Comments Add Comment

प्रदेश ५ को नाम मगरात राख्न संयुक्त मगर मञ्चको माग

८ फागुन, बुटवल । संयुक्त मगर मञ्च नेपालले प्रदेश ५ को नाम ‘मगरात’ हुनुपर्ने माग गरेको छ । प्रदेश ५ मगर बाहुल्य र ऐतिहासिक कालमा मगरात भूमि भएकाले प्रदेशको नाम मगरात राख्नुपर्ने तर्क मञ्चको छ ।

प्रदेश ५ को कुल जनसंख्याको १३ प्रतिशत भन्दा बढी मगर जनसंख्या रहेको छ । पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदनले पनि पहिचानका पाँच र सामर्थ्यका चार आधार वमोजिम प्रदेशको नामाकरण गर्न निर्देशन दिएको स्मरण गर्दै प्रदेशको नामाकरण मगरात हुनुपर्ने मञ्चको माग छ ।

मञ्चले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा संयुक्त मगर मञ्च नेपालका संयोजक एवं नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले सरकारले आदिवासी जनजाती महासंघसँग गरेका विभिन्न सम्झौताका आधारमा पनि यो प्रदेशको नामाकरण मगरात राख्नुपर्ने बताए ।

आफूहरुले मगरात प्रदेशका लागि ११ लाख हस्ताक्षर संकलन गरी प्रदेश सरकारलाई बुझाएको स्मरण गराउँदै रोकाले फागुन १५ सम्म माग सम्बोधन नभए प्रदेश ५ मा अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।

‘मगरात प्रदेशका लागि जस्तोसुकै मूल्य चुकाउन र आन्दोलन गर्न तयार छौं,’ उनले भने, ‘अरु प्रदेशमा जस्तो सत्तारुढ दल नेकपाले निर्णय गरेर अन्य नाम राखिए मान्य हुनेछैन ।’ मञ्चले माग सम्बोधनका लागि दबाव दिन मगरात सहितको पहिचान सम्बन्धी १२ वटै जिल्लामा भित्तेलेखन, पर्चा वितरण, प्रदेशका राजनीतिक दलर प्रदेश सांसदलाई ज्ञापनपत्र, एकसय ९ वटै स्थानीय तहमा अन्तरक्रिया लगायतका कार्यक्रम गरिने संयुक्त मगर मञ्च प्रदेश ५ अध्यक्ष विमल सारुले बताए ।

प्रदेशको नामाकरण मगरात बनाउन दबाव दिने उद्देश्यले संयुक्त मगर मञ्च र नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदले फागुन १५ गते मगर दिवसलाई आन्दोलनका रुपमा मनाउने तयारी गरेका छन् ।

मगर मञ्चमा आवद्ध प्रमुख प्रतिपक्षी कांग्रेस,समाजवादी पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा क्रान्तिकारी माओवादी निकट मगर मुक्ति मोर्चा र आदिवासी जनजाति महासंघले संयुक्तरुपमा प्रदेशका मुख्यमन्त्री,सभामुख लगायतलाई स्मरणपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment