Comments Add Comment

ओखलढुंगामा खिजिदेम्बा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

२७ माघ,काठमाडौं । ओखलढुंगाका पर्यटकीय गन्तव्य चिनाउने तथा भ्रमण वर्षको प्रचार प्रसार गर्ने उद्देश्यले खिजिदेम्बा अल्ट्रा म्याराथन दौड आयोजना हुने भएको छ । ४२ किलोमिटर लामो म्याराथनका विजेतालाई आकर्षक पुरस्कार राशीको समेत घोषण गरिएको छ ।

ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामा आगामी फागुन १९ गते दोस्रो संस्करणको अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

गतवर्ष हाफ अल्ट्रा म्याराथन भएकोमा यसपटक भने अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा ४२ किलोमिटरको म्याराथन दौड आयोजना गर्न लागिएको आयोजक ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले जानकारी दिए ।

खिजीदेम्बा गाउँपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल माउन्टेनरिङ एशोसिएशनसँगको समन्वयमा म्याराथन गर्न लागिएको उनले बताए । म्याराथन दौडले नेपाल भ्रमण वर्षलाई समेत सहयोग आयोजकको भनाइ छ ।

पिके हिमालको फेदीसम्म हुने म्याराथन खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको रुट हुँदै खिजी फलाटेमा समापन हुनेछ । म्याराथन दौड चुप्लुभञ्याङ, थोलेदेम्बा, ताक्लुङ, ल्ह्मुचे, बुलबुले, दोराखर्क, ताउर हुँदै पुनः खिजीफलाटेमा आएर समापन हुने शेर्पाले बताए ।

महिला पुरुषबीच प्रतियोगितात्मक रूपमा हुने म्याराथनको विजेताले नगद ७० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि फागुन ८ गतेसम्म नाम दर्ता गर्न आयोजकले सूचना जारी गरेको छ ।

पत्रकार सम्मेलनमा ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले म्याराथन दौडले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए । उनले ओखलढुंगाको पर्यटन विकासमा अरु रुटहरुको बारेमा समेत अध्ययन भइरहेको बताए ।

पूर्व सांसद रामहरि खतिवडाले जिल्लाको पर्यटन तथा समग्र विकासमा आफू राजनीतिभन्दा माथि उठेर सघाउन तयार रहेको बताए ।

ओखलढुङ्गा कला साहित्य समाजका अध्यक्ष गम्बु शेर्पा, सगरमाथा आरोही पेम्बा शेर्पा, शेर्पा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष आङ् पेम्बा शेर्पालगायलते म्याराथन दौडलाई नियमित गर्नका लागि राज्यबाटै आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment