Comments Add Comment

६ महिनामा २२ युनिटले बढ्यो प्रतिव्यक्ति विद्युत् खपत

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रतिव्यक्ति विद्युत् खपत २२ किलोवाट प्रतिघण्टाले बढेको छ । असारसम्म २ सय ४५ किलोवाट प्रतिघण्टा (युनिट) रहेको प्रतिव्यक्ति विद्युत् खपत २ सय ६७ किलोवाट घण्टा (युनिट) पुगेको सरकारले जनाएको छ ।

यो अवधिमा आन्तरिक विद्युत् जडित क्षमता १ हजार २ सय २० मेगावाटबाट १ हजार ३ सय ४३ मेगावाट पुगेको छ सरकारको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

सरकारले यो वर्ष प्रतिव्यक्ति विद्युत् खपत दर ४२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६/७७ मा कुल १८१ किलोवाट घण्टा (युनिट) बिजुली खपत बढाउने लक्ष्य राखिएको हो ।

अघिल्लो आव ०७५/७६ मा खपत दर ६८ किलोवाट प्रतिघण्टाका दरले बढेको थियो । अघिल्लो वर्ष १ सय ७७ किलोवाट घण्टा मात्र थियो । सरकारले त्यसलाई आगामी साउनसम्म ४२६ किलोवाट घण्टा पुर्‍याउने महत्त्वकांक्षी लक्ष्य लिएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा अबको ५ वर्षमा विद्युत् खपत दर ७ सय किलोवाट घण्टा पुर्‍याउने लक्ष्य राखेको छ । यसैलाई ध्यानमा राखेर ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिरकणले देशभित्रै अधिकतम उपयोगको वातावरण तयार गर्ने सोच बनाएको छ ।

निर्माणाधीन आयोजनाहरू फटाफट सम्पन्न गर्ने तथा विद्युतका ग्राहक र उनीहरूले गर्ने उपयोगदर विस्तार गर्ने सरकारको योजना छ ।

चालु आवको तेस्रो चौमासिकमा मात्रै सरकारले १३८ किलोवाट घण्टा बिजुली खपत दर बढाउने लक्ष्य लिए पनि सो लक्ष्य पूरा गर्न मुस्किल हुने देखिएको छ ।

सरकारले यो वर्षबाट बिजुलीको आपूर्तिलाई विश्वसनीय बनाउने र विद्युतीय सवारी प्रवद्र्धन गर्नेलगायतका काममा जोड दिन खोजेको छ । खाना पकाउनेलगायतका घरायसी काममा पनि बिजुलीको उपयोग बढाउने पक्षमा सरकार छ । यसका लागि प्रोत्साहन गर्ने किसिमका योजनाहरू ल्याउने तयारी छ ।

यो वर्ष ४ लाख थप घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । प्रसारण लाइन विस्तार, स्तरोन्नति तथा सुदृढीकरण गरी गत पुसससम्म करिब ४६ लाख ८१ हजार पुगी ७५ प्रतिशत प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ ।

असारसम्म यस्तो घरधुरीको संख्या ४५ लाख थियो । यसै वर्ष विद्युत् प्राधिकरणमार्फत ३ लाख ५० हजार ग्राहक थप गर्ने योजना सरकारको छ ।

यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट थप ५० हजार नयाँ ग्राहकलाई बिजुली सेवा दिलाउने योजना बनाइएको छ ।

प्राधिकरणले विपन्नलाई निःशुल्क मिटर दिएर विद्युत् पुगेका तर लाइन नजोडेकालाई सेवा लिन प्रोत्साहान गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । यसरी काम गर्दा विद्युत् चोरी पनि घटेको र प्राधिरकणको ग्राहक बढ्दा आम्दानी पनि बढेको घिसिङको भनाइ छ ।

प्रसारणलाइन विस्तार हुँदै

चालु आवको पहिलो ६ महिनामा प्रसारण लाइनको लम्बाइ ३ हजार ९ सय ९० सर्किट किलोमिटर रहेकोमा विभिन्न प्रसारण लाइन आयोजनाहरूको थप २ सय ६२ सर्किट किलोमिटर विस्तार भएको छ ।

देशभरको सबस्टेशनको जडित क्षमता ३ हजार ९ सय ३५ एमभीए (मेगावाट बराबर) बाट ४ हजार १ सय ५६ एमभीए (मेगावाट बराबर) पुगेको छ ।

४० जिल्लामा पूर्ण रूपमा विद्यतीकरण गर्ने कार्यक्रमअन्तर्गत ४ जिल्लाहरू (पर्वत, स्याङ्जा, काठमाडौं र भक्तपुर) मा पूर्ण रूपमा विद्युतीकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment