Comments Add Comment

‘सेल्फी किंग’ : दर्शक प्रतिकृयाबाट खुसी छन् विपिन

शुक्रबारबाट चलचित्र ‘सेल्फी किंग’ रिलिज भएको छ । विशाल सापकोटाको निर्देशनमा बनेको यस चलचित्रका अभिनेता विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् । भर्सटाइल अभिनेताको रुपमा चिनिएका विपिन यस चलचित्रमा भने हास्यकलाकार बनेका छन् ।

हलमा प्रदर्शनरत चलचित्रको दर्शक प्रतिकृया लिन अभिनेता विपिनसँग निर्माण पक्ष हलसम्म पुगेको थियो । उपस्थित दर्शकले चलचिचलाई निकै राम्रो प्रतिकृया दिएका छन् । दर्शकले चलचित्रको विषयबस्तु र कलाकारको कामलाई रुचाएका छन् ।

दर्शक प्रतिकृयाले निर्माण पक्षलाई निकै खुसी दिएको छ । प्रत्यक्ष भेटेर, फोन तथा म्यासेजबाट आइरहेको प्रतिकृयाहरुले मनलाई फुरुङ्ग बनाएको निर्देशक विशाल सापकोटाले बताए । उनले भने, ‘जति पनि दर्शकले चलचित्र हेर्नुभएको छ, धेरैले राम्रो भन्नुभएको छ । फोन, म्यासेजहरु आइरहेका छन् । खुसी लागेको छ ।’

अभिनेता विपिन कार्की दर्शकले नयाँ स्वाद अनुभव गर्न पाएको बताउँछन् । उनले भने, ‘केही दर्शकहरु कमेडी चलचित्र सोचेर आउनु भएको रहेछ । तर, चलचित्रमा अर्कै इमोशन छ । जुन कुरालाई दर्शकले रुचाउनु भएको छ । त्यसले पनि खुसी नै बनाएको छ ।’

निर्माता दिनेश राउतले चलचित्रको व्यापार पनि सन्तोषजनक भएको बताए । उनले भने, ‘हामी चलचित्रले पहिलो दिन नै बबाल गर्छ भन्ने पक्षमा थिएनौँ । हामीले जे सोचेका थियौँ त्यस्तै नै भयो । अहिले भने दर्शक बढिरहनु भएको छ । व्यापार भन्दा पनि दर्शक प्रतिकृयाबाट सन्तुष्ट छौँ ।’ माउथ पब्लिसिटीले चलचित्रको दर्शक बढाउने निर्माता राउतको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment