Comments Add Comment

सेवाग्राहीलाई एक्लै प्रहरी कार्यालय आउने वातावरण बनाउँछु : एसपी पन्त

२ फागुन, वीरगञ्ज । प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जिल्ला प्रहरी कार्यालय पर्सामा सेवाग्राही एक्लै नआउने गरेको बताएकी छन् । कार्यालय प्रमुख बनेर जिल्लामा आएको नवौं दिन शुक्रबार पर्सेली पत्रकारहरुसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।

‘जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर म आएको ९ दिन भयो, यहाँ कुनैपनि सेवाग्राही एक्लै सेवा लिन नआउने रहेछन, कसै न कसैलाई साथमा लिएर मात्रै आउनुहुन्छ,’ एसपी पन्तले भनिन्, ‘किन त्यस्तो भएको हो बुझेर उहाँहरुलाई एक्लै आउन सक्ने वातावरण बनाउँछु । उहाँहरुले सोचेको जस्तो प्रहरी संगठन छैन भन्ने विश्वास दिलाउँछु ।’

उनले ‘प्रोएक्टीभ पुलिसिङ’ मार्फत थुनुवा कक्ष सँधै खाली राख्न सकियोस भन्ने तर्फ आफू लागि पर्ने बताइन् । ‘गैरकानुनी गतिविधि गर्ने मानिसहरु प्रहरी संगठनसँग खुशी हुँदैनन् । सहयोग पनि गर्दैनन्,’ उनले भनिन्, ‘प्रहरी एक्लैले केही गर्न सक्दैन, स्थानीय तह र नागरिकसँग मिलेर समाजमा शान्ति सुव्यवस्था कायम गर्ने हो । थुनुवा कक्षा भरीभराउ हैन खाली रहोस् भन्ने हाम्रो चाहना हो ।’

१ सय ७ किलोमिटर खुल्ला सीमा पर्साको सुरक्षा व्यवस्थामा मुख्य चुनौती भएपनि अन्य सरोकारवाला निकायसँग मिलेर सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्ने उनको भनाइ छ । ‘ सामाजिक र भौगोलिक बनौट अनुसार चुनौती फरक–फरक हुन्छ । प्रहरीले चुनौतीसँग खेल्ने नै हो । पर्सामा खुल्ला सीमा मुख्य चुनौती हो,’ एसपी पन्तले भनिन्, ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि भन्सार र सशस्त्र प्रहरीसँग मिलेर काम गछौं, नाकाका युनिटलाई सशक्त बनाउँछौं ।’

यो पनि पढ्नुहोस अन्ततः चितवनमा नयाँ एसपी पठाइए, पन्त पर्सामा

सञ्चारकर्मी सामु उनले भ्रष्टाचारमा ‘शुन्य सहनशीलता’ नारामा मात्रै होइन व्यवहारमा उतार्ने अठोट गरिन् । गत पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ जना एसपीको सरुवा गर्दा एसपी पन्तलाई चितवनमा पठाइएको थियो । तर राजनीतिक वातावरण नमिलेपछि २१ माघमा पर्सामा सरुवा गरिएको हो । पर्सा जिल्लाले पहिलो महिला प्रहरी प्रमुखको रुपमा पन्तलाई पाएको छ ।

फेसबुक कमेन्टका कारण विवाद र चर्चामा आएकी पन्त व्यवसायिक प्रहरी अधिकृतको रुपमा परिचित छिन् । पर्सामा कार्यरत एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गरिएपछि उनी पर्सा आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment