Comments Add Comment

कांग्रेसको प्रश्न : नजराना फिर्ता गरिदिन्छु भन्दैमा उन्मुक्ति दिने कस्तो निसाफ हो ?

२३ माघ, काठमाडौं । प्रमुख पिवक्षी नेपाली कांग्रेसले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कम्युनिस्ट पार्टी (नेकपा)का नेता जोगाएर कांग्रेस नेतालाई भ्रष्टाचार मुद्दा लगाएको भन्दै आपत्ति जनाएको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा जाने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा किन्न नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाउनु र कांग्रेस नेता विजय गच्छदारमाथि मुद्दा चल्नु प्रतिशोधपूर्ण भएको उसले बताएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा कांग्रेस नेता बद्री पाण्डेले प्रधानमन्त्री प्रधान हुने शासकीय शैलीमा प्रधानमन्त्री सदाचारी र मन्त्री भ्रष्टाचारी कसरी हुन सक्छ भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्छ, उहाँकै नेतृत्वमा निर्णय हुन्छ । यसरी भएको निर्णयमा प्रधानमन्त्री निर्दोष, मन्त्री दोषी हने, प्रधानमन्त्री सदाचारी र मन्त्री भ्रष्टाचारी हुने यो कस्तो खालको न्याय प्रारम्भ हुन खोजेको हो ?’ उनले प्रश्न गरे ।

उनले अघि भने ‘उन्मुक्ति पाउने पूर्वप्रधानमन्त्री र नेताहरुको सूची हेर्दा निर्णय नेकपा र यसका नेतालाई जोगाउने र विपक्षी पार्टीलाई फसाउने जस्तो देखिन्छ ।’

नेता पाण्डेले ललिता निवासको जग्गा व्यक्तिको बनाउन शक्तिको दुरुपयोग गर्ने र शक्ति दुरुपयोग गरेवापत जग्गा नजराना पाउने नेताले नजराना फिर्ता गरिदिन्छु भनेको आधारमा उन्मुक्ति पाउनु कस्तो निसाफ हो भनी प्रश्न गरे ।

‘विवादित जग्गाको प्राइम घडेरी नेकपाको महासचिव विष्णु पौडेलको, शक्तिको दुरुपयोग गरेर प्राप्त गरेको जग्गा फिर्ता गरिदिन्छु भन्दैमा आममाफी दिने अख्तियारको निर्णय कस्तो अविवेकी प्रश्न सर्वत्र उठिरहेको छ’ उनले भने, ‘जग्गा फिर्ता दिन्छु भन्नु झनै अपराधको स्वीकारोक्ति होइन । अध्यक्षज्यू, यसले न्यायिक क्षेत्रमा कस्तो नजिर बस्छ ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका दोषीउपर कारबाही गर्न आफूहरु सहयोग गर्ने भन्दै पाण्डेले ललिता निवास प्रकरणमा भने अख्तियारको भूमिका विवादित र एकपक्षीय रहेको आरोप लगाए । ‘दुई तिहाइको सत्ताको स्वेच्छाचारी र निरंकुश छाया आयोगलाई परेको त होइन ?’ उनले प्रश्न गरे ।

पाण्डेले अगाडि भने ‘मन्त्रिपरिषदको एजेण्डा फाइनल गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, अन्तिम निर्णयाधिकारी माधवकुमार नेपाल, सबै निर्णयको सम्पूर्ण रुपमा जवाफदेही, निर्णयहरुउपर उपरदायी प्रधानमन्त्री तत्कालीन माधवकुमार नेपाल, अनि उहाँ सदाचारी हुने नेपाली कांग्रेसका उपसभापति संसदीय दलका उपनेता विजय गच्छदार भ्रष्टाचारी हुने यो देश दुनियाँले भेदभावपूर्ण छ भनेर प्रश्न उठाइरहेको छ ।’

न्यायाधीकारीले काखा र पाखा गर्न लाग्यो भने न्याय मर्ने भन्दै पाण्डेले यस्ता निर्णयले न्यायिक संस्थाप्रतिको विश्वास धरासायी हुने बताए । अख्तियार स्वतन्त्र र निष्पक्ष हुन सकेमा मात्र संवैधनिक आयोगको मर्यादा रहन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment