फेसन भन्नसाथ हामी बजारमा चलेको ट्रेन्डलाई बुझ्ने गर्छौं । वा अरु मान्छे खासगरी सेलिब्रेटीले अपनाएको पहिरन शैलीलाई बुझ्ने गर्छौं । अरुलाई चिटिक्क र सुहाउँदो देखिएको पहिरन देखेपछि हामी लोभिन्छौं । अतः हामीपनि सोही किसिमको पहिरन शैली अपनाउने प्रयास गर्छौं । तर, एउटा व्यक्तिलाई जुन पहिरन सुहाउँछ, तपाईंलाई त्यो सुहाउँदो नहुन सक्छ । एउटा व्यक्तिको सौन्दर्य जुन किसिमको रंगले खुल्छ, तपाईंको सौन्दर्य त्यही रंगले नखुल्न सक्छ ।
तपाईंको शारीरिक बनौट, वर्ण, रुपरंगले नै यसमा निर्भर गर्छ कि, तपाईंले कस्तो पहिरन शैली अपनाउनुपर्छ ?
अरुको देखेर होइन, आफैलाई हेरेर पहिरन शैली अपनाउनुपर्छ । आफ्नो शारीरिक वनौट, वर्ण, उचाई, रुपरंग अनुसार सही किसिमको पहिरन छनौट गर्न सक्नुपर्छ ।
कुनै हिरो वा हिरोइनले जुन पहिरन लगाउँदा आकर्षक देखिएका छन्, त्यसले तपाईंको सौन्दर्य नखुल्न पनि सक्छ । किनभने उनीहरुको शारीरिक ढाँचा र तपाईंको शारीरिक ढाँचा फरक छ । आफ्नो शारीरिक ढाँचा अनुरुपको पहिरन नै आफुलाई सुहाउँदो हुन्छ ।
खासमा फेसन त्यही हो, जुन पहिरन तपाईंलाई सहज लाग्छ । तपाईं हिँडडुल गर्नुहुन्छ, कार्यलयमा काम गर्नुहुन्छ, व्यापार व्यवसाय गर्नुहुन्छ । यावत् काम गरिरहँदा तपाईंलाई आफ्नो पहिरन एकदमै सहज र अनुकुल महसुष हुनुपर्छ ।
त्यही कारण त फेसन विज्ञहरु भन्छन्, ‘फेसन यस्तो हुनुपर्छ, जो तपाईंलाई सहज हो । यसले तपाईंलाई शारीरिक वा मानसिक रुपमा असहज महसुष नगराओस् ।’
आफ्नो शरीर र काम अनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने तपाईंले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन । आफुले लगाएको पहिरन सहज लाग्छ । यसले गर्दा तपाईंको आत्मविश्वास पनि बढ्छ । वास्तवमा हामीले लगाएको पहिरनले हाम्रो आत्मविश्वास बढाउने काम पनि गर्नुपर्छ । असहज पहिरनमा तपाईं जतिसुकै चमकदमक देखिएपनि त्यसले तपाईंको आत्ममनोवल कमजोर बनाइरहेको हुन्छ ।
जबकी पहिरनले मान्छेको मनोवल पनि बढाउनुपर्छ । त्यसैले बजारमा चलेको वा स्टाइसिल देखिने चक्करमा भद्दा, असहज पहिरन लगाउन हुँदैन ।
फेसन भनेको समयानुकल हुनुपर्छ । जाडोको मौसममा तपाईंले त्यस्तो पहिरन शैली अपनाउनुपर्छ, जसले शरीरलाई न्यानो प्रदान गर्छ । स्टाइलिस एवं ग्ल्यामरस देखिने चक्करमा छोटो, पारदर्शी, खुला पहिरन लगाउनु हुँदैन ।
ठिक यसैगरी गर्मीमा तपाईंले यस्तो पहिरन लगाउनुपर्छ, जसले सितलता प्रदान गर्छ । खुला र सहज पहिरन लगाउनुपर्छ । पसिना सोस्न सक्ने पहिरन हुनुपर्छ ।
वर्षायाममा लगाइने परिहन जाडो वा गर्मीको पहिरन भन्दा भिन्न हुनुपर्छ । यतिबेला लगाइने पहिरन हल्का हुनका साथै पानीले भिजेर पनि खास असर नगर्ने किसिमको हुनुपर्छ । वा पानीले भिजेपनि चाडै सुक्ने किसिमको हुनुपर्छ । यसरी मौसम अनुकुल पहिरनको छनौट गर्नु नै फेसनेवल हुनु हो ।