Comments Add Comment

ठाकुरराम क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलित

१ फागुन, वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । करारमा नियुक्ति गर्नुपर्ने, बाँकी रहेको पारिश्रमिक फछ्र्यौट गर्नुपर्ने लगायतका माग राख्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । माघ २९ गतेदेखि तीनै सिफ्टको कक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले बिहीबारदेखि क्याम्पसमा धर्ना सुरु गरेका छन् ।

ठाकुरराममा पुराना ३२ र नयाँ ७ जना आंशिक प्राध्यापक कार्यरत छन् । १३ वर्षदेखि आंशिक रुपमा कार्यरत प्राध्यापकहरुको समस्या समाधानका लागि क्याम्पस प्रमुख लगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको भएपनि सुनुवाई नभएको उनीहरुको भनाइ छ । पछिल्लो पटक आंशिक प्राध्यापकहरुले माघ २३ गते क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए ।

विनाशर्त करार सेवामा लैजाने व्यवस्था नभएसम्म आन्दोलन जारी राखिने आंशिक प्राध्यापक संघ ठाकुरराम बहुमुखी क्याम्पसपका एकाई अध्यक्ष तेजनारायण प्रसाद यादवले बताए । ‘एउटा पिरियडको ३६० रुपैयाँ मिल्छ, त्यसमा पनि १३ प्रतिशत भ्याट काटिन्छ,’ अध्यक्ष यादवले भने, ‘वर्षमा दुई पटक दशैं र फागुपूर्णिमामा पैसा दिन्छन् । त्यहि पनि हिसाब फछ्र्यौट गर्दैनन् । दिउँला दिउँला भनेर टारिदिन्छन् ।’

मनपरी ढंगले क्याम्पस चलाउँदा समस्या देखिएकोले समाधानका लागि आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ । ‘करार गर्ने भनी पटक पटक सम्झौता भएका छन् । तर कार्यान्वयन गरिएको छैन,’ अध्यक्ष यदवले भने, ‘ मनपरी ढंगले क्याम्पस चलाउँछन् । सबै कामका लागि पैसा हुन्छ हामीलाई दिन हुँदैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment