Comments Add Comment

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२ फागुन, काठमाडौं । सडक डिभिजन कार्यालय विराटनगरका तत्कालिन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरको कार्यालय प्रमुख पदमा रहँदा सिनियिर डिभिजनल इन्जिनियर चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट बिभिन्न मितिमा ३५ लाख रुपैयाँ घुस लिएर श्रीमतीको खातामा रकम जम्मा गरेको आरोपमा अख्तियारले उनीविरुद्ध शुक्रबार मुद्दा दायार गरेको हो ।

अनुसन्धानको क्रममा चौधरीले बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम सुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट गैरकानुनी तरिकाले कमिसन लिएर श्रीमतीको खातामा जम्मा गरेको पाइएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पेट्कु खानेपानी आयोजनाको ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध पनि विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

वडाध्यक्ष थापासहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्र बहादुर तितजु, तत्कालीन असिस्टेन्ट सवइन्जिनियर लिल बहादुर पाण्डे, लिसंखुपाखर गाउँपालिका-५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष थापाले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफैं बनी कुनै पनि कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्र किर्ते गरी रकम भुक्तानी लिएको उजुरीको आधारमा उनीसहित ६ जनामाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

वडाध्यक्ष थापाले पेट्कु खानेपानी आयोजना र मायाखोला मुहानलाई एउटै आयोजनासँग समावेश भएको हो भनी गैरकानूनी तवरले उपभोक्ता समितिको अध्यक्ष आफैं बनेर ६ लाख रुपैयाँ आयोजनाको काममा खर्च नगरी भुक्तानी लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पाख्रिन र तितजुले गैर जिम्मेवारीपूर्ण रुपमा गलत कागजातलाई आधार बनाई उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष थापासँग मिलेर भुक्तानी लिन सहयोग गरेको देखिन आएकोले दुबै जनाविरुद्द पनि मुद्दा दायर गरिएको कोइरालाले बताए ।

असिस्टेन्ट सव-इन्जिनियर पाण्डेले आयोजनालाई छुट्याइएको रकम भूक्तानीका लागि गलत प्रतिवेदन तयार पारेको आरोप अख्तियारको छ ।

जोशी र श्रेष्ठको हकमा भने अख्तियारले वडाध्यक्ष थापासँग ४ लाख १० हजार लिई उक्त रकम दुबै जनाको सहमतिमा दल बहादुर श्रेष्ठको व्यक्तिगत खातामा राखेको आरोप लगाएको छ । उक्त रकम मध्ये खानेपानीका लागि १ लाखको पाइप किनेको र बाँकी रकम ३ लाख १० हजार श्रेष्ठको व्यक्तिगत खातामा राखेर व्यक्तिगत लाभ लिई राज्यलाई हानीनोक्सानी गरेको दाबी अख्तियारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment