Comments Add Comment

सुदूरपश्चिमका दुई अस्पतालमा कोरोना भाइरसको छुट्टै उपचार कक्ष

धनगढी विमानस्थलमा पनि हेल्थ डेस्क राखिने

२८ माघ कैलाली । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै अस्पतालहरूमा छुटै उपचार कक्षको स्थापनाको लागि पत्राचार गरेको छ ।

नोवेल कोरोना भाइरससम्बन्धी रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर मन्त्रालयले पूर्व तयारी थालेको जनाएको छ ।

मन्त्रालयले अस्पतालहरूमा स्क्रिनिङ र सर्भिलेन्ससम्बन्धी व्यवस्था गर्न, उपचारका लागि छुट्टै कक्षको तयार गर्न, सुरक्षाका अन्य उपायहरू अपनाउन, प्रयोगशाला परीक्षणको व्यवस्था गर्न, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय तहको उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा ‘नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण समिति’ गठन गर्ने समेत सबै स्थानीय तहहरूमा पत्राचार गरेको छ ।

यो पनि पढ्नुहोस सातामा ७ सय चिनियाँ भित्रिए, कोरोनामा ‘पशुपतिनाथ’ को भर !

‘कोरोना भाइरस फैलन नदिन हामी पूर्ण रूपमा लागिरहेका छौँ’ सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले बताए । मन्त्री सुवेदीले सबै अस्पतालहरूमा छुटै उपचार कक्षको स्थापना र स्थानीय तहमा समिति गठन गर्ने विषयमा पत्राचार गरेको समेत जानकारी गराए ।

‘सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा कक्ष निर्माणसमेत भइसकेको छ । अन्य अस्पतालहरूमा पनि यसको तयारी भइरहेको जानकारी पाएको छु,’ उनले भने, ‘स्थानीय तहहरू पनि समिति गठन गर्ने प्रक्रियामा छन् ।’

यो पनि पढ्नुहोस नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी चीन जाने

मन्त्रालयले सीमा क्षेत्रमा हेल्थ डेस्कको पनि स्थापना गरिसकेको उनले जानकारी दिए । कैलालीको त्रिनगर र सत्ती कञ्चनपुरको गड्डाचौकी र दार्चुलामा पनि हेल्थ डेस्क स्थापना गरिएको मन्त्री सुवेदीले जानकारी बताए । केही दिनभित्रै धनगढी विमानस्थलमा पनि हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको उनले सुनाए ।

‘भारतमा पनि यसको सङ्क्रमण देखिएको छ,’ उनले भने, ‘खुला सीमाका कारण यो रोग भित्रन सक्छ । सोही कारण हामीले सीमा क्षेत्रमा विशेष सावधानी अपनाएका र्छौँ ।’

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि आफूहरू पूर्ण तयार अवस्थामा रहेको बताए । उनले भने, ‘सीमा क्षेत्र र अस्पतालमा हामीले बढी सक्रियता देखाएका छौँ ।’

यो पनि पढ्नुहोस चीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ

मन्त्रालयले महामारी व्यवस्थापन शीर्षकमा प्रत्येक जिल्लामा ५ लाख देखि २० लाखसम्म रकम पठाइसकेको उनले जानकारी दिए । ‘हामीले प्रत्येक जिल्लामा रकम पठाएका छौँ,’ उनले भने, ‘रकम कोरोना भाइस रोकथाम र पूर्व तयारीमा लगाउन निर्देशन पनि दिइसकेका छौँ ।’ अधिकांश अस्पतालले कम्तीमा एउटा बेड र छुट्टै उपचार कक्ष निर्माणको तयारी गरिरहेको उनले बताए ।

‘अस्पतालहरूमा भइरसको शङ्का लागे तत्काल प्रयोगशालामा पठाउन निर्देशन जारी गरिएको छ,’ उनले भने । यस अघि बाजुराबाट एक जनाको नमुना काठमाडौं पठाइसकेको कार्कीले जानकारी दिए ।

बाजुराको हिमाली गाउँपालिका र स्वामी कार्तिक खापार गाउँपालिकामा फैलिएको भाइरल ज्वरोका कारण २ जनाको ज्यान गएको थियो । उक्त ज्वरोबाट तीन सय भन्दा बढी बिरामी परेका थिए ।

कोरोनाको शङ्कापछि मन्त्रालयले एक जनाको नमुना प्रयोगशालामा पठाएको थियो । ‘उहाँको मृत्युको कारण छुट्टै रहेछ,’ सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘कोरोनाको शङ्कामा नमुना पठाइएको थियो । कोरोना होइन भन्ने पुष्टि भयो । ’

सेती प्रादेशिक अस्पतालमा पनि कोरोनाको शङ्कामा आलेको अवस्थामा चेकजाच गर्न छुट्टै टोली तयार गरिएको जनाएको छ । भाइरसको उपचार गर्न र परीक्षण गर्न छुट्टै कक्ष र टोली तयार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । प्रदेशको रेफ्रल अस्पताल भएका कारण पनि बढी सावधानी अपनाइएको उनले जनाए ।

‘४/५ वाडको एउटा छुट्टै कक्ष तयार गर्दै छौँ । रगत परीक्षण गर्नको लागि पनि छुट्टै स्वास्थ्य कर्मीको टोली र कक्ष तयार गरेका छौँ,’ उनले भने, ‘प्रदेशका सबै जिल्लाबाट बिरामी यहाँ आउँछन् । त्यसैले हामी पूर्व तयारीमा छौँ । ’

भारत र चीन दुबैसँग नाका जोडिएको हुँदा सुदूरपश्चिम प्रदेश पनि उच्च जोखिममा रहेको छ । प्रदेश सरकारले भने बलियो पूर्व तयारी गरेका कारण यसको सङ्क्रमण फैलन नदिने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment