Comments Add Comment

चिराईंतो : बहुउपयोगी जडिबुटी

ज्वरो, रुघाखोकी, घाउ खटिरा, खानाको स्वाद नआउने वा रुचि नबढ्ने जस्ता समस्याहरु छन् ? आयुर्वेदिक चिकित्सकहरु यस्तो अवस्थामा आयुर्वेदिक औषधिको प्रयोगबारे केही ज्ञान छ भने सिधैं चिराईंतोको बन्दोबस्त गर्न सुझाव दिन्छन् । परापूर्वकालदेखि व्यवहारिक प्रयोगमा आधारित भएर तयार पारेको आयुर्वेद विज्ञानका अनुसार चिराईतो एककिसिमको बहुउपयोग जडिबुटी हो ।

यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाव थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अतिउपयोगी रहेको चिकित्सा विज्ञानमा उल्लेख गरिएको छ । चिराइतोको वैज्ञानिक नाम स्वेर्तिया चिराईता हो । यसलाई नेपालमा ठाउँ अनुसार चिराइतो, तिते, चरैतो, चिरैता, तिक्ता आदि नामले चिनिन्छ । संस्कृत भाषामा यसलाई चिरतिक्त वा किराततिक्त भनिन्छ । त्यसकारण सुश्रुत संहिता र चरक संहितामा यसको नाम चिरतिक्त उल्लेख गरिएको छ ।

कस्तो हुन्छ चिराईंतो

चिराईतोका बोटहरु करिब आधा मिटरदेखि १.५ मिटरसम्म अग्ला हुन्छन् । डाँठको फेद गोलाकार र माथिथिर चारकुने परेको आकारको यो शितोष्ण हिमालयको काश्मीरदेखि भुटान र भारतको मेघालयदेखि खासिया पहाडसम्म फैलिएको छ । नेपालमा भने यसको प्रयोग समुद्री सतहदेखि १२०० देखि ३००० मिटर उचाईसम्मको भूभागमा भरसक पारिलो घाम लाग्ने, छाया पर्ने र दक्षिण तर्फ फैलिएको मलिलो माटो भएको ठाउँमा यो पाउन सकिन्छ ।

चिराईतोको नर्सरी

यसलाई व्यवसायिक रुपमा खेती गर्दा यसलाई सबैभन्दा पहिले नर्सरी तयार पार्नुपर्छ । नर्सरीको लागि जग्गा तयार पार्दा भरसक माथि उल्लेख गरिएको जस्तै पारिलो घाम लाग्ने, छाया पर्ने र दक्षिण तर्फ फैलिएको मलिलो माटो भएको जमिन उपयुक्त हुने गर्छ । साथै, नर्सरीको लागि पानीको सुविधा र आफूले रेखदेख गर्नसक्ने ठाउँ पनि आवश्यक हुने गर्छ । नेपालको करिब ४० वटा पहाडी जिल्लाको पूर्व र पश्चिम फर्किएका ठाउँहरुमा यो पाउने गरिन्छ ।

चिराईतोको विशेषता

चिराईंतोमा पाइने मुख्य तत्व चिरेटिन हो । चिराईतो यस्तो जडिबुटी हो । जसको सम्पूर्ण भाग औषधीय हिसाबले महत्वपूर्ण मानिन्छन् । स्थानीय स्तरमा मलेरिया ज्वरो आउँदा यसलाई पानीमा भिजाई यसको रस बिरामीलाई पिउन दिइन्छ । चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व समेत हुन्छ । जसले कपाललाई लामो बनाउन समेत मद्दत गर्छ ।

प्राणघातक रोग क्यान्सरका बिरामीहरुको लागि बन्ने औषधि र औलो ज्वरोको लागि पनि चिराईतोको प्रयोग गर्ने गरिन्छ । आजभोलि बियर कम्पनीहरुले समेत यस्तो औषधि बनाउने गरेको पाइन्छ । यसको अर्काे विशेषता भनेको एउटै फूलमा भाले तथा पोथी दुबै योनीहरु पाइन्छ । यसको बिउ कोसामा लाग्छ । कोसाहरु अण्डाकार हुन्छन् । यिनै कोसाभित्र धेरै कोण भएका मसिना बिउहरु पाइन्छ । यसको स्वाद भने निकै तीतो हुन्छ ।

चिराईंतोको बिउ एकदमै सानो हुने हुँदा हावाले उडाउन सक्ने खालको हुन्छ । त्यसैले यसलाई जमाउने बेलामा एक भाग बिउमा १० भाग बालुवा राखेर छर्नुपर्छ । बिउ छर्दा ४ देखि ५ इन्चको लाइनमा राम्रो हुन्छ । यसरी राखेको बिउबाट २० देखि २५ दिनमा बेर्ना उम्रन्छ भने ९० दिनमा अंकुरण हुन्छ । त्यसको लागि कात्तिक मंसिर महिना उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment