Comments Add Comment

कांग्रेस विधानका ५ व्यवस्था निलम्बन, हरेक वडामा ५० प्रतिशत क्रियाशील सदस्य थप्ने

फाइल तस्वीर

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानका ५ व्यवस्था निलम्बन गरी क्रियाशील सदस्यता वितरणको व्यवस्थालाई लचिलो बनाएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको क्रियाशील सदस्यता पाउने योग्यता हटाएर जहिलेसुकै पाउन सक्ने गरी खुकुलो व्यवस्था गरेको हो ।

केन्द्रीय समितिले पार्टी विधानको धारा ७१ र ५० (५) को अधिकार प्रयोग गरी विधानका ५ व्यवस्था निलम्बन गरेर आउँदो महाधिवेशनका लागि मात्र क्रियाशील सदस्यतासम्बन्धी व्यवस्था लचिलो बनाएको हो ।

पार्टी सदस्यता प्राप्त गरेको एक वर्षपछि मात्र क्रियाशील सदस्यता पाउने व्यवस्था निलम्बन गरिएको छ । त्यस्तै महाधिवेशनको मितिभन्दा ६ महिनाअघिसम्म मात्र क्रियाशील सदस्यता नवीकरण गर्न मिल्ने विधानको व्यवस्था पनि निलम्बन गरिएको छ ।

कांग्रेसले निलम्बन गरेका विधानका व्यवस्था यी हुन्

धारा ४ (२) – “एक वर्ष पुगेपछि”
धारा ४ (१०) (ञ) –“छ महिना”
धारा ४ (१२) (ख) – “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको”
धारा ३५ (२) (घ) – “भन्दा  कम्तिमा एक वर्ष” र “तीन महिना”
धारा ५० (६) – “छ महिना अगावै” र “छ महिना”

कांग्रेसले २०७७ फागुनमा १४ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । उक्त कार्यतालिका प्रभावित हुन नदिन विधानको व्यवस्था निलम्बन गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यस्यता वितरण गर्ने निर्णय गरेको छ । बैठकले वडा कार्य समिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो । प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ । प्रवक्ता शर्माका अनुसार फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समुन्वय गर्ने सहमति पनि बैठकमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment