Comments Add Comment

मुख्यमन्त्रीको जवाफ माग्दै प्रदेशसभा अवरुद्ध

१३ माघ, पोखरा । आफूहरुले उठाएको प्रश्नको मुख्यमन्त्रीले जवाफ नदिएको भन्दै विपक्षी सांसदहरुले गण्डकी प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

माघ १४ गते बसेको बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले संसदमा संविधानले ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेपनि मन्त्रिपरिषदमा महिलाको उपस्थिति किन भएन भनेर प्रश्न उठाएकी थिइन् । ‘नेपालको संविधानले नै ग्यारेन्टी गरेको ३३ प्रतिशत महिला सहभागिता गराउन गण्डकी प्रदेश सरकारलाई के कुराले छेक्यो ?’ सांसद थापाको प्रश्न थियो ।

प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेताले संसदमा सरकारको काम सन्तोषजनक नभएको भन्दै किन यस्तो भइरहेको छ भनेर जवाफ मागेका थिए ।

बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुनले विभिन्न समयमा सांसदले उठाएको प्रश्नको मन्त्रालयसँग सम्बन्धित जवाफ दिए ।

तर मुख्यमन्त्रीबाट जवाफ नआएको भन्दै समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले नियमापत्ति गरे । लगतै सभामुख नेत्रनाथ अधिकारीले सरकारलाई रुलिङ गर्ने बताए । तर कांग्रेस संसदीय दलका उपनेता मेषलाल श्रेष्ठले सरकारको तर्फबाट जवाफ नआएसम्म बैठक चल्न नदिने बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजीव पहारीले नियमापत्तिको पनि नियमापत्ति गरे । सरकारका दुई जना मन्त्रीले जवाफ दिइसकेको भन्दै संसद चल्नुपर्ने बताए । नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी र सांसद आशा कोइरालाले पनि विपक्षी दलले नचाहिँदो माग राखेको भन्दै आपत्ति जनाए ।

तर विपक्षी सांसदहरुले सरकारले जवाफ नदिएसम्म संसद सुचारु हुन नदिने अडान लिए । र, बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको विभिन्न बैठकमा प्रदेश सभासदस्यले कानूनमन्त्री, पर्यटनमन्त्री र मुख्यमन्त्रीसँग जवाफ मागेपनि बेवास्ता भएको कांग्रेस सांसद कुमार खड्काले बताए । ‘संसदीय परम्पराअनुसार प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा प्रश्न उठाएपछि मुख्यमन्त्रीले जवाफ दिनुपर्छ ।अर्को मन्त्रिपरिषदसँग सम्बनि्धत पनि प्रश्न उठेकाले मुख्यमन्त्रीले नै त्यसको पनि दिनुपर्ने हो,’ सांसद खड्काले भने, ‘तर संसदको अपहेलना गर्ने काम भइरहेको छ ।’

बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गठन तथा सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । सभामुख अधिकारीले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई विधेयकको सैद्धान्तिक छलफलका लागि प्रस्ताव राख्न अनुमति दिएपछि विपक्षी सांसदहरुले अवरोध गरेका हुन् ।

माघ ५ गते यता विभिन्न बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ नआएसम्म संसद चल्न नदिने कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment