Comments Add Comment

विराटनगरमा हुने ‘विराट एक्स्पो’को तयारी पुरा

२९ माघ, विराटनगर । कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आगामी फागुन २ गतेदेखि १० गतेसम्म हुने ‘विराट एक्स्पो २०७६’ (कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी)को तयारी पुरा भएको छ ।

आयोजक संस्था उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी विराटनगरमा हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

‘आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गर्ने तथा औद्योगिक उत्पादन, प्रविधि प्रवर्द्धन र कृषिको व्यावसायिक उत्पादनमा जोड दिने विराट एक्स्पो २०७६ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

संयोजक दुलालका अनुसार एक्स्पोमा जुम्लाको स्याउ,मार्सी चामल, हिमाली उत्पादन पोखराको पाँउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, सुपारीको टपरी, इलामको ललिपप तेह्रथुम र संखुवासभाको अलो, किवी आदी एक्स्पोको मुख्य आर्कषण रहनेछन् ।

त्यसैगरी एक्स्पोमा हेलिकेप्टरबाट विराटनगरको अवलोकन र पाथीभराको दर्शन, हात्तीको सवारी लगायतको व्यवस्था समेत गरिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापारलाई जोड्ने र प्रदेश–१ मा लगानीको वातावरण सृजना एक्स्पोले महत्वपुर्ण भूमिका रहने बताए ।
एक्स्पोले बजारको पहिचान, पर्यटन प्रवर्द्धन, प्रविधि पहिचान, उत्पादकबीच स्वस्थ प्रतिस्पर्धा, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास उनको छ  ।

औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्ट्स, हस्तकलाका सामग्री, विद्युतीय, घरायसी सामग्री, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका ३४० ओटा स्टल रहनेछन् ।

९ दिनसम्म चल्ने एक्स्पोमा १ अर्बको कारोबार हुने एक्स्पोमा २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

एक्स्पोमा भारत, बंगलादेश, श्रीलंका पाकिस्तान र भुटानका औद्योगिक उत्पादन रहने एक्स्पोमा ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।

राष्ट्रिय उद्योग र व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरू, कृषि तथा पर्यटन व्यवसायीहरू, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायीहरू, घरेलु तथा साना उद्योगहरूका साथै अन्तराष्ट्रिय स्तरमा भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तानका उद्योगीरव्यवसायीहरूको सहभागिता रहने छ ।

नेपाल पर्यटन बोर्ड र विराटनगर महानगरपालिका सहआयोजक रहेको एक्स्पोको सहयोगी संस्था मोरङ व्यापार संघ छ ।

एक्स्पोमा चीनबाट समेत स्टल बूकिङ भएकोमा नोवल कोरोना भाइरसका कारण रद्ध गरिएको स्टल व्यवस्थापन संयोजक विपिन कावराले जानकारी दिए । एक्स्पोको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment