Comments Add Comment

माथिल्लो तामाकोसीको निर्माण लक्ष्यमा फेरि धक्का !

२३ माघ, काठमाडौं । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि निर्धारित समयमा नसकिने अवस्थामा पुगेको छ । पछिल्लोपटक निर्धारित लक्ष्यअनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भइसक्नुपर्छ । तर, आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप हाल्ने काममा भएको ढिलाइले समस्या मात्रै ल्याएको छैन, आयोजना फेरि पछि धकेलिने भएको छ ।

भौतिक प्रगतिका हिसावले आयोजनामा ९९ प्रतिशत काम सकिएको छ । तर, बाँकी एक प्रतिशत काम नै समयमा नभएर लक्ष्यअनुरुप आयोजना सञ्चालनमा ल्याउन नसकिने अवस्था आएको छ ।

आयोजनाको ठाडो सुरुङमा ठूला र गह्रुंगा पाइपहरु जोड्नुपर्ने काम जति छिटो सकिन्छ, त्यति नै छिटो आयोजनाबाट परीक्षण उत्पादन सुरु हुन सक्छ । बाँधबाट सुरुङबाट आएको पानीलाई बेगसँग टर्वाइनमा खसाल्न ठाडो सुरुङ बनाइन्छ । जसमा ठूला पाइपहरु जोड्नुपर्छ  ।

विद्युत प्राधिकरणका अनुसार यस्तो ठाडो सुरुङमा पाइप राखेर जोड्ने कामको प्रगति लक्ष्य अनुसार नभएकाले अब असारभन्दा अघि आयोजनाको परीक्षण सुरु गर्न पनि कठिन छ ।

भारतीय कम्पनीको लापरवाही

आयोजनाको काम निर्धारित समयमा सक्ने लक्ष्य प्रभावित हुन नदिन प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ महिनैपिच्छे निर्माणस्थल लामाबगर जाने गरेका छन् । तर, भारतीय ठेकेदार कम्पनीले अन्तिम चरणमा पनि आयोजनामा चरम ढिलाइ गर्दा समस्या भएको आयोजनाका अधिकारीहरु बताउँछन् ।

२ महिनाअघि ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई झक्झकाउन उर्जा सचिव दिनेश घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ कोलकोत्तासम्म पुगेका थिए । तर, त्यसपछि पनि आयोजनाको काममा खासै प्रभाव देखिएको छैन । अन्तिम समयमा भारतीय ठेकेदार आयोजनाका लागि ‘छोड्नु न बोक्नु’ बनेको छ ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको उच्च तहसँग वार्ता गर्दा पनि फिल्डमा तीव्र गतिमा काम हुन सकेको छैन । यो टेक्सम्याकोले पेनस्टक पाइप आपूर्ति तथा जडानको लट-२ को ठेक्का पाएको छ ।


टेक्स्म्याकोका कारण नै माथिल्लो तामाकोसीको काममा ढिलाइ हुँदै आएको छ । अहिले पनि कम्पनीको कामको गति सन्तोषजनक नरहेको माथिल्लो तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।

टेक्सम्याकोले गत असारदेखि आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जोड्ने काम गरिरहेको छ । उसले ७ महिनामा करिब ११० मिटर मात्रै पाइप जोडेको छ । अझै १९० मिटर पाइप जोड्न बाँकी रहँदा उसको कामको गति धीमा नै छ । ७ महिनामा सुरुङको आधा भागमा पाइप जोड्न नसकेको अवस्थामा अब बाँकी ५ महिनामा काम टुंग्याउन लगभग असम्भव देखिने आयोजनाका प्राविधिकहरु नै बताउँछन् ।

‘असारसम्म परीक्षण उत्पादन थाल्न प्रयत्न हुन्छ,’ सीईओ श्रेष्ठ भन्छन्,’यदि सकिएन भने एक-डेढ महिना ढिला गरी पहिलो युनिटबाट उत्पादन सुरु हुन्छ ।’

तल्लो ठाडो सुरुङमा पनि समस्या नभएको हैन, तर, भारतीय कम्पनीको तुलनामा अष्ट्रियन कम्पनीले राम्रो काम गरेको छ ।

काममा ढिलाइ भएपछि ३७२ मिटरको तल्लो ठाडो सुरुङको काम टेक्सम्याकोबाट खोसेर अष्ट्रियन कम्पनी एन्ड्रिजलाई जिम्मा दिइएको थियो । टेक्सम्याकोभन्दा पछि काम थालेर पनि कम्पनीले २ सय मिटर पाइप जोडेको छ । अझै १७२ हिटर पाइप तल्लो सुरुङमा जोड्न बाँकी छ ।

दुबै ठाडो सुरुङमा पेनस्टक जोड्ने काम भारतीय कम्पनीकै जिम्मामा थियो । तर, उसले ढिलाइ गरेपछि वार्तामार्फत २०७५ पुस २३ मा एन्डि्रजलाई तल्लो सुरुङमा पेनस्टक जोड्न जिम्मा लगाइएको छ ।

सीईओ श्रेष्ठ अन्तिम समयमा ठेकेदार कम्पनी र कन्सल्टेन्टले आयोजनाको काममा तीव्रता दिन नसकेको बताउँछन् । ‘हामी घिच्यारहेका छौं,’ उनी भन्छन्,’निदाएकालाई उठाएर काममा लगाएका छौं, तर भनेजस्तो अझै भएको छैन ।’

ठेकेदारहरुले यही गतिमा काम गरे आगामी हिँउदसम्म पपनि काम सक्न मुस्किल हुने अवस्था छ ।

महंगिँदै आयोजना

आयोजनाको बाँध स्थल र विद्युतगृह निर्माणको काम सकिएको छ । सुरुङहरुको ‘फिनिसिङ’को काम पनि ९९ प्रतिशत सकिएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले यो आयोजनाको सिभिलतर्फको काम गरेको हो ।

निर्माण अवधि लम्बिँदा तामाकोसी महंगो बन्दै गएको छ । त्यसैले अब तामाकोसीलाई समयमै सम्पन्न गराउन सबै खालका प्रयासहरु भइरहेको कार्यकारी निर्देशक घिसिङले बताउँछन् ।

सुरुमा अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड हुन्थ्यो । त्यतिबेला एक अमेरिकी डलरको सटही दर करिब ८० रुपैयाँ थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख र निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ७२ अर्ब रुपैयाँ नाघ्ने संसोधित अनुमान छ । हालसम्म साढे ४४ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

नेपाली मुद्राको अवमूल्यन र मूल्य अभिवृद्धिका कारण आयोजनालाई क्रमश : ७ र ५ अर्ब रुपैयाँ थप वित्तीय दायित्व सिर्जना भएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानी, प्रशासनिक खर्चको वृद्धि लगायतले पनि लागत बढेको छ ।

आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २र२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैयाँ नेपाल सरकारले ऋण लगानी गरेका छन् । ऋणको ब्याजदर ११ प्रतिशत बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment