Comments Add Comment

जनयुद्ध दिवस मनाउन सुदूरपश्चिममा संसद् स्थगित

१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलका सांसदहरूले जनयुद्ध दिवस मनाउनुपर्ने बताएपछि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ दलका सांसदहरूले बिहीबार जनयुद्ध दिवस रहेको र पार्टीको कार्यक्रम रहेको बताउँदै सभामुखलाई बैठक स्थगित गर्न दबाब दिएको स्रोतको भनाइ छ ।

प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अर्जुनबहादुर थापाले सांसदहरुको उपस्थिति कम हुने भएकाले स्थगित गरिएको बताए ।

‘सत्तारुढ दलका सांसदहरूले जनयुद्धमा सहिद दिवस मनाउने कार्यक्रम छ । हामी उपस्थित हुन सक्दैनौं होला भन्नु भयो । उहाँहरू उपस्थित हुन नसक्ने अवस्थामा बैठक सञ्चालन हुन सक्ने अवस्था न्यून हुन्छ त्यसैले स्थगित गरिएको हो’ उनले भने ।

प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सांसद भरत खड्काले पूर्वनिर्धारित संसद बैठक रोकिनु उपयुक्त नभएको प्रतिक्रिया दिए । ‘हिजो सदन सकिएको ३० मिनेटमै सदन स्थगित भएको सूचना आएको थियो’ उनले भने, ‘सामान्य विषयमा सदन स्थगित गर्नु ठीक होइन ।’

बिहीबारको प्रदेश सभा बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले प्रस्तुत गरेको निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment