Comments Add Comment

भावी सुरक्षा चुनौतीको सामना गर्न सेनामा छुट्टै गुप्तचर सेवा : उपप्रधानमन्त्री पोखरेल

फाइल तस्वीर

६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले परिवर्तित परिस्थिति तथा भावी सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेनामा छुट्टै गुप्तचर निकाय आवश्यक भएको बताएका छन् ।

यही आवश्यकता महसुस गरेर सैनिक ऐन २०६३ लाई संशोधन गरेर सेनामा छुट्टै गुप्तचर सेवा गठन गर्न लागिएको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभामा सैनिक ऐन पहिलो संशोधन विधेयक २०७६ पेश गर्दै रक्षामन्त्री पोखरेलले भने, ‘शान्ति, द्वन्द्व  र युद्धकालीन अवस्थामा नेपाली सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गबाट बहन गर्न र परिवर्तित परिस्थिति तथा भावी सुरक्षा चुनौतीको प्रभावकारी रुपमा सामना गर्न सैनिक इन्टेलिजेन्स (गुप्तचर) लाई समयसापेक्ष आधुकिनीकरण गरी थप प्रभावकारी बनाउन आवश्यक भएको छ ।’

हाल प्रचलनमा रहेको सैनिक ऐन २०६३ मा सैनिक इन्टेलिजेन्स सेवा गठन र सञ्चालन सम्बन्धमा नियमावली बनाउन सक्ने स्पष्ट ब्यवस्था नरहेकाले ऐन संशोधन गर्न लागेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

यो पनि पढ्नुहोस सेनाको बेग्लै गुप्तचर सेवा गठन गर्ने विधेयक संसदमा दर्ता

नेपाली सेनालाई संविधान र कानुनले दिएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गर्न सैनिक इन्टेलिजेन्ससम्बन्धी हाल भइरहेको कामलाई ब्यवस्थित र थप प्रभावकारी बनाउन सैनिक इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धमा समेत एक छुट्टै नियमावली तर्जुमा गरी कार्यान्वयन गर्न सैनिक ऐन २०६३ मा संशोधन गर्न लागेको उनको भनाइ छ ।

यो विधेयक मंगलबार प्रतिनिधिसभाको बैठकमा पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment