Comments Add Comment

घरेलु मैदानमा पहिलो ओडीआई जीतको खोजी

२४ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा शनिबार नेपालले अमेरिकासँग खेल्नेछ ।

सिरिजमा यो तेस्रो खेल हो भने नेपाल र अमेरिकाका लागि दोस्रो । यसअघि भएको खेलमा नेपाल र अमेरिका दुवै टिम ओमानसँग पराजित भएको थियो । घरेलु मैदानमा भइरहेको पहिलो एकदिवसीय मान्यता (ओडीआई) सिरिजमा नेपाल पहिलो खेलमै ओमानसँग १८ रनले पराजित भएको थियो ।

अमेरिकाविरुद्ध खेल्दा नेपाल घरेलु मैदानमा पहिलो ओडीआई जीत हात पार्ने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि खेलेका दुई ओडीआई सिरिजमा पनि पहिलो खेल हार्दा दोस्रो खेल जितेको थियो । यद्यपि त्यो दुई टिमको सिरिज थियो । अहिले भने सन् २०२३ को ओडीआई विश्वकपको रोडम्याप समेत रहेको यो त्रिकोणात्मक सिरिज हो, जहाँ एक टिमले अर्को टिमसँग २-२ खेल खेल्नेछ ।

नेपाललाई हराएको ओमानले भोलिपल्टै अमेरिकमाथि ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको थियो । त्यसैले अमेरिका पनि पहिलो जीतको खोजीमा छ ।

०००

पहिलो खेलमा ओमानविरुद्ध ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरे पनि नेपालले कुनै कमाल गर्न सकेन ।

नेपालले यसअघि खेलेका दुई ओडीआई सिरिजमा पनि पहिलो खेल हार्दा दोस्रो खेल जितेको थियो । त्यसैले  ओमानसँग हारेको नेपाल अमेरिकाविरुद्ध घरेलु मैदानमा पहिलो ओडीआई जीत हात पार्ने लक्ष्यमा हुनेछ ।

ज्ञानेन्द्र एक र पारस तीन रनमै आउट हुँदा नेपालले ४ रन हुँदा २ विकेट गुमाएको थियो । यो जोडी चल्यो भने नेपालले राम्रो गर्ने सक्ने ज्ञानेन्द्रको भनाइ थियो ।

ओमानसँग पराजित भएपछि अमेरिकाको कप्तान सौरभ नेत्रभाल्करले पनि नेपालविरुद्ध राम्रो खेल्ने बताएका थिए ।

अमेरिकाका आरोन जोन्स लिग २ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् । ओमानका अकिब इल्यास पहिलो स्थानमा छन् । जोन्सले ९ खेलबाट ३५८ रन बनाएका छन् । इल्यासले भने अमेरिकाविरुद्ध पछिल्लो खेलमा ७२ रन बनाउँदै रन संख्या ३९६ पु‍र्‍याएका छन् ।

जोन्सबाहेक दक्षिण अफ्रिका पूर्वखेलाडी रस्टी थेरोन, स्टेभेन टेलर, ओमानविरुद्ध अर्धशतक बनाएका इयान र एलमोर हचिनसन अमेरिकी टिमका मुख्य खेलाडी हुन् ।

विश्वकप लिगमा यसै सिरिजबाट डेब्यु गरेको नेपालका पनि केही खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । ब्याटिङमा शरद भेषावरकले ५५ रन बनाएका थिए । यस्तै बलिङमा करण केसीले ४ र डेब्यु गरेका सुशन भारीले ३ विकेट लिएका थिए । सुशनले १० ओभरमा १ मेडन राख्दै जम्मा १४ रन मात्र खर्चेका थिए ।

ग्लोबल स्टार सन्दीप लामिछानेले विकेट लिन नसके पनि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै २८ रन बनाएका थिए ।

पहिलो खेलमा नेपालको ब्याटिङमा पुरानै समस्या देखिँदा नेपालले १९८ रनको लक्ष्य भेट्टाउन सकेन । बलिङमा पनि नेपालले अन्तिमतिर राम्रो गर्न सकेन । ओमानले ५७-५ को स्थितिबाट ५० ओभर खेल्दै १९७-९ ररन बनाएको थियो ।

कप्तान ज्ञानेन्द्रले भनेजस्तै अमेरिकाविरुद्ध नेपालले ब्याटिङमा धेरै सुधार गर्नुपर्नेछ । साथै बलिङमा पनि सुधार गर्ने ठाउँ छ । ओमानविरुद्ध बलिङमा विकेट लिन नसकेका सन्दीप लामिछाने अमेरिकाविरुद्ध नेपालका लागि हेर्नलायक खेलाडी हुन सक्छन् । उनले नेपालका लागि ओडीआईमा १५ विकेट लिइसकेका छन् ।

शरदको ठाउँमा सुवास

ओमानविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका शरद भेषावकरले चोटका कारण बाँकी सिरिज गुमाउने भएका छन् । उनले ओमानविरुद्ध ५५ रन बनाएका थिए ।

तर खेलमा बारम्बार फिजियोको सहायता लिएका उनको कम्मरमाथिको भागमा चोट लागेपछि एमआरई गरिएको थियो । चिकित्सकले १० दिन दिन आराम गर्नुपर्ने बताएपछि शरदले सिरिजका बाँकी खेल गुमाउने भएका हुन् । नेपालका लागि पहिलो ओडीआई खेल खेल्दा पनि शरदलाई औंलाको चोट लागेको थियो । त्यही कारण उनले त्यो सिरिजका बाँकी खेल गुमाएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले शरदले १० दिन रेस्ट गर्नुपर्ने भएपछि उनको विकल्पमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको नाम आइसीसीमा पठाइएको छ । सुवास अमेरिकाविरुद्ध लक्की साविक भइसकेका खेलाडी हुन् । उनले सन् २०१०२ को डिभिजन ४ मा अमेरिकाविरुद्ध शतक प्रहार गरेका थिए ।

अमेरिकाविरुद्ध खेलेका सबै खेलमा सुवासको रेकर्ड राम्रो छ । यही सिरिजअघि पनि मुलपानीमा अमेरिकी टिमविरुद्ध अभ्यास खेलमा उनले अर्धशतक प्रहार गरेका थिए । नेपाल प्रेसिडेन्ट ११ को कप्तानी गर्दै सुवासले ५२ रन बनाएका थिए ।

सुवासले सन् २०११ मा एसीसी टी–२० मा हङकङविरुद्ध खेल्दा नेपालको लागि डेब्यु गरेका थिए । नेपालले २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेलेको पहिलो ऐतिहासिक ओडिआई सिरिजको दोस्रो खेल्बाट सुवासले ओडिआईमा डेब्यु गरेका हुन् । पछिले समय टिममा पर्न संघर्षरत उनले जम्मा २ ओडीआई खेलेका छन् । २०१८ मै एसिया कप छनोटमा उनले युएईविरुद्ध ५० रन बनाएका थिए ।

घरेलु मैदान भइरहेको ओडीआई खेल्नु पाउने भएपछि सुवासले आाफूलाई भाग्यमानी ठानेका छन् । ’दुर्भाग्य शरद दाइ घाइते हुनुभयो । तर नेपालको लागि खेल्न पाउनु खुशीको कुरा हो, आफूलाई लक्की नै लाग्छ’ सुवासले अनलाइनखबरसँग भने ।

अमेरिकाविरुद्ध खेल्न पाए आफ्नो बेस्ट दिने प्रयास गर्ने भन्दै उनले भने, ‘हाम्रा लागि हरेक म्याच महत्वपूर्ण छ । अमेरिकाविरुद्ध खेल पनि त्यही हो । ’

सुवास प्लेइङमा परेमा कप्तान ज्ञानेन्द्रसँग ओपनिङ गर्ने सम्भावना छ । तर सुवास जुन भूमिका दिएपनि तयार रहेको बताउँछन् । ‘नेपालको लागि जुनसुकै पोजिसनमा ब्याटिङ गर्न परे पनि तयार छु । जसरी पनि नेपाले जित्नुप‍र्‍यो’ सुवासले भने, ‘घरेलु दर्शकको अगाडि ओडीआई खेल्न जादैछु एकदमै उत्साहित छु ।’

अमेरिकासँग दशकअघिको त्यो खेल

नेपाल र अमेरिकाको खेल घरेलु मैदानमा हुँदा दश वर्ष अघिको एउटा खेलमा पर्कनुपर्छ ।

आखिर कसले पो बिर्सन सक्छ र त्यो घटना ।

नेपाल विजयी भएमा भने नेपाल र सिंगापुर फाइनल पुग्ने थियो । नेपाल अमेरिकासँग हार्ने अवस्था देखिएपछि घरेलु दर्शकले ढुंगा र बोतल मैदानमा फालेर खेलमा अवरोध गरे ।

त्यसअघि पनि दुई टिम नखेलेका होइनन् । आईसीसीले विश्व क्रिकेट लिग संरचना लागू गरेपछि सन् २००८ मा डिभिजन ५ मा नेपाल र अमेरिका पहिलो पटक खेलेका थिए । शुरुवाती खेलहरु वर्षाले प्रभावित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेल नेपालले जितेको थियो ।

त्यसको दुई वर्षपछि २०१० मा घरेलु मैदानमै भएको डिभिजन २ मा नेपाल र अमेरिका पुनः भेट भयो । त्यसबेला २ खेल भयो लिग चरण र फाइनलमा । फाइनल नेपालले ५ विकेटले जित्दै डिभिजन ५ को उपाधि जितेको थियो । त्यही प्रतियोगिताको लिग चरणमा भने नेपाल अमेरिकासँग पराजित भएको थियो ।

त्यो खेलको अर्कै कथासमेत छ ।

लिग चरणको अन्तिम खेल नेपाललाई हराएको भए अमेरिका सिधै फाइनल पुग्ने थियो भने दोस्रो टिमको निर्णय रनरेटमा हुन्थ्यो । नेपाल विजयी भएमा भने नेपाल र सिंगापुर फाइनल पुग्ने थियो । नेपाल अमेरिकासँग हार्ने अवस्था देखिएपछि घरेलु दर्शकले ढुंगा र बोतल मैदानमा फालेर खेलमा अवरोध गरे ।

सुरक्षाकर्मीको सहयोगमा खेल सुरु भयो । ओभर घटाइएको खेलमा अमेरिका विजयी भयो तर सिंगापुरलाई रनरेटमा पछि पार्दै नेपाल पनि फाइनलमा पुग्यो । यो प्रतियोगितामा दर्शकले उपद्रो मच्चाउँदा नेपाली टिमलाई तत्काल फाइदा पुग्‍यो तर त्यसपछिका वर्षहरमा नेपाली क्रिकेटले घाटा व्यहोर्‍यो ।

आईसीसीले नेपालमा प्रपियोगिताहरु नै दिएन । तर अहिले नेपाली दर्शकको व्यवहार फेएिएको छ । बुधवार पहिलो खेलमा ओमानका मोहमम्द नदिमले नेपालविरुद्ध अर्शतक प्रहार गर्दा सबै दर्शकले उनीप्रति सम्मान व्यक्त गरेका थिए ।

२०१० मा डिभिजन ५ खेल्दाका कुनै पनि खेलाडी अहिले अमेरिकन टिममा छैनन् । अहिलेको अमेरिकी टिममा भारत, वेष्ट इन्डिजदेखि दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडी समेत छन् । नेपाली टिममा भने त्यो बेलाका ज्ञानेन्द्र मल्ल, पारस खड्का र विनोद भण्डारी छन् । शरद भेषावरकले पनि त्यतिबेल खेलेका थिए,तर चोटका कारण यस पटक भने अमेरिका विरुद्ध हुने छैनन् ।

नेपाल भर्सेज अमेरिका : हेड टु हेड

२००८ डिभिजन ५ : शुरुको दुई खेल वर्षा कारण नो रिजल्ट, तेस्रो स्थानको खेलमा नेपाल ९६ रनले विजयी

२०१० डिभिजन ४ : वर्षाले खेल रद्ध, रिप्ले म्याचमा अमेरिका ५५ रनले विजयी

२०१० डिभिजन ५ : लिग चरणमा अमेरिका ५ विकेटले विजयी,फाइनलमा नेपाल ५ विकेटले विजयी

२०१२ डिभिजन ४ : लिग चरणमा नेपाल ३२ रनले विजयी, फाइनलमा नेपाल ८ विकेटले विजयी

२०१३ डिभिजन ३ : अमेरिका ९४ रनले विजयी

२०१४ डिभिजन ३ : नो रिजल्ट वर्षाले रद्ध, रिप्ले नेपाल डीएल मेथडमा मा १० रनले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment