Comments Add Comment

बले र प्रिज्माको प्रेम-चर्चा व्यापक, दुवै मौन व्रतमा !

‘सुन्दर जोडी’ भन्दै मुन्नीले दिइन् बधाई

हास्यकलाकार सागर लम्साल (बले) लाई केहीयता एउटै प्रश्नले पछ्याइरहेको छ । चिनेकाले मात्रै होइन, नचिनेकाले पनि फोन र म्यासेजमा सोधिरहेका हुन्छन्– कुरो के हो ?

कतिपयले चाहिँ सुरुमै बधाई दिन्छन् । सागर हाँसेरै टारिदिन्छन् । न बधाई ग्रहण गर्छन्, न खारेज ।

यही अवस्था छ चर्चित टिकटकर/मोडल प्रिज्मा खतिवडाको पनि । उनलाई पनि धेरैले सोध्छन्– कुरो के हो ? तर, उनी पनि मौन व्रतमा नै छिन् ।

सामाजिक सञ्जालमा यी दुईलाई प्रेमी–प्रेमिकाको रुपमा चर्चा गर्न थालिएपछि उत्पन्न भएको जिज्ञासा हो यो । युट्यूवमा त ‘अन्ततः बलेले सार्वजनिक गरे प्रेमिका’, ‘बले–प्रिज्मा अर्को वर्ष विहे गर्दै’, प्रिज्माको प्रेममा नयाँ मोड’ जस्ता हेडलाइनहरु छ्याप्छ्याप्ती भएका छन् । (धन्न, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगरहरुले चाहिँ अहिलेसम्म उनीहरुको प्रेमबारे यूट्यूवमा बहस गर्न भ्याएका छैनन् । बरु नायक सुशील श्रेष्ठले एउटा अन्तरवार्तामा ‘प्रिज्मालाई पट्याउन बलेलाई कति बल लगाउनु पर्‍यो होला’ भन्दै हचुवा प्रतिक्रिया दिएको भेटिएको छ ।)

‘जनचासो’ तीव्र भइरहँदा हामीले सागर र प्रिज्मालाई सोध्यौं– कुरो के हो ?

अहँ, जवाफ दुवैबाट आएन ।

‘प्लीज, यो विषयमा कुरै नगरौं न,’ ब्यापक लजाएको भावमा सागरले भने ।

किन ?

‘अहिले बोल्ने अवस्था छैन क्या, व्यस्त पनि छु’ भन्दै उनी टक्टकिए । सामाजिक सञ्जालमा भइरहेका चर्चाले आफू दबाव र तनावमा समेत परेको गुनासो उनले गरे ।

‘यो विषयमा अहिले बोल्यो भने फोकट्या भाइरल भइन्छ, बरु अरु कुरा गर्नुस्,’ उनको आग्रह थियो ।

प्रिज्माले पनि पटक्कै बोल्न चाहिनन् ।

‘यो बारेमा कुरा नगरौं न है, अहिलेसम्म कतै बोलेकै छैनौं,’ उनले निर्दोष पारामा भनिन् ।

०००

टिकटकमा पचास लाखभन्दा बढि फलोअर्स भएका २२ वर्षिया जुम्ल्याहा दिदी–बहिनी हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । ‘ट्वीनी गल्र्स’ भनेर चिनिने उनीहरु आजकाल म्युजिक भिडियोमा ‘मोस्ट डिमान्डेड’ बनेका छन् । आधा दर्जनजति म्युजिक भिडियोमा एकैसाथ काम गरेका उनीहरुले चलचित्र लभ डायरिजको गीतमा ‘आइटम डान्स’ पनि गरेका थिए ।

उस्तै रुपरंग भएका उनीहरुलाई धेरैले झट्ट छुट्याउन सक्दैनन् । अनुहार मात्रै होइन, बोली र हाउभाउ पनि दुवैको ‘डिट्टो’ छ । यी दिदीबहिनीमा प्रिज्मा जेठी हुन् भने प्रिन्सी कान्छी । टिकटकबाट चर्चामा आएपछि उनीहरुले भद्रगोलको एक एपिसोडमा अभिनय गरेका थिए । त्यहीँबाट सागरसँग उनीहरुको मित्रता झांगिएको थियो । त्यसपछि ट्वीनी गल्र्स र बलेले ‘रणभुल’ बोलको म्युजिक भिडियोमा पहिलोपटक एकसाथ काम गरेका थिए । उनीहरुले सँगै खेलेको दोस्रो भिडियो ‘नैना रेसम’ हालै रिलिज भएको छ ।

अफेयरको विषयमा मुख खोल्न नचाहे पनि यी दिदीबहिनीका विषयमा दुई–चार कुरा बोल्न तयार भए सागर ।

तपाईं सुटिङमा को दिदी र को बहिनी भनेर कत्तिको झुक्किनुहुन्छ ?

‘आजकाल छुट्याउन थालेको छु,’ उनले सुनाए, ‘तर पनि फुल मेकअप गर्दा चाहिँ कहिलेकाहीँ झुक्किन्छु । अरु त कति झुकिन्छन् कति ।’

दिदीबहिनीको समानता र फरकपना वर्णन गर्दै सागरले भने, ‘दिदी अलि दुब्ली र लाम्चो अनुहारको छिन् । बहिनी थोरै मोटी र गोलो अनुहारकी । हाइट उस्तै छ । नाच्ने स्टाइल र अनुहारको हाउभाउ त झन् दुरुस्तै मिल्छ । आवाज पनि खासै फरक छैन ।’

फोन गर्दा आवाज नचिनेर धेरैपटक अल्मलिएको उनले स्वीकारे ।

अनि बानी–व्यहोरा चाहिँ ?

‘बानीव्यहोरा त एकदम उल्टो छ,’ बलेले भने ।

कस्तो उल्टो ?

‘दुवै जना अनुशासित र विमन्र छन् । अरुलाई सम्मान गर्ने स्वभाव छ दुवैको । मिजासिला छन् । आपसमा पनि निकै मिल्छन् ।’

अनि, उल्टो के भयो त ?

सागर हाँसे मात्र ।

प्रिज्माको नजरमा चाहिँ सागर कस्ता छन् ?

उनी भन्छिन्, ‘मज्जाको मान्छे हुनुहुन्छ । प्रतिभावान पनि हुनुहुन्छ । उहाँसित काम गर्दा रमाइलो र सहज लाग्छ ।’

०००

सागरले फेसबुकमा ट्वीनी गल्र्ससँगको फोटो सेयर गर्दै एउटा अमूर्त स्टाटस लेखेका थिए ।

‘यो संसारमा हामी कसैले पनि एक्लो हुनु वा अनुभव गर्नु पर्दैन, तर आफ्नो सम्वन्धका प्राथमिकताहरु तय गर्ने तपाईंको हातमा छ,’ उनले त्यसमा लेखेका छन् ।

के बुझेर हो, उनको यो स्टाटसमा बधाईको ओइरो लाग्यो । अरु त अरु, ‘सक्किगोनी’ मा बलेकी प्रेमिका बनेर अभिनय गर्ने प्रियना आचार्य (मुन्नी) ले समेत ‘ब्युटीफुल कपल’ भन्दै बधाई दिइन् । उनको बधाईले गर्दा पनि यो चर्चामा मलजल गर्‍यो ।

तर, सागरले स्टाटसमा दिदीबहिनीकै नाममा लभ रियाक्ट गरेकाले कतिपय अलमलमा परे । दायाँवाली हो कि बायाँवाली ? भनेर धेरैले सोधे पनि बलेले कसैलाई रिप्लाई गरेनन् । यसका बाबजुद उनीहरुको प्रेम–चर्चा दिनदिनै बाक्लिदै गएको छ ।

‘प्रिज्मासँग नाम जोडिँदा कस्तो लागेको छ ?’ फेरि कोट्याइयो ।

‘प्लीज त्यतातिर नजाउँ न,’ सागरले हाँस्दै टार्न खोजे ।

‘धेरैले तपाईंहरुको जोडी मिलेको छ भन्छन् नि ?’ बकाउने प्रयास ।

‘हो र ?’ अलिकति हौसिएर सोधे, ‘तपाईंलाई पनि त्यस्तो लाग्छ ?’

‘अँ’ ।

सागर हाँसे मात्र ।

संस्कृतमा एउटा भनाइ छ,– मौनम् स्वीकृति लक्षणम् । अर्थात् मौनता नै स्वीकारोक्तिको लक्षण हो । के सागर र प्रिज्माको मौनतालाई यही अर्थमा लिन सकिएला ?

(संयोग हो कि के हो, बले आजकाल ‘सक्किगोनी’ मा पनि झुत्रेझाम्रे लुगा छोडेर सट पाइन्टमा चिटिक्क देखिन थालेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment