Comments Add Comment

हक्कीको उपाधिका लागि प्रदेश ५ र गण्डकी भिड्ने

२३ माघ, विराटनगर । विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि प्रदेश ५ र गण्डकी भिड्ने भएका छन् ।

बिहीबार भएको सेमीफाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै प्रदेश ५ फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५–० ले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

पहिलो खेलको निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी दरलामीले गोल गरे । मो.सिद्धिकको बललाई गोलरक्षकले बचाउ गरेका थिए ।

आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरीले लोग गरे । रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच प्रदेश ५ का कार्तिक गुरुङ भए ।

सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीचको खेलको १३ औं मिनेटमा पिताम्बार थापाले गण्डकी प्रदेशलाई अग्रता दिलाए । खेलको २२, ३१ र ५२ औं मिनेटमा सुमितकुमार कामीले गोल गरे भने ४३ औं मिनेटमा राजन नेपालीले गोल गरेका थिए । म्यान अफ द म्याच गण्डकीका गणेश ठकुना भए ।

शुक्रबार तेस्रो स्थानका लागि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ भने उपाधिका लागि गण्डकी प्रदेश र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment