Comments Add Comment

गोरखाको अवैध क्रसर बन्द गर्न सांसद अधिकारीको माग

२९ माघ, काठमाडौं । सत्तारुढ नेकपाका सांसद हरिराज अधिकारीले गोरखा नगरपालिका– १० छेपेटारमा सञ्चालित अवैध क्रसर बन्द गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले केही दिनअघि दूध बेच्न जाने महिलाको अवैध क्रसर छेउमा टिपरको ठक्करले मृत्यु भएको र धुलोका कारण स्थानीय वासिन्दा समस्यामा परेको भन्दै बन्द गर्न माग गरेका हुन् ।

‘दरौंदी नदी किनारमा रहेको एउटा क्रसर क्षेत्रमा केही दिन अगाडि एक जना दूध बेच्न गएकी महिलाको टिपरले हानेर हत्या भयो । त्यस क्षेत्रका स्कुलहरुमा पढ्न जान बच्चाबच्चीलाई गाह्रो भएको छ । स्थानीयलाई हिँडडुल गर्न गाह्रो भएको छ’ सांसद अधिकारीले भने ।

माघ १७ गते गोरखा नगरपालिका १० छेपेटारमा अवैध रुपमा सञ्चालन भइरहेको गोरखकाली क्रसर उद्योगमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यु भएको थियो । गोरखा नगरपालिका– १३ देउरालीमा सञ्चालनको अनुमति पाएको उक्त क्रसर छेपेटारमा अवैध रुपमा सञ्चालन भइरहेको छ ।

सांसद अधिकारीले उक्त अवैध रुपमा सञ्चालित क्रसरलाई कानूनको सीमाभित्र ल्याउन माग गरे । ‘सरकारले तुरुन्त यस्ता अवैध धन्दाहरु बन्द गरी वैधानिक सिमाभित्र व्यवस्थित गरोस्’ उनले भने ।

निर्माण सामाग्रीका लागि नदीमा मात्र भर नपरौं

सांसद अधिकारीले निर्माण कार्यको लागि नदी खोलाहरुको मात्र भर पर्न नहुने भन्दै महाभारत लगायतका उपयुक्त पहाडहरु खनेर निर्माण सामाग्री निकाल्नुपर्ने बताए ।

‘महाभारतलगायतका उपयुक्त पहाडहरु खनेर मैदान बनाइ बसोबासस्थल बनाउने र ढुङ्गा माटोलगायत सामाग्रीहरु निर्माण कार्यमा लगाउने गरी सोचोस्’ उनले भने ।

यस्तै गोरखा दरबारको पुनर्निर्माणले गति नलिएकोमा पनि उनले असन्तुष्टि पोखे । अधिकारीले भने, ‘गोरखा दरबार भूकम्पले नराम्ररी क्षति गर्‍यो । पुनर्निर्माणको गति अत्यन्त धिमा भयो । बर्षौंसम्म कामको सुरुवातीजस्तो देखिने दृष्यले भ्रमण बर्ष २०२० लाई गिज्याइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment