई समेत भित्रयाएको थियो ।

यस सिजन महत्वपूर्ण खेलाडीहरुले क्लब छाडे पनि कमल श्रेष्ठको कप्तानीमा रहेको मनाङले ९ खेलसम्म अपराजित यात्रा कायम राख्दै उपाधि होडमा आफूलाई कायम राखेको छ ।

राष्ट्रिय टिमबाट खेलिसकेका अन्जन विष्ट, रन्जन विष्ट विमल राना, कमल श्रेष्ठ जस्ता खेलाडी रहेको मनाङमा विदेशी खेलाडीहरु फेमी, कोरा, भिदाल, दयानन्दले गतिलो साथ दिइरहेका छन् । ‍औसत टिम देखिएको मनाङ ९ खेलसम्म अपराजित यात्रा कायम राख्दा ५ जित र ४ बराबरीको नतिजा आत्मसात गरेको छ ।

मछिन्द्र र मनाङलाई पछि पार्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा छ । यस सिजन मनाङसंग मात्र हारेको आर्मीले ६ जित र २ बराबरीबाट २० अंङ्क जोडेको छ । सधैँ उपाधिको दाबेदार हुने गरे पनि आर्मीले अहिलेसम्म लिग जित्न सकेको छैन ।

राष्ट्रिय टिमका खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथु, सुमन अर्याल, सन्तोष तामाङ अनि युवा खेलाडीहरु विकास खवास दिनेश हेन्जन सेसेहाङ आङदम्बेको साथ पाएको आर्मीले यस सिजन उपाधि जित्ने लक्ष्य राखेको छ ।

नवौं चरणपछि दुई पूर्व विजेताहरु थ्रीस्टार र नेपाल पुलिसले समान १४ अंक जोडेको छ । गोल अन्तरमा थ्री स्टार अगाडि छ । थ्री स्टार पाँचौ र पुलिस छैटौँ स्थानमा छ ।  यस्तै दुई दशक भन्दा अघि लिग जितेको न्यूरोड टिम एनआरटी पनि शीर्ष ६ मा रहने लक्ष्य अनुसार अगाडि बढिरहेको छ । नवौं चरण अन्तर्गत बिहीवार भएको अन्तिम खेलमा एनआरटी ब्रिगेड ब्वाइजलाई २-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

उपाधि जित्न नसके पनि यस्तै खालको प्रदर्शन गर्न सके एनआरटी दोस्रो-तेस्रो स्थानमा पुग्न सक्ने प्रशिक्षक राजु काजी शाक्यले बताए । मछिन्द्र जस्तै एनआरटीले पनि गत सिजनको ऋण अंक तिर्दै लिग शुरुवात गरेको थियो । गत सिजन अन्तिम भएकोले उसले यस सिजन २ अंक गुमाएको थियो । ९ मध्ये ५ खेल जितेको एनआरटीले २ खेल बराबरी खेल्दा २ मा भने हार बेहोरेको छ ।

गत सिजनको उपविजेता संकटा क्लब र यस सिजन शुरुवातमा राम्रो प्रदर्शन गरेका जाउलाखेलले ९ खेलपछि समान १२ अंक जोडेका छन् । दुवैले ३ जित ३ बराबरी ३ हारको नतिजा आत्मसात गरेका छन् । गोलअन्तरमा अगाडि रहँदै जावलाखेल सातौं स्थानमा छ भने संकटा आठौंमा छ । नवौं चरणमा च्यासल युथ क्लबलाई पराजित गरेको फ्रेण्ड्स क्लब ९ खेलबाट ११ अंक जोड्दै नौं स्थानमा उक्लेको छ ।

रेलिगेसन क्षेत्र रोमाञ्चक बन्दै

उपाधि होड जस्तै रेलिगेसन क्षेत्रमा पनि रोमाञ्चकता थपिन थालेको छ । ८ खेलसम्म जितविहीन रहेको सरस्वती युथ क्लबले नवौं चरणमा हिमालयन शेर्पा क्लबलाई ४-३ ले पराजित गरेपछि रेलिगेसनमा को पर्छ भनेर रोमाञ्चकता हुन थालेको हो ।

सरस्वतीसंग हारेको हिमालयन शेर्पा ९ खेलबाट ७ अंकसहित पूछारबाट तेस्रोमा छ । सरस्वतीले भने अझै अन्तिम स्थान छाड्न सकेको छैन । अन्तिम दुई स्थानमा रहेको क्लबबीच १ अंकको मात्र फरक छ । विभागीय टोली एपीएफ ५ अंकसहित १३ औं र सरस्वती ४ अंकसहित १४ औं स्थानमा छ । लिगमा अब चार खेल मात्र बाँकी रहेकोले अबका हरेक खेल यी क्लबहरुलाई महत्वपूर्ण हुनेछ ।

सरस्वती र एपीएफसंगै हिमालयन शेर्पालाई समेत अहिले रेलिगेसनको डर छ । यस्तै नवौं चरणमा एनआरटीसंग हारेको ब्रिगेड ब्वाइज क्लबलाई पनि रेलिगेसन चिन्ता छ । एनआरटीसंग हारेपछि ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुनले पनि रेलिगेसनको डर रहेको बताए ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा यस सिजन १ क्लब मात्र रेलिगेसनमा पर्ने एन्फाको नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment