Comments Add Comment

थोरै खाए बल, धेरै खाए मल

नेपालीमा एउटा उक्ति छ, ‘थोरै खाए बल, धेरै खाए मल ।’ यसले खानपानको सही शैलीबारे इंगित गर्छ । खाना कति खाने ? यस सम्बन्धमा हामी त्यती सर्तक छैनौं । भोक लागेपछि भरपेट खान्छौं । सामान्य अवस्थामा जिब्रोको स्वाद फेर्न खान्छौं ।

एकथरी सोचाई के पनि छ भने, जति धेरै खाना खाइन्छ, उत्तिनै ज्यानमा ताकत आउँछ । तर, आवश्यक्ताभन्दा बढी खानाले पाचन यन्त्रलाई बोझिलो बनाउँछ । उक्त खानाबाट शरीरलाई पोषण मिल्ने होइन, बरु विकार बन्छ । त्यही विकार नै रोगको कारण बन्छ । त्यसैले आवश्यक्ताभन्दा धेरै खाना खानु रोग निम्त्याउनु सरह हो ।

उच्च क्यालोरी र फ्याट भएको खाना मात्र स्वास्थ्यको लागि हानिकारक हुँदैन । कुनै प्रकारको पौष्टिक आहार पनि आफ्नो क्षमता भन्दा बढि खाँदा शरीरलाई हानि गर्छ ।

हामीसँग जे जति खानेकुरा उपलब्ध छ, त्यसलाई कसरी सही र सन्तुलित ढंगले सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले धेरैजसो व्यक्ति मोटोपनको सिकार भएका छन् । मधुमेहका सिकार भएका छन् । उच्च रक्तचापको सिकार भएका छन् । यस्ता समस्या धेरैजसो अस्वस्थ्यकर खानपानकै कारण हुन्छ ।

अर्थात, त्यही खाना हो, जसले हामीलाई स्वस्थ्य बनाउँछ । र, त्यही खाना हो, जसले हामीलाई रोगी बनाउँछ ।

विश्वमै सवैभन्दा बढी उमेर बाँचेकी एक जापानी बृद्धाले भनेकी थिइन्, ‘थोरै खाउ, धेरै बाँच ।’

खासगरी ताजा, सुपाच्य, सन्तुलित खानाले नै शरीर निरोगी हुन्छ । दीर्घायु जीवन मिल्छ । खाना कति खाने भन्ने प्रश्न जति महत्वपूर्ण छ, उत्तिनै महत्वपूर्ण छ कसरी खाने भन्ने प्रश्न ।

खाना पोषिलो, ताजा वा सन्तुलित भएर मात्र पुग्दैन । उक्त खानेकुरालाई सही ढंगले, सही समयमा खानु उपयुक्त हुन्छ ।

सामान्यतः खाना दिनमा तीन वा चार पटक खानुपर्छ । एकै पटक भरपेट खाने भन्दा पनि धेरै पटक तर थोरै-थोरै खानुपर्छ । यसरी खानेकुरा सेवन गर्दा पाचन प्रक्रिया सहज हुन्छ । खाएको खानेकुरा सजिलै पच्छ ।

हरेक छाकमा विविधता भए उत्तम हुन्छ । हरेक छाकमा एकै किसिमको खानेकुरा नभई हरेक छाकमा केही न केही फरक परिकार राख्नु राम्रो हो । किनभने शरीरलाई आवश्यक पोषक तत्वको स्रोत फरक-फरक खानेकुरा हुन् ।

अन्नमा भन्दा सन्नमा बल

गाउँघरतिर प्रचलित भनाई छ, ‘अन्नमा भन्दा सन्नमा बल गर्नुपर्छ ।’ ‘सन्ना’ अर्थात झोलयुक्त पदार्थमा जोड दिनुपर्छ । ठोस खानेकुुराको अनुपातमा झोलिलो खानेकुरा शरीरका लागि आवश्यक र उपयोगी हुन्छ ।

त्यसो त कांक्रा, मुला, फलफूल आदिमा पर्याप्त मात्रामा तरल पदार्थ पाइन्छ । त्यसैले हरेक छाकमा सलाद समावेश गर्नु आवश्यक हुन्छ । दही, मोही, दुध, जुस र ताजा एवं मौसमी फलफूल पनि दैनिक खानामा उचित हुन्छ ।

बिहानको खाना आफ्नो, रातीको सत्रुको

एउटा भनाई छ, बिहानको खाना आफुले खानु । मध्यन्हको खाना साथीसँग बाढेर खानु । साँझाको खाना सत्रुलाई दिनु ।

यसको अर्थ के भने, बिहान जति खाना खाइन्छ, साँझसम्म त्यसको मात्रा कम गर्दै लानुपर्छ । बिहानको खाना पर्याप्त खाने, दिउँसो त्यसको आधा भाग खाने । साँझको खाना अझ कम खाने । यसरी हरेक छाकमा खानाको मात्रा घटाउँदै लानुपर्छ ।

किनभने, दिनभर काम गर्नका लागि हामीलाई उर्जा एवं शक्ति चाहिन्छ, जुन बिहानको ब्रेकफास्टबाट प्राप्त हुन्छ । जबकी राती हामी शारीरिक रुपमा निस्क्रिय हुन्छौं । त्यसैले राती खानाको खास काम हुँदैन । राती धेरै खाना खाइयो भने त्यो पच्दैन वा खर्च हुँदैन । बोसोको रुपमा शरीरमा जम्मा हुन्छ । मोटोपन बढ्ने कारण यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment