Comments Add Comment

अतिस : सामान्य देखिने औषधीय गुणले भरिपूर्ण जडिबुटी

आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस । हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो । प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधीय गुणको बारेमा उल्लेख गरेको छ ।

यस्तो किसिमको जडिबुटी हामीले जतात्यतै देख्न सक्छौं । तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका हुन्छौं । एकातर्फ हामी यस्ता जडिबुटीलाई गाईबस्तुको खानाको रुपमा प्रयोग गरिरहेका हुन्छौं भने अर्काे तर्फ गुमेको तागत वा आलस्यता जस्ता समस्यालाई शरीरमा पालेर बसेका हुन्छौं ।

दाँत दुख्दा प्रयोग गर्ने औषधिको लागि हामी हजारौं रुपैयाँ खर्च गरेर अस्पताल धाउने गर्छाैं । रक्तचाप नियन्त्रणको लागि होस् या बच्चाहरुको सामान्य उपचारको लागि नै किन नहोस् । जडिबुटी अति आवश्यक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । तर, यसको प्रचुर मात्रामा प्रयोग हुन नसकेको सरकारी अधिकारीहरु बताउँछन् ।

यो प्रजाति नेपालको हिमालय क्षेत्रमा ३२०० देखि ३७०० मिटरसम्मको उचाईमा बढी पाइन्छ । यो झाडी बुट्यान भएको र घाँसे मैदानमा पाइन्छ । यसमा रहेको गानोलाई विभिन्न आकारमा तयार पारेर व्यापार गर्न सकिन्छ । यसको धेरै व्यापार हुने पनि गरेको छ । यस्तो गानोलाई फल पाकेपछि संकलन गरेर त्यसको डाँठलाई पनि मुठो पारेर बिक्री गर्ने गरिन्छ । यसको गानोलाई संकलन गर्ने उपयुक्त समय भनेको फल पाकेपछि कार्तिकदेखि मंसिरसम्मको समय हो ।

आकार

आकारको हिसाबले यो एकदेखि ३ मिटरसम्म अग्लो हुने गर्छ । यो झार वर्गमा पर्ने बहुवर्षिय य वनस्पति हो । यसैलाई कतैकतै अतिसजरा पनि भन्ने गरिन्छ । पातमा विभिन्न रेसेदार खण्डहरु हुने गर्छ । यसको पात ४ देखि ५ खण्डमा मिलेर फाटेको हुन्छ । यसको जराको स्वाद तीतो हुन्छ । यसको जरा एकदेखि १.५ से.मी. जति व्यास भएको, फेदतिर मसिनो हुँदै आएको छ । थोरै हाँगाबिँगा भएको, गानोबाट स-साना जरा निस्किएको खैरो रंगको बोक्रा भएको समेत हुन्छ । यसको गानोमा एटिसिन नामक वानस्पतिक रसायन पाइन्छ ।

चरक संहिता र सुश्रुत संहिताका अनुसार कफ, पित्त थैलीको समस्या आदिमा अतिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । अतिसको माध्यमबाट उपचार गरिने उपचार पद्धतिलाई अतिभिसा चिकित्सा पद्धतिको नामबाट चिनाउने गरिन्छ ।

यो चिकित्सा पद्धतिमा बच्चाहरुलाई आएको ज्वरो, वान्ता हुने, पखाला लाग्ने, कफ, चिसो लागेको जस्तो समस्या समाधानको लागि प्रयोग गर्न सकिने ती दुई संहितामा उल्लेख गरिएको छ । यसका बाहेक यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई र शरीरको आन्तरिक समस्याहरु, उत्तेजना नहुने जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्धतिको रुपमा प्रयोग गरिने उल्लेख छ ।

बिरुवाको स्वरुप

प्रत्येक खण्ड अझ बढी फाटेको, ५ देखि १० से.मी. गोलाइको, तल्लो पातमा भेट्नु भएको र माथिल्लो पातमा भेट्नु नभएको हुन्छ । माथि तिरको पातमा धेरै खण्ड हुँदैन । फूल हल्का झुस भएको, गाढा निलो रंगको हुन्छ र यसमा प्याजी रंगको नशाहरू हुन्छन् । फूल जेठ असारमा फुल्छ र श्रावण भाद्रमा फल लाग्छ ।

यसको गानोलाई खोकी र ज्वरोमा प्रयोग गरिन्छ । अतिस जरा तागत र फुर्ति बढाउने औषधीको रूपमा पनि प्रयोग गरिन्छ । यो दाँत दुख्दा तथा रक्तचाप नियन्त्रण गर्नपनि प्रयोग गरिन्छ । कालकूट प्रजातिका धेरै बिरुवाहरु विषालु हुने भएकोले यसको प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्छ र यकीन नभईकन कहिलै पनि प्रयोग गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment