Comments Add Comment

सांसदको प्रस्ताव : जनविरोधी कानून टुँडिखेल लगेर जलाऔं

‘निर्वाचित हुँदाको जोश जाँगर र रापताप हराइसक्यो’

१ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपट रावलले कर्मचारीतन्त्र र पुराना कानूनका कारण विकासले अपेक्षित गति लिन नसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले जनविरोधी कानून टुँडिखेल लगेर जलाउने र काम नगर्ने कर्मचारीलाई बिदा गर्नुपर्ने बताए ।

बैठकमा सांसद रावलले भने :

‘एउटा प्रस्ताव गर्न चाहन्छु, अठोट गरौं– काम गर्दा कर्मचारीहरुले गर्न नदिने र हामी, मन्त्री, जनप्रतिनिधिले काम नगरिदिने प्रवृत्ति छ । निर्वाचित हुने भनेको जनताको लागि होला नि त । त्यसकारण जहाँ जहाँ जुन जुन कानुन बाधक छ त्यो कानुन र जो जो कर्मचारी बाधक छ, काम गर्दैन यिनीहरुबारे एक पटक सोचौं ।

आँट गरौं, ती कर्मचारीलाई बिदा दिऔं निर्मम ढङ्गले र जुन जुन कानुन जनविरोधी छ, विकास विरोधी छ, विकास र प्रगतिको अवरोध छ, ती कानुनलाई एउटा बोरामा हालेर टुँडिखेलमा लगेर जलाऔं ।’

विभिन्न कानुनी र व्यक्तिका प्रवृत्तिगत समस्याका कारण निर्वाचित हुँदाको जोशजाँगर र रापताप हराउँदै गएको सांसद रावलको स्वीकारोक्ति छ । मन्त्रीलाई भेट्न नपाएको, सचिव, सहसचिव, उपसचिवको चाकरी गर्नुपरेको उनको दुखेको छ ।

‘मुलुकको नियम, नीति, थितिको दोष हो कि हाम्रो नियती नै यस्तै हो ! जुन जोश जाँगर, राप, ताप निर्वाचित भइसक्दा थियो यहाँ आउँदा … मेरा थुप्रै जुत्ताहरु मन्त्रालय धाउँदा धाउँदा फाटेका छन्’ उनले भने ।

सांसद रावलले अगाडि भने ‘उपसचिवज्यू भन्दै चाकरी गर्न जानुपर्ने, सहसचिवज्यू भन्दै चाकरी गर्न जानुपर्ने, सचिवज्यूको त फोन गर्दा उठ्दैन । मन्त्रीज्यूसँग भेट्न गाह्रो विषय हो । हामी जनप्रतिनिधिको हालत यस्तो छ भने सेवाग्राही नागरिकहरुको हालत के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment