Comments Add Comment

के आज साँच्चै ‘जनयुद्ध’ दिवस हो र !

नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसकोअवसरमा आयोजना गरेको कार्यक्रम

बिहानबिहानै सामाजिक सञ्जाल फेसबुकमा ‘जनयुद्ध दिवसको शुभकामना’ भनेका म्यासेजहरु पोस्याइएका देखिए । ती पोस्टहरुमा तर्क–बितर्क–कुतर्क, समर्थन–बिरोध, तँत–मम गरेको पनि देखियो । पक्ष र विपक्षमा निकृष्ठ शव्दहरु पनि प्रयोग भएका पाइए ।

सामाजिक सञ्जालमा यो दोहोरी देखेपछि त्योबेलाको याद आयो, जतिबेला दुईटा वन्दुकहरु छिचोल्दै ग्रामिण समुदायको वास्तविक अवस्था बुझ्न गाउँतिर गइन्थ्यो । ‘प्रतिक्रियाबादी सत्ताका पत्रकारहरु’, ‘ज्ञानेन्द्र शाहीका मतियारहरु’ भन्ने आरोप खेपिन्थ्यो । एक गाउँबाट अर्को गाउँ जाँदा ‘पास नलिई जान पाइँदैन’ भनेर टोकाइ खाईन्थ्यो ।

जसोतसो जनताको घरमा पुगिन्थ्यो । तर, जनताले पनि विश्वास गर्दैनथे । त्यतिबेला गाउँमा जाने कि त माओवादी हुन्थे, कि शाही सेना । कहिले माओवादी भेषमा शाही सेना पनि जान्थे । जनताले सुनाउँथे माओवादी भेषमा आएका शाही सेनाले पहिले माओवादी हुँ भन्दै सबै कुरा सोधेपछि चिर्पटले कुटे, बन्दूकको नाल निधारमा तेस्र्याए ।

ती दिनहरुको सम्झना फेरि एकपटक आयो, जब पत्रकारहरुले जिल्ला सदरमुकाम बाहिर कतै जाँदा ‘युनिफाइड कमाण्ड’ ले चियो चर्चो गथ्र्यो । फर्केर आउँदा कहाँबाट आएको, के आएको, कस–कसलाई भेटेको, किन भेटेको जस्ता प्रश्न तेस्र्याउँथ्यो ।

सामाजिक सञ्जालमा छेडिएको ‘जनयुद्ध’ शब्दको यो बहस शाब्दिक रुपमा असान्दर्भिक होला । तर, बिषयवस्तुको उठानका हिसावले हेर्दा महत्वपूर्ण हो ।

२०५१ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले ‘राजनीतिक शक्ति बन्दुकको नालबाट निस्किन्छ’ भन्ने मान्यताका साथ ‘सशस्त्र बिद्रोह’ सुरु ग¥यो । १९ दिने जनआन्दोलनको समापनसँगै ‘जनयुद्ध’ का गतिविधिहरु मत्थर भए पनि विधिवत् रुपमा ‘सशस्त्र बिद्रोह’ ०६३ साल मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौताबाट अन्त्य भयो ।

यो हिसाबले १२ बर्षसम्म चलेको यो बिद्रोहका क्रममा मारिएका सत्तापक्ष र बिद्रोही पक्षका लडाकुहरु, संघर्षरत दुवै पक्षले सुराकीको आरोपमा, खाना खुवाएको आरोपमा, बास दिएको आरोपमा, बाटो देखाइदिएको आरोपमा, छोराछोरी सुरक्षाकर्मी वा माओवादी भएको आरोपमा हत्या गरेका सर्वसाधारणहरु र संघर्षका बेला भएको अपराधमा न्याय माग्दामाग्दै ज्यान गुमाएका अपराधपीडितहरुप्रति हार्दिक श्रदासुमन छ ।

ज्यान जोखिममा राख्नै बिद्रोहमा होमिएर बाँच्न सफल भई नाफाको जीवन बिताईरहेका योद्धाहरुप्रति उच्च सम्मान छ । दुवै पक्षले बेपत्ता वनाएका व्यक्तिहरुको अद्यावधिक अवस्थाको सूचना उनका परिवारहरुले यथासिघ्र पाउन र जनयुद्धको नाममा र जनयुद्ध दवाउने नाममा लाठी, मुड्की, वम र वन्दुकको गोलीबाट अंगभंग भएका सर्वसाधारणहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ ।

बिद्रोहमा कतिजनाको ज्यान गयो, कति अंगभंग भए, कति वेपत्ता भए यसको लेखाजोखा त तत्कालीन सत्तापक्षले राख्यो न तत्कालीन विद्रोही पक्षले । अहिले कसैले १३ हजार, कसैले १५ हजार त कसैले १७ हजार मारिएको भन्छन् । हुन त सशस्त्र विद्रोहको समाप्तिपछि मृत्यु भएकाहरुलाई समेत ‘जनयुद्ध’कै क्रममा मारिएका, जनआन्दोलनमा कुनै जुलुशमा नदेखिएकाहरु समेत ‘जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका भन्दै ‘शहीद’ घोषणा भएको देश हो हाम्रो, त्यसकारण यथार्थ तथ्याङ्क कसैसँग नहुनु स्वभाविकै होला ।

खैर, बिषय आजको दिन अर्थात् फागुन १ गते जनयुद्ध दिवस हो वा होइन भन्ने हो । विस्तृत शान्ति सम्झौता हुँदा, नेपालको अन्तरिम संबिधान जारी हुँदा र संबिधानसभाबाट नयाँ संबिधान बन्दा पनि यो शव्दले निकै चर्चा पाएको हो । अन्ततः ‘सशस्त्र संघर्ष’ भन्नेमा सहमति भयो र सोही अनुसार लेखियो पनि । तर तत्कालीन बिद्रोही पक्षले यसलाई उहिले पनि अहिले पनि ‘जनयुद्ध’ नै मान्दै आयो ।

गत बर्षदेखि यो ‘जनयुद्ध’ मा नयाँ रोचकता थपिएको छ । कुनै बेला जनयुद्धको ‘ज’ समेत उच्चारण गर्न नचाहने राजनीतिक समूह पनि ‘जनयुद्ध’ मनाउने समूहमा मिसिएपछि यसमा थप रोचकता आएको हो । ‘आतंककारी’ भनेर तत्कालीन संसदबाट अनुमोदन गराउन सहयोग पु¥याउनेहरुले पनि तीन दिनसम्म जनयुद्ध दिवस मनाउनका लागिकार्यकर्ताहरुलाई सर्कुलर गरे । यो पनि राजनीतिक बिषय होला ।

अव जनयुद्ध हो वा होईन भन्ने बिषयतिर लागौं । बृहत राजनीतिक शव्दकोषले ‘सबै तहका जनता मिलि गरेको वा भएको संघर्ष, युद्ध वा आन्दोलन’ लाई जनयुद्ध भन्छ । त्यस्तो युद्ध आफुमाथी भएको अन्याय, अत्याचार बिरुद्ध जनताले स्वयं लड्छन् ।

चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङले ‘क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर र उनीहरुमाथी भर परेर जनयुद्ध सञ्चालन गर्न सकिन्छ’ भनेका छन् । उनले जनतालाई अजय र फलामे किल्लाको संज्ञा दिएका छन् ।

नेपालमा तिनै माओको नाममा राजनीतिक समूह वनाएर उनकै बाटोमा हिड्ने भन्दै सशस्त्र बिद्रोह सुरु गरेको समूहले के आफ्नो बिद्रोहमा जनतालाई त्यो स्थान दिए त ?माथी उल्लेखित थुप्रै बाधा व्यवधानहरुको सामना गर्दै जव जनतासंग कुरा गर्न पाईन्थ्यो, त्यतिवेला जनताले बास्तविक पीडा पोख्थे । भयका वीचमा रुदै आफ्ना पीडाहरु पोख्दा सायद उनीहरुको मन हल्का हुन्थ्यो होला । तर, आफ्नो मन भने कटकटी दुख्थ्यो ।

साँझ पर्नेबित्तिकै घरमा आएर आदेश गर्थे रे, यति जनालाई खाना पकाउनु भनेर । नाई भन्ने शव्द सन्न चाहदैनथे रे । जिल्ला सदरमुकाम आउनु प¥यो वा गाउँबाट अर्को गाउँमा जानु प¥यो भने अनुमति लिनु पथ्र्यो रे । गाउँमा बस्नेले ‘जनमिलेसिया, गाउँ जनसरकार, वडा जनसरकार, किसान संघ, अर्को संघ कुनै एकको सदस्यता लिनै पर्ने वाध्यता थियो रे । यदि कसैले सदस्यता लिन चाहेन भने उसलाई दुस्मनको कित्तामा राखिन्थ्यो रे । खेतमा काम गर्न गएका किसानहरुलाई उतैबाट “अभियान” मा लगिन्थ्यो रे । निशस्त्र सर्वसाधारणलाई लडाइँमा ढाल बनाइन्थ्यो रे ।

विद्यालयमा पढाइरहेका बेला शिक्षकलाई बिद्यार्थीहरु सहित अभियानमा जान उर्दी गरिन्थ्यो । सात सात दिनसम्म कलिला बालबालिकाहरुलाई हिडाईन्थ्यो । यस्तै पीडाले कयौं बालबालिकाहरु बिद्यालय छोडेर सानै उमेरमा मुग्लान पसेका उदाहरणहरु छन् । भनेको नमान्नेलाई ‘श्रम शिविर’ का नाममा यातना दिईन्थ्इो रे । यस्ता थुप्रै विषयहरु छन् त्यतिबेलाका । त्यसैले माओले भनेको जस्तो वा बृहत राजनीतिक शव्द कोषले भनेजस्तो जनयुद्ध तत्कालीन नेकपा माओवादीले चलाएको ‘जनयुद्ध’ होइन ।

यसो भनिरहँदा सशस्त्र बिद्रोहबाट कुनै सकारात्मक उपलव्धी भएन भन्ने अर्थ होईन । ग्रामिण समुदायमा राजनीतिक चेत फैलाएको थियो, छाउपडी, जातीय छुवाछुत जस्ता सामाजिक बिभेद्हरु न्यून गर्नका लागि अहम् भूमिका निर्वाह गरेको हो । ग्रामिण क्षेत्रमा कतिपय छोटे राजाहरुलाई पनि तह लगाएको थियो, जनतासंग चर्को व्याज लिने, व्याज तिर्न नसके घरजग्गा कव्जा गरेर गरीवहरुलाई भूमिहिन वनाउने, पुरै समुदायलाई जातको नाममा, धर्मको नाममा, परम्पराको नाममा मुट्ठीमा राख्नेहरुलाई पनि तह लगाएको थियो सशस्त्र बिद्रोहले । हालांकी यो अभियान दिगो रहन सकेन ।

“भय” देखाएरै भएपनि कतिपय असमानताहरु अन्त्य सफल भएको हो । त्यतिमात्रै होईन् राजतन्त्रको समाप्तीका लागि भएको १९ दिने जनआन्दोलनको जग बलियो वनाउनमा पनि त्यो सशस्त्र बिद्रोहले ठुलो योगदान दिएको हो । त्यसैले यो बिद्रोहले केही गरेन भन्ने बिषय होईन ।

यद्यपि, बन्दुकको नालबाट सत्ता कव्जा गर्ने र समाजमा रहेका तमाम बिभेद्हरु, अभावहरु, अन्यायहरु अन्त्य गर्दै समाजबादी राज्य व्यवस्था स्थापना गर्ने सपना सहित टाउकोमा काक्रो बाँधेर ‘जनयुद्ध’ को नाममा खुकुरीको धारमा हिँडेका सच्चा योद्धाहरु नै अहिले पछुताउनुपर्ने अवस्था छ । कोही खाडीको ४५ डिग्री तापमानमा रगत सुकाउँदैछन्, कोही भारतका गल्ली–गल्लीमा डण्डा ठटाउँदैछन् । कोही दिउसोभरि गिट्टी कुटेर साँझ बिहानको छाक टार्दैछन् । कमाण्डरको आदेशमा आफ्नै दाजुभाइको घाँटी रेटेका, खुट्टा छिनालेका, आँखा फुटाएका घटनाहरु झलझली सम्झदै रुन्छन् उनीहरु ।

यता ‘जनयुद्ध’ कै नाममा विद्रोहकालमै लुटपाट मच्चाएकाहरु, आज पनि पार्टीभित्र र सत्तामा मसिहा बनेका छन् । सशस्त्र विद्रोहको औपचारिक समाप्तिपछि अवसरको खोजी गर्दै पार्टीभित्र छिरेकाहरु अहिले सच्चा क्रान्तिकारी, जनयुद्धका हिमायती भएका छन् । उनीहरु नै अहिले नेतृत्वका भित्रिया भएका छन् । सत्ता र शक्तिको वरिपरि घुमेर अकूत सम्पत्ति आर्जन गरेकाहरु नै नेतृत्वका हनुमान छन् । यदि नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो कार्यकर्ताको सम्पत्ति छानविन गर्ने हिम्मत गर्ने हो भने ठुलै राशी जम्मा हुन्छ होला ।

त्यसैले करीव १२ बर्षसम्म चलेको यो बिद्रोह ‘जनयुद्ध’ होइन, कुनै एउटा समूहले चलाएको सशस्त्र बिद्रोह मात्रै हो । यसमा न त आम जनताको संलग्नता थियो, न आम जनताको समर्थन थियो, न यसले घोषित लक्ष्य पूरा गर्न सक्यो । त्रासपूर्ण वातावरणमा पार्टीका सभाहरुमा सर्वसाधारणको उल्लेख्य सहभागिता हुनुलाई जनताको सहभागिता वा समर्थन भन्न मिल्दैन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment