Comments Add Comment

सेयर बजारमा एकैदिन तीन नयाँ कीर्तिमान

११ फागुन, काठमाडौं । लामो समय ओरालो लागेको बजारको अवस्थाले लगानीकर्ताहरु हैरान थिए । कुनैबेला १ हजार ८ सय ८१ को विन्दुमा पुगेको सेयर कारोबार मापक नेप्से परिसूचक लामो समय १ हजार १ सय हारहारीमा घुमिरहँदा लगानीकर्ताहरु धेरे चिन्तित बने ।

लगातार ओरालो लागेको बजारमा पछिल्लो केहि दिन सुधारको संकेत भने देखिन शुरु भएको थियो । अझ साताको पहिलो दिन आइतबार बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएर अन्तममा ६९ अंक माथिले नेप्से परिसूचक बढ्यो ।

सेयर बजारमा आइतबार नेप्से परिसूचकको वृद्धिमात्रै होइन नयाँ कीर्तिमानहरु समेत देखिएका छन् । आइतबारको काराबारले नेपालको पुँजी बजारको इतिहासमै नयाँ किर्तिमान गरेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

प्रवक्ता पराजुलीका अनुसार कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा नेपालको पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको छ । उता नेप्से परिसूचकमा पनिमा पनि बजारले आफ्नै रेकर्ड तोडेको छ ।

२ वर्षपछि परिसूचक १५०० माथि

१८८१ को बिन्दमा रोकिएर ओरालो लाग्ने क्रम शुरु भएको नेपाली सेयर बजार लामो समय १ हजार १ सयकै आसपासमा घुमिरह्यो । कहिले तल त कहिले माथि हुनु स्वभाविक भए पनि बजारले उकालो गति राम्रोसँग लिन सकेको थिएन ।

आइतबारको कारोबारपछि नेप्से परिसूचक २ वर्ष अघिको अवस्थामा पुगेको छ । २०७४ चैतमा एक हजार ५ सय माथि पुगेको नेप्से परिसूचक त्यसयता तलको तल नै रह्यो ।
आइतबार नेप्से परिसूचक ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । यो २ वर्ष अघिकै अवस्था हो । नेप्सेका प्रवक्ता पराजुलीले नेप्से परिसूचक २ वर्ष अघिको अवस्थामा बल्ल आएको बताए ।

यसदिन यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो । कारोवार भएका सबै १२ उपसमूहको सेयर नै आज उकालो लागे । बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको मात्रै रु १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको सेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ८२ लाख ६४ हजार २०६, शिखर इन्स्योरेन्स रु १० करोड ३७ लाख ४१ हजार २८१, हिमालयन डिस्टिलरी रु १० करोड ३४ लाख छ हजार १३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु नौ करोड ८२ लाख एक हजार ७६८, नागरिक लगानी कोष रु नौ करोड ७० लाख २८ हजार २०१ र प्रभु बैंकको रु नौ करोड ४६ लाख ३० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

रकम तथा संख्यामा नयाँ कीर्तिमान

आइतबार दिनभर भएको कारोबारबाट ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएका छन् । यो नेपाली पुँजी बजारको इतिहासमानै सबैभन्दा धेरै भएको नेप्सेका प्रवक्ता पराजुलीले बताए ।

यसदिन ३० हजार ४ सय ५६ कारोबारबाट कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार संख्याले पनि नेपाली पुँजी बजारको इतिहासमा नयाँ किर्तिमान कायम गरेको प्रवक्ता पराजुलीले बताए । यस अघि २३ साउन २०७६ मा कारोबार संख्यामा नयाँ रेकर्ड कायम भएको थियो ।

त्यसबेला २९ हजार ४ सय ९६ वटा कारोबार भएको थियो । त्यो रेकर्ड आज ३० हजार ४ सय ५६ पुगेर तोडिएको छ । कारोबार रकममा समेत नयाँ किर्तिमान कायम भएको छ ।
यसअघि ३ अर्ब रुपैयाँ भन्दा कमको रेकर्ड रहेकोमा आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको नेप्सेले बताएको छ ।

लगानीकर्ताका नेता भन्छन्- सोचेकै थिएनौँ
आइतबार बजार आइतबार अप्रत्सासित तरिकारले बढेको लगानीकर्ताहरुले प्रतिक्रिया दिएका छन् । नेप्से परिसूचक सुधार हुने आशा गरे पति यतिधेरै बढ्ने भन्ने सोच्दै नसोचेको सेयर बजारका लगानीकर्ताहरुले बताएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सोचेको भन्दा फरक नतिजा आएको बताउँछन् । ‘बढ्छ भन्ने त सोचेका थियौं, तर यतिधेरै बढ्छ भन्ने चाहिँ सोचेकै थिएनौं’ अध्यक्ष रौनियारले भने, ‘अप्रत्याशितले बढ्यो, तर हावाको तालमा भने बढेको होइन किन्नेले बुझेरै किनेका छन् ।’

आइतबार लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा देखिएको भन्दै उनले सबैले बुझेर नै लगानी गरेको बताए । बैंकिङ क्षेत्रको सेयर मूल्य एकदमै कम भएको भन्दै उनले लगानी गर्ने मौका यहीँ भएका कारण बैंकिङ क्षेत्र धेरैको रोजाईमा परेको हुनसक्ने बताए ।

सोमबार पनि बजार थोरै अंकले भए पनि उकालै लाग्ने रौनियारको अनुमान छ । तर नयाँ लगानीकर्ताहरुले बजारमा प्रवेश गर्दा एकदमै ध्यान दिनुपर्ने उनले बताए । बजार बढेका नयाँ लगानीकर्ताहरु हौसिने भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।

‘यतिबेला नयाँ लगानीकर्ताहरु हौसिनसक्नु हुन्छ, मेरो वहाँहरुलाई आग्रह छ हौसिनु हुँदैन’ उनले भने, ‘कम्पनीको अवस्थाबारे नबुझी बढ्दै छ भनेर लगानी गर्दा डुब्न सक्छ, बुझेरमात्रै लगानी गर्नुहुन सबैमा अनुरोध गर्न चाहान्छु ।’

नेपाल पुँजी बजार लगानकिर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि लगानीकर्ताले नसोचेको नतिजा आइतबार देखिएको बताउछन् । सेयर बजारमा मारवाडी समुदाय प्रवेश गरेको भन्दे भन्दै उनले बजारमा अप्रत्यासित सुधार आउनुको कारण यो नै हुनसक्ने बताइन् ।

बजार अब थलिने अवस्थामा नझर्ने समेत उनले बताइन् । यद्यपि, केहिदिन भित्रै बजार करेक्सन भने हुने उनले बताइन । ‘सँधै बढिराख्नु पनि राम्रो होइन, घटबढ त सामान्य कुरा नै हो’ अध्यक्ष पोखरेलले भनिन्, ‘भोलि नै त हुँदैन होला, केहि दिनमा मार्केट पक्कै करेक्सन हुन्छ ।’

सेयर बजार लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला पनि रेकर्ड नै ब्रेक गर्नेगरी बजार उकालो लाग्ला भन्ने नसोचेको बताउँछन् । आइतबार बिहानैदेखि अर्थमन्त्री परिवर्तन हुने हल्लाका कारण बजारमा केही सुधार आउने अनुमान भए पनि यति ठूलो सूधार भने नसोचेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment