Comments Add Comment

६ महिनामा २० हजारलाई ट्राफिक कारबाही

२६ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको छ ।

महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४ सय ३३ जना सवारी चालकलाई कारबाही गरेको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारबाही गरिएको बताए ।

‘पुस १ गतेदेखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिइएको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले भने, ‘कार्यक्रम अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारी चालकलाई सचेतना प्रदान गरिएको छ ।’

यसबाहेक ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन पनि गरिएको छ भने यात्रुमैत्री अभियान सुरु भएको छ । ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले बताए ।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिइएको उनको भनाइ छ । यो अवधिमा ९ वर्षदेखि विग्रिएर रहेका १७ स्थानका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताए ।

साउनयता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment