Comments Add Comment

डोजरले जथाभावी सडक खने, नियमन गरौं : उपप्रधानमन्त्री पोखरेल

Photo Credit : फाइल तस्वीर

२६ माघ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जता मन लाग्यो त्यतै बाटो खन्ने डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वातावरण संरक्षणका लागि डोजर संस्कृतिको नियमन आवश्यक रहेको बताएका हुन् ।

अहिले जलवायु परिवर्तनको चपेटामा मुलुक परेको भन्दै उनले डोजरको बारेमा पनि कार्यक्रममा छलफल आवश्यक रहेको बताए ।

खासगरी विकसित मुलुकहरुका कारण जलवायु परिवर्तनको समस्या उब्जिएको बताउँदै उनले त्यसबाट सिर्जित समस्या नेपालजस्ता कम विकसित देशहरुले भोग्नु परिरहेको बताए । नेपालमा रहेका गगनचुम्बी हिमालहरुले पृथ्वीलाई चिसो बनाउन मद्दत गरिरहे पनि यो पक्षलाई महत्त्व नदिएको उनले बताए ।

सगरमाथा संवाद कार्यक्रमले विश्वको ध्यानाकर्षण गराउन सघाउ पुग्ने मन्त्री पोखरेलको विश्वास छ । उनले भने, ‘यस्ता बहस र छलफलको माध्यमबाट विश्वको ध्यान खिच्न सक्ने छ ।’

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जलवायु परिवर्तनका विषयमा खोज अध्ययन गर्न कसरी सहभागी गराउने भन्ने विषयमा बहस चलाउन पनि उनले कार्यक्रम आयोजकलाई सुझाव दिए ।

आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपाय खोज्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने विश्वास व्यक्त गरे ।

सगरमाथा संवादमा विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियन्ताहरु सहभागी हुने उनले जानकारी दिए । सगरमाथा संवाद कार्यक्रम प्रत्येक २/२ वर्षमा आयोजना गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment