Comments Add Comment

प्रहरीद्वारा ई–रिक्सा चालकमाथि कुटपिट

विरोधमा वडा प्रहरी कार्यालय घेराउ

२५ माघ, बुटवल । विद्युतीय रिक्सा चालकमाथि प्रहरीले बुटवलमा कुटपिट गरेका छन् ।

प्रहरीको कुटाइबाट ई-रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए ।

बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई प्रहरीले सुरुमा ब्लुबुक मागेका थिए । चालकले ब्लुबुक साथमा नरहेको भन्दै लाइसेन्स देखाउँदा प्रहरीसँग विवाद भएको थियो । विवादपछि प्रहरी बिटमा ल्याई अन्य दुई जना प्रहरीसमेत मिलेर कुटपिट गरेको सिंजालीले बताए । प्रहरीको कुटाईबाट आफू अर्ध–बेहोस भएको र प्रहरीले नै अस्पताल लगेर छाडेको बताए । सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

चालकमाथि कुटपिटको विरोधमा बुटवलका ई-रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरेका छन् । करिब पाँच सयको संख्यामा उपस्थित चालकहरुले कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने माग गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर राईले ई रिक्सा चालक स्वरोजगार मजदुरमाथि प्रहरीले बिटमै ल्याएर कुटपिट गर्नु ज्यादती भएको बताए । उनले दोषी प्रहरीमाथि कारवाही नभए कानुनी उपचारका लागि अदालत जाने बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले घटना भएको जानकारी पाएको बताउँदै अध्ययन गरेर कारबाही गर्ने नगर्ने निर्णय गरिने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment