Comments Add Comment

सिन्धुपाल्चोकका रुघाखोकीका बिरामीमा कोरोना परीक्षण गरिने

२९ माघ, काठमाडौं । ज्वरो र रुघाखोकी देखिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका – ३ गुम्बा गाउँका वासिन्दामा कोरोना भाइरस संक्रमणको परीक्षण हुने भएको छ । धेरै मानिसमा एकै समयमा रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्यजाँचका लागि स्वास्थ्यकर्मी पठाइएको छ ।

स्वास्थ्यकर्मीले बिरामीको घाँटीको र्‍यालको नमुना ल्याउने र काठमाडौंको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिने स्वास्‍थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने ‘आज हामीले गुनासो सुनेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका केही विज्ञहरुलाई नमुना परीक्षणका लागि पठाएका छौं । नमुना परीक्षणपछि कोरोना हो वा होइन भन्ने कुरा यकीन हुन्छ ।’

अहिलेसम्मको लक्षण हेर्दा कोरोना भाइरस संक्रमण भन्न नमिल्ने श्रेष्ठले बताए । उनले स्थानीय वासिन्दा सामान्य बिरामी भएको विषयमा भ्रम फैलाइएको आरोपसमेत लगाए ।

स्वास्थ्य मन्त्रालयले प्रभावित बिरामी चीन गएका वा चीनबाट आएका मान्छेसँग सम्पर्क नै नभएको पाइएको बताएको छ ।

मन्त्रालयले जुगल गाउँपालिका ३ गुम्बामा देखिएको स्वास्थ्य समस्या मौसमी रुघाखोकी भएको बताएको छ । त्यस क्षेत्रमा माघ २३ गतेदेखि फाटफुट रुपमा रुघाखोकीको बिरामी देखिएको र २७ गतेदेखि बिरामीको संख्‍या बढेको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।

बिरामी २ सय जनाको गुम्बास्थित सामुदायिक स्वास्थ्य इकाइमा उपचार गरिएको छ । त्यहाँबाट थप उपचारका लागि कसैलाई पनि बाहिर पठाउनुपर्ने नदेखिएको सूचनामा जनाइएको छ ।

स्थानीयको उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहित २ जना स्वास्थ्यकर्मी गएका छन् । जुगल गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुख हेल्‍थ असिस्टेन्ट अनिल साउदसहित ३ जना पनि गुम्बा गाउँ गएका छन् ।

सदरमुकामको चौतारा अस्पतालबाट २ जना चिकित्सक र २ जना प्रयोगशाला प्राविधिक गरी ४ जना पनि गुम्बा गएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट १ जना प्राविधिक पनि प्रभावित क्षेत्रमा गएका छन् । स्वास्थ्यकर्मीले बिरामीको घाँटीको र्‍यालको नमुना लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका छन् ।

स्वास्थ्य मन्त्रालयले प्रभावित बिरामी चीन गएका वा चीनबाट आएका मान्छेसँग सम्पर्क नै नभएको पाइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment