Comments Add Comment

रुपन्देहीको दानापुरमा सुरु भयो ताल महोत्सव

२४ माघ, बुटवल । पर्यटन प्रबर्धन र सिमसार क्षेत्रको संरक्षणका लागि रुपन्देहीको कन्चन गाउँपालिका दानापुरमा ११औं ताल महोत्सव सुरु भएको छ ।

समयमाई सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महोत्सवमा पर्यटन, कृषि, घरेलु उद्योग, हस्तकला तथा औद्योगिक उत्पादनका एक सय बढी स्टल रहेका छन् ।

महोत्सवमा कञ्चन गाउँपालिकाभित्रका पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, दानापुर तालमा डुंगा शयर, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, अन्तर विद्यालय बाघचाल, जोडी नृत्य प्रतियोगिता, मौलिक खाना तथा मास्टर सेफ प्रतियोगिता,बाल उद्यान आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवको रुपन्देही ५(२) का प्रदेशसभा सदस्य भूमिश्वर ढकालले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले दानापुर ताल सिमसार क्षेत्रमा रहेको प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल भएकाले यसको संरक्षण र विकासमा प्रदेश सरकारले गत वर्ष दुई करोड र चालु वर्षमा डेढ करोड रुपैयाँ बजेट छुट्याएको बताए ।

उनले दानापुर ताल प्रदेशकै आकर्षक पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेकाले प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिने बताए ।

समयमाई सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले तालको पर्यटन प्रबर्धन र सिमसार क्षेत्रको संरक्षणमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउन बृहतस्तरमा ताल महोत्सव आयोजना गरिएको बताए ।

ताल क्षेत्रको पर्यावरण संरक्षण गर्दै पर्यटकीय पुर्वाधारहरु बनाउन एक अर्ब रुपैयाँ बढीको गुरुयोजना बनेको भन्दै अध्यक्ष थापाले यसमा साथ दिन स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गरे ।

फागुन ७ गतेसम्म चल्ने महोत्सवमा दुई लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य रहेको महोत्सवका प्रमुख कार्यकारी अधिकृत श्रीराज तिमिल्सेनाले बताए ।

महोत्सव उद्घाटनमा कन्चन-१ का अध्यक्ष हरिनारायण थारु,सोमनाथ शर्मा, लेखनाथ पौडेल, यमबहादुर क्षेत्री, दिनानाथ आचार्य, भरतमणि सापकोटालगायतले बोल्दै कञ्चन गाउपालिकामै पहिलोपटक बृहतस्तरमा ताल महोत्सवसँगै ब्यापार मेला आयोजना हुनु सकारात्मक भएको धारणा राखे ।

१९.५ हेक्टर क्षेत्रफल रहेको ताल क्षेत्र परिसरमा दर्जनौं पिकनिकस्थल निर्माण गरिएको छ भने खुल्ला स्थानमा झन्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान व्यवस्थापन गरिएको छ ।

तालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेपछि तालको १० वर्षे गुरुयोजना निर्माण गरिएको छ ।

सिमसार क्षेत्रमा समेत सूचीकृत ताललाई नमूना पर्यटकीयस्थल बनाउन एक अर्ब रुपैयाँ लागतको गुरुयोजना निर्माण भएको छ । गुरुयोजनासँगै तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर पुर्‍याउने लक्ष्य छ ।

तालसहित ९२.०२ हेक्टर क्षेत्रफलमा फैलिएको समयमाई सामुदायिक वन उपभोक्ता समूहको गुरुयोजना अनुसार तालको सौन्दर्यता र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएर पोखराको फेवा ताल जस्तै बनाउने लक्ष्य रहेको वनकी सदस्य ओमकला थापाले बताइन् ।

गुरुयोजना अनुसार यस्तो बन्ने छ ताल ।

गुरुयोजना अनुसार दानापुर ताल परिसरमा करिब १० करोड लागतमा ६० मिटर अग्लो १५ तले भ्यू टावर, ६ करोड लागतमा दुई वटा स्वीमिङ पूल सहित सुविधासम्पन्न वाटर पार्क, तालको बीचमा आइल्यान्ड जलभूमि,एक हजार क्षमताको ध्यान/योगा केन्द्र र चिडियाखाना बनाउने योजना रहेको छ ।

यस्तै आकर्षक प्रवेशद्वार, बोटानिकल गार्डेन, सेमिनार हल, खेल मैदान, संग्रहालय, भ्यू टावरको उत्तरतर्फ लभ पार्क पनि बन्ने छ ।

यस्तै दुईसय चार पाङ्ग्रे र एक हजार दुई पाङग्रे सवारी साधन राख्न मिल्ने गरी पार्किङ स्थल बनाइने छ । ताल वार पार गर्न र पिकनिक स्थल जान आकाशे पुल पनि बनाइने छ ।

तालको वरिपरि हरियाली वातावरणलाई यथावत राख्न वृक्षारोपण, पर्यटक तथा स्थानीयका लागि मर्निङ वाक र जगिङ गर्न मिल्ने गरी ताल वरिपरी अपांगमैत्री फुट ट्रेक निर्माणलाई गुरुयोजनाले समेटेको छ ।

तालको वरिपरिको लम्बाई करिब ५ किलोटिर रहेको छ । ताललाई आकर्षक बनाउन पुरै तालको वरिपरि फक्स लाइट जडान गर्ने योजना पनि छ ।

तालमा बाहिरको पानी र अन्य फोहोर पदार्थ मिसिन नदिन ताल वरिपरि नाली निर्माण गरिने पनि गुरुयोजनामा समेटिएको छ ।

स्थानीयको आय आर्जन बढाउन स्थानीयकै लगानीमा ताल नजिकका बस्तीमा होम स्टे सञ्चालन पनि गरिने गुरुयोजनामा राखिएको छ । ‘दानापुरलाई पोखराको प्रसिद्ध फेवा ताल जस्तै बनाउने लक्ष्य छ’-अध्यक्ष थापाले भने, ‘गाउपालिका, प्रदेश सरकार र संघयि सरकारबाट गुरुयोजना अनुसार पूर्वाधार बनाउन वजेट अभाव हुन नदिने प्रतिवद्धता आएको छ ।’

आउँदो पाँच वर्षभित्र गुरुयोजना अनुसारका पुर्वाधारका काम पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । ४३.७८ हेक्टर क्षेत्रलाई पर्या-पर्यटन क्षेत्रको रुपमा निर्धारण गरिएको ताल क्षेत्रमा दुर्लभ वनयजन्तुहरु समेत देख्न पाइन्छ ।

समुन्द्र सतहदेखि करिब १११ मिटर उचाइमा पर्ने यो तालको प्रचार प्रसार र पर्यटन प्रवर्द्धन गर्नका लागि २०६४ सालदेखि प्रत्येक वर्ष ताल महोत्सव गरिँदै आएको छ । महोत्सवमा दुई लाख दर्शकलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

दर्जनौं चराचुरुङगीको बासस्थान

ताल क्षेत्रमा विरालो, चित्तल, बाघ, ब्वांसो, ढेडु, हरिण, मृग, जरायो, बंदेल, निल गाई, दुम्सी, स्याल, खरायो, जरायो जस्ता वन्य जन्तुको दृश्यावलोकन गर्न पाइन्छ ।

यो तालमा विभिन्न प्रजातिका हांसहरु, सारस पनि पाइन्छ भने घुमुवा कोकल, सुगा, जुरेली, लाहाचे, वन कुखुरा, निलकण्ठ डाङ्ग्रे, भंगेरा, ढुकुर, काग, लाटोकोसेरो, मैना, चिल, गिद्ध र गरुडलगायतका चराचुङ्गी देख्न पाइन्छ । पञ्चायतकालदेखि नै तालको माछा ठेक्का दिने चलन रहेको यो ताल स्थानीय द’र्लभ जातका माछाको बासस्थान पनि हो ।

भोटी, सिद्रा, खोस्टी, झिङ्गा, पाते सिद्रा, बाम जस्ता दुर्लभ जातका माछा यहाँ पाइन्छ भने तालमा ग्रास, मांगुर, नैनी, कमन कार्प, रहु विकेट प्रजातिका माछा पालन गरिएको छ ।

ताल क्षेत्रमा पुरानो मन्दिर समयमाई मन्दिर समेत छ । वनको नामसमेत यही मन्दिरको नामबाट नामाकरण भएको छ ।

तालको बीचमा बुद्धको मुर्ति समेत राखिएको छ । धार्मिकरुपमा समेत यो क्षेत्र परिचित छ । साथै तालको बिचमा शिवालय मन्दिर निर्माण गरिंदैछ ।

तालको क्षेत्रको भुबनोट पहाडी जिल्लाको जस्तो देखिन्छ । उपत्यकामा ताल छ भने त्यसको सेरोफेरोमा पहाडी संरचनाको अनुभुति हुन्छ ।

तालको उत्तरतर्फको भागलाई सिमसार र दक्षिणतर्फको १३.५ हेक्टर क्षेत्रलाई डुंगा शयर -नौका विहार) क्षेत्रको रुपमा विकास गर्ने वनको योजना छ ।

बुद्ध जन्मस्थल लुम्बिनीबाट १७ किलोमिटर उत्तर पश्चिममा र बुटवलदेखि २३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित यो तालमा लुम्बिनी आउने पर्यटकलाई ल्याउन टुर प्याकेज योजना पनि बनाउने क्रममा रहेको अध्यक्ष थापा बताउँछन् ।

हाल वार्षिक तीन लाख बढी आन्तरिक र वाह्य पर्यटक आउने गरेको वनका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद घर्तीमगरले बताए ।

तालमा हिउंद याममा पानी कम हुने भएकाले कन्चन गाउपालिका वडा नं. १ कै पहिला नदीको पानीलाई लिफि्टङ प्रणालीबाट तालमा ल्याइने उपाध्यक्ष घर्तीले बताए ।

हाल बनेका करिब ५० वटा पिकनिक सेडलाई तालको उत्तर-पश्चिम सारिने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment