Comments Add Comment

ए डिभिजन लिगमा पुलिसमाथि आर्मी विजयी, नवयुगको दुई गोल

१९ माघ, काठमाडौं । नवयुग श्रेष्ठले दुई गोल गरेपछि त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले पुनरागमन गर्दै पुलिसमाथि ४-२ को शानदार जीत हात पारेको हो । पुलिसले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन ।

१९ औं मिनेटमा बुद्धबल तामाङको गोलबाट पुलिसले अग्रता लिएको थियो । कप्तान नीरकुमार राईको फ्रिकिकमा बुद्धले हेड मार्फत गोल गरे ।

आर्मीले ३४ औं मिनेटमा बराबरी गोल फर्कायो । सन्तोष तामाङको फ्रिकिकमा सुमन अर्याले हेडमार्फत गोल गरे ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा पनि पुलिसले नै पहिले गोल गर्दै अग्रता लियो । ५८ औं मिनेटमा कप्तान नीरकुमार राईको कर्नरमा मानबहादुर तामाङले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए ।

तर ७७ औं मिनेटमा नवयुग श्रेष्ठले विकेक बस्नेतको पासमा गोल गर्दै खेल २-२ को अवस्थामा ल्याए ।

८२ औं मिनेटमा आर्मीले अग्रता लिने अवसर गुमायो । सुदिल राईको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका आर्मीका कप्तान भरत खवासको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

तर ८५ औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा वैकल्पिक खेलाडी सुदिल राईले गोल गर्दै आर्मीलाई ४-२ को स्थितिमा पुर्‍याएका थिए ।

जीतपछि आर्मी १० खेलबाट २३ अंक जोड्दै २४ घण्टापछि नै अंकतालिकामा शीर्ष स्थानमा फर्किएको छ । १० खेलमध्ये आर्मीको यो सातौं जीत हो । दुई खेल बराबरी गरेको आर्मीले १ खेलमा हार ब्यहोरेको थियो । १० खेलबाट २२ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा झरेको छ ।

पराजित पुलिस भने १० खेलबाट १४ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment