Comments Add Comment

‘सेल्फी किंग’को प्रिमियर शोमा जे देखियो

तामझामका साथ भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेल्फी किंग’को प्रिमियर शो गरियो, बुधबार अपरान्ह । स्थान थियो, काठमाडौं नयाँ बसपार्क स्थित आइएनआई सिनेमाजमा । ‘सेल्फी किंग’को प्रदर्शनसँगै यो सिनेमाघर पनि सञ्चालनमा आउन लागेको हो ।

प्रिमियर शोमा चलचित्र क्षेत्रमा धेरै कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

विशेषगरी चलचित्र हाँस्यकलाकारसँग सम्बन्धित रहेकाले धेरै जना हास्यकलाकारलाई पि्रमियरमा निमन्त्रणा दिइएको थियो । हाँस्यकलाकार सन्तोष पन्तदेखि कमेडी च्याम्पियनका प्रतियोगीहरुसम्म चलचित्र हेर्न पुगेका थिए ।

चलचित्र हेर्न भुवन केसी, जितु नेपाल, केदार घिमिरे, नम्रता श्रेष्ठ, निशा अधिकारी, केकी अधिकारी, रीमा विश्वकार्मा, आँचल शर्मा, कर्मा, विनय श्रेष्ठ, आर्यन सिग्देल, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, दिपेन्द्र के खनाल, प्रदीप भट्टयराई, सुनिलकुमार थापा, भोलाराज सापकोटा, शोभित बस्नेत लगायत हलमा पुगेका थिए ।

चलचित्र हेरेपछि धेरैले चलचित्र उत्कृष्ट रहेको प्रतिकृया दिएका छन् । अझ, चलचित्रको शिर्ष भूमिकामा रहेका विपिन कार्कीको कामलाई धेरैले प्रशंसा गरेका छन् । विपिन यस चलचित्रमा हाँस्यकलाकार बनेका छन्, जो ‘सेल्फी किङ्ग’को नामबाट परिचित छन् ।

चलचित्रमा एक हाँस्यकलाकारले भोग्नुपर्ने पिडालाई देखाइएको छ । हाँस्यकलाकारले कस्तो अवस्थामा पनि आˆनो कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरालाई चलचित्रको मुख्य विषयबस्तु बनाइएको छ । चलचित्र हेरेर बाहिरिएका धेरै जना कलाकारहरुले चलचित्रले उठाएको विषयबस्तु आˆनै जस्तो लागेको प्रतिकृया दिए ।

अभिनेता आर्यन सिग्देल चलचित्रले आफ्नो मन छोएको बताए । उनले भने, ‘यस चलचित्रले सबैलाई छुन्छ । चलचित्र हाँसो र रोदनको मिश्रण छ । चलचित्रमा त्यहीँ पात्रले हसाउँछ पनि अनि रुवाउँछ पनि । चलचित्र उत्कृष्ट बनेको छ ।’

अभिनेत्री नम्रता श्रेष्ठले पनि चलचित्रको विषयबस्तुलाई प्रशंसा गरिन् । पर्दा भित्र र पर्दा बाहिरको कलाकारको जीवन कस्तो हुन्छ भन्ने कुरालाई चलचित्रले राम्रोसँग प्रस्तुत गरेको उनको भनाई थियो । अभिनेता कर्मा भने चलचित्र हेरेर आशु नै बगाए । उनले भने, ‘धेरै पछि चलचित्र हेरेर आशु बगाए । कलाकारलाई हेर्ने दृष्टिकोण र वास्तविकतालाई यसले मज्जाले देखाएको छ ।’

त्यस्तै नायिका केकी अधिकारी, निशा अधिकारी पनि चलचित्रको तरिफ नै गरे । जुन सुकै व्यवसायिक व्यक्तिलाई यस चलचित्रले छुने उनीहरुको प्रतिकृया थियो । आफूहरु कलाकार भएका कारण अझै बढि भावुक बनाएको उनीहरुको भनाई थियो । उता रीमा विश्वकर्मा पनि निकै भावुक थिइन् ।

प्रमोद अग्रहरी र कामेश्वर चौरासियाले पनि चलचित्रको विषयलाई आफूसँग सम्बन्धित रहेको बोले । यस विषयबस्तुको उठान गर्न सक्ने निर्देशक र निर्मातालाई उनीहरुले धन्यवाद दिए ।

निर्देशक प्रदीप भट्टराई चलचित्रको विषयबस्तु सँगै विपिनको कामको पनि तारिफ गरे । उनले भने, ‘विपिनले यस चलचित्र मार्फत पुनः आˆनो क्षमतालाई प्रस्ट्याएका छन् । उनि अब्बल कलाकार हुन् भन्ने तथ्यलाइ उनले सत्य सावित नै गरे ।’

अर्का निर्देशक दिपेन्द्र के खनाल चलचित्र नयाँ निर्देशकले बनाएको जस्तो नलागेको बताउँछन् । उनले दर्शकलाई चलचित्र हेर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘एउटा राम्रो र सरल नेपाली चलचित्र हेर्न चाहनुहुछ भने यो चलचित्र हेर्दा हुन्छ । यो हाम्रो मौलिक कथाको मन छुने चलचित्र हो ।’

विशाल सापकोटाको डेब्यु निर्देशनमा बनेको ‘सेल्फी किङ्ग’को कथा निर्देशक सापकोटा आफैँले तयार गरेका हुन् । दिनेश राउत र शुभाष थापाले निर्माण गरेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुरालको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment