Comments Add Comment

वीरगञ्ज कारागार जीर्ण, कैदी बन्दीको अवस्था दयनीय

२७ माघ, वीरगञ्ज । एक हजार ३ सय ४० कैदीबन्दी रहेको वीरगञ्जको कारागार भवन अत्यन्तै जीर्ण रहेको पाइएको छ । एक हजार जना क्षमताको यस कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ ।

कारागार भवन वर्षामा पानी चुहिने र भूकम्प आएको खण्डमा भत्कने गरी जीर्ण अवस्थामा पुगेको कैदीबन्दीले बताएका छन् ।

वीरगञ्जमा सोमबार आयोजित मानव अधिकार प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय गोष्ठीमा कारागारको जीर्ण अवस्था र क्षमता भन्दा बढी राख्ने गरिएका कारण कैदीबन्दीको मानव अधिकार हनन भएको आवाज सरोकारवालाले उठाए ।

जिल्ला प्रशासन कार्यालयमा भएको गोष्ठीमा सरोकारवालाले कारागारमा कैदी र थुनुवाले पाउने सीदा खर्च ज्यादै कम भएको, क्षमता भन्दा कैदी बन्दी राखेर मानव अधिकार हनन भइरहेको, कारागारमा स्वास्थ्यकर्मी र औषधीको अभाव रहेको बताएका थिए ।

उनीहरुले नयाँ मापदण्ड अनुसार भवन निर्माण गर्नुपर्ने, थुनुवा हिरासत कक्षको उचित व्यवस्थापन हुनुपर्ने, खानेपानी लगायत सुविधाको उचित व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

कारागारमा दुई सय १५ जना विदेशी कैदीबन्दी रहेको यहाँ २ पाकिस्तानी र बाँकी भारतीय छन् ।

कारागार प्रमुख जेलर श्रवण कुमार पोखरेलले कारागारमा सुधारको खाँचो देखिएको बताए । उनले स्रोत साधनको अभावमा कैदी बन्दी र थुनुवालाई अदालतसम्म पुर्‍याउन समस्या भएकोले भिडियो कन्फरेन्सको सुविधा हुनुपर्ने बताए ।

‘कारागारमा ७८ प्रतिशत थुनुवा छन्, कैदीको संख्या २ सय ९३ मात्रै छ । मुद्धाको छिटो फैसला नहुँदा समस्या छ’ उनले भने ‘कैदीबन्दीलाई घरीघरी अदालत लैजाँदा सुरक्षा संवेदनशीलता बढी हुन्छ । भिडियो कन्फरेन्स सुविधा हुँदा अदालतमा पेशी चढेको, बहस हेर्ने सुविधा हुने थियो ।’

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले कैदी बन्दीको मानव अधिकार रक्षाका लागि गम्भिर ढंगले लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment