Comments Add Comment

छापामा आज : सांसद्, मेयरलगायत २०८ जनप्रतिनिधि ठेकेदार

२६ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् ।

पदीय मर्यादाविपरीत निर्माण व्यवसायमा आबद्ध जनप्रतिनिधिबारे नयाँ पत्रिकाले आज चिरफार गरेको छ । रिपोर्टअनुसार, सांसद्, मेयरलगायत २०८ जनप्रतिनिधि निर्माण व्यवसायमा संलग्न रहेको भेटिएको छ । यीमध्ये तीन ठेकेदार सांसद् त संघीय संसदको विकास समितिकै सदस्य छन् ।

नयाँ पत्रिका लेख्छ– निर्माण व्यवसायी महासंघ र जिल्लास्थित निर्माण व्यवसायी संघबाट संकलन गरिएको सूचीअनुसार, वडासदस्यदेखि संघीय सांसदसम्म २ सय ८ जनप्रतिनिधि ठेकेदार छन् । संघीय संसदमा नै ६ सांसद् ठेकेदार छन् । प्रदेशका १८ सांसद र स्थानीय तहका १ सय ८४ जनप्रतिनिधि पनि निर्माण व्यवसायमा छन् ।’

राजनीतिमा ठेकेदार हाबी भएपछि अन्य कार्यकर्ताका लागि राजनीति चुनौतीपूर्ण बन्दै गएको नयाँ पत्रिका समाचारको सार छ । ‘पैसाको बलमा टिकट पाउने ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीतिक कार्यकर्ताले पनि पैसाकै खोलो बगाउनुपर्ने बाध्यता छ । निर्वाचन महँगो हुँदा भ्रष्टाचार मौलाएको छ’, नयाँ पत्रिकाले आफ्नो निष्कर्ष निकाल्दै लेखेको छ ।

चीनबाट नागरिक ल्याउन आलटाल गरिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । कोरोना संक्रमित क्षेत्रमा विद्यार्थीहरू सकस व्यहोरिरहे पनि सरकारले आफ्ना नागरिकप्रतिको दायित्वमा संवेदनशीलता नदेखाएको समाचारमा उल्लेख छ ।

अन्नपूर्णको नजर बढ्दो कालोबजारीमाथि परेको छ । समाचार अनुसार, बजारमा सरकारको उपस्थिति शून्यप्रायः हुँदा उपभोक्ता चर्को मूल्य तिरेर उपभोग्य वस्तु खरिद गर्न बाध्य छन् ।

प्रदेश २ को गरिबीसँगै वुहानका नेपालीहरूको आक्रोसलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

‘एमसीसी अघि बढ्छः दाहाल’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेकपाका अध्यक्ष प्रचण्डले एमसीसी अघि बढ्ने बताएका छन् । एमसीसीलाई लिएर नेकपा विभाजित बनिरहेका बेला प्रचण्डले पारित हुने बताएका हुन् ।

कुशल मल्लले बनाएको कीर्तिमानलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ ।

नयाँ सचिवबारे राजधानीले सोधीखोजी गरेको छ भने नागरिकमा ललितानिवासमा रहेको दुई व्यक्तिको जग्गा सुटुक्क सरकारका नाममा ल्याइएको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment