Comments Add Comment

जनयुद्धका घाइतेलाई प्रचण्डको आग्रह : एनजीओको पछि नलाग्नुस्

१ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गरेका छन् ।

बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको बताए । हिजो कांग्रेस, पूर्वएमाले र पूर्वमाओवादीले एकअर्कालाई कमजोर देखाउन खोज्दा सत्य निरुपण र वेपत्ता आयोगमा ६४ हजारबढी मुद्दा परेको भन्दै उनले भने ‘समझदारी भएको भए २ हजार, २५ सयमा झार्न सकिन्थ्यो ।’

अन्तर्राष्ट्रिय समुदायमा पनि दुई थरी मत रहेको भन्दै उनले कतिपयलाई शान्ति प्रक्रियाका बाँकी काम २०/२५ वर्ष नटुंगिओस्, खेल खेल्न पाइराखियोस् र केही मान्छेलाई लाभ दिने उद्योग चलाइराख्न पाइयोस् भन्ने लागेको सुनाए ।

‘घाइते योद्धाहरुको सानोसानो टिम बनाउने, लिएर हिँड्ने र एउटा खेती गर्ने । तपाईहरुलाई चाहिँ कार्यक्रममा ख्वाइदियो, प्याइदियो । मोटो रकम चाहिँ चलखेल गर्ने आईएजीओवादीहरुले नै लिने उद्योग चलिरहेको छ’ प्रचण्डले भने ।

अब यो उद्योग राखिराख्न हुन्न र शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ भन्नेमा पार्टीहरु र सरकार सहमत भएको नेकपा अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘अब कोही विदेशी गैरसरकारी संस्थाले यो गरिदिन्छौं, त्यो गरिदिन्छौं, यहाँ जानपर्‍यो, त्यहाँ जानपर्‍यो भन्यो भने त्यसको पछि नलाग्नु होला ।’

घाइते तथा अपाङ्गहरुलाई जे गर्नुपर्ने हो दलहरु र सरकारले गर्नुपर्ने भन्दै उनले छिट्टै परिचयपत्र, राहत प्याकेज दिइने आश्वासन दिए ।

अहिले कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्न तयार छौं भनेर आएको र केहीले करिव एक हजार घाइते तथाअपाङ्गलाई विदेश लैजाने बताएको प्रचण्डले सुनाए । २०० जतिलाई तुरुन्तै लैजान्छौं भनेको भन्दै उनले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment