११ फागुन, विराटनगर । मोरङ बेलबारी नगरपालिका–२ का दिलबहादुर राउतका गाला चाउरी परेका छन् । उमेर ७० लागिसक्यो । अब आराम गरेर घरमा बस्ने बेला हो तर दिलबहादुरलाई बाध्यताले टुसुक्क बस्न दिँदैन ।
उनलाई आफ्नो भन्दा पनि अपाङ्ग नाति जगतबहादुरको चिन्ता लाग्न थालेको छ ।
हुन त राउतका दुई छोरा छन् । तर दुबै कुलतमा फसे । छोरा कुलतमा फसेपछि बुहारीले छाडेर गए । दुई छोराका १६ र १० वर्षका नाति हुर्काउने जिम्मेवारी दिलबहादुरमाथि आइलाग्यो । उनीहरु मध्ये १० वर्षका जगत अपाङ्ग छन् ।
खोला छेउको ऐलानी जग्गाको कासघारी फाडेर गाउँलेले सानो टहरो बनाइदिएका छन् । टिनको टाटी र टिनकै छानो बाँसले अड्याइएका छन् । आंगनमा अपाङ्ग नातीलाई राख्न बाँसको खोर बनाएका छन् । त्यो पनि पुरानो भइसक्यो ।
जगतबहादुर दिनभरि त्यही बासको खोरमा बस्छन् । रात परेपछि भने हजुरआमा र हजुरबुबाले ओछ्यानमा लैजान्छन् । नाति स्याहार गरेर बसे विहान बेलुका छाक टार्न सक्दैनन् । त्यसैले हजुरबा–आमा नातिलाई खोरमा थुनेर काममा जान्छन् ।
दिलबहादुर ठेलामा चटपटे बेच्दै कहिले विराटचोक कहिले बेलबारी पुग्छन् ।
जन्मिएको ६ महिनापछि दाहिने आँखा देख्न नखेलेका उनको उपचारको प्रयास नगरेको पनि होइन । तर आर्थिक अभावका कारण उपचार सम्भव भएन । अहिले दाहिने आँखासहित शरीरको एक भाग चल्दैन । खाना अर्कैले खुवाइदिनु पर्छ ।
दिलबहादुर र इन्द्रमाया पहिले कोठा भाडामा लिएर बस्ने । तर भाडा तिर्न नसकेपछि काँसघारी रहेको ऐलानी जग्गामा गाउँलेले सानो टहरो बनाइदिएका हुन् ।
दिलबहादुरका अर्जुन र गुञ्जन नामका दुई छोरा छन् । तर दुबै कुलतमा फसे । ‘दुबै बुहारी कमाउन भन्दै बिदेश गएका हुन्’ दिलबहादुर भन्छन् ‘छोराले लाइन समातेनन् । त्यसैले विदेश गएका बुहारीहरुले अर्कैतिर घरजम गरे ।’
हजुरआमा इन्द्रमायाले आफूहरुको मृत्युपछि नातिको विजोग हुने अवस्था आएको गुनासो गछिन् । ‘हामी हुन्जेल त यसलाई हेर्छाैं, हामी नभएपछि के गर्ला, उनले भनिन् ।