Comments Add Comment

इस्टर्न रिजन टी २० मा च्याम्पियन बन्ने नेपालको लक्ष्य

१५ फागुन, काठमाडौं । आगामी सेप्टेम्बरमा मलेसियामा हुने एसीसी एसिया कपको रोडम्यापको रुपमा रहेको ‘एसीसी इस्टर्न रिजन टी२० क्रिकेट’ प्रतियोगिता जित्ने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली आज थाइल्याण्ड प्रस्थान गर्दै छ ।

कोरोना भाइरसको त्रास अनि क्रिकेटमा अनिश्चितको फर्म्याट मानिने टी २० खेल । तर नेपालको एक मात्र लक्ष्य इस्टर्न रिजन जित्नु नै हो । ‘हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । च्याम्पियन जस्तै गरेर खेल्नेछौँ’ प्रशिक्षक जगत टमाटाले थाइल्याण्ड जानु अघिल्लो दिन भनेका थिए ।

गत वर्ष सिंगापुरमा भएको आईसीसी विश्वकप क्वालिफायर एसिया क्षेत्रको अन्तिम चरणमा नेपाल तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसंग पराजित हुँदै विश्वकपको मुख्य छनोटसम्म पुग्न सकेको थिएन । यस्तै यही एसिया कपको लागि भइरहेको वेस्टर्न रिजनको खेलमा पनि ओमानले कतारसंग अप्रत्यासित हार ब्यहोर्दा समूह चरण नै पार गर्न सकेन । त्यसैले पनि नेपालले यस पटक विपक्षीसंग सतर्क रहेर खेल्नुपर्नेछ ।

वेस्टर्न रिजनमा कूल ८ टोली सहभागी भएकोमा युएई  र कुवेतले फाइनलमा पुगेर एसिया कपको मुख्य छनोट प्रतियोगितामा स्थान बनाएका छन् । त्यही छनोटमा पुग्ने अर्को २ टोलीको टुङ्गो लगाउन यही शनिबारदेखि थाइल्याण्डमा इस्टर्न रिजनको खेल हुँदैछ ।

फेब्रुअरी २९ देखि मार्च ६ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र आयोजक थाइल्याण्डसहित कूल ५ टोलीले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ मा रहने टिम एसिया कप छनोटमा पुग्नेछ ।

एसिया कप छनोटमा ४ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसको विजेता टिम मात्र एसिया कप टी २० मा छनोट हुनेछ । जहाँ एसियाका टेष्ट मान्यता प्राप्त ५ राष्ट्रसहितले प्रतिस्पर्धा गर्नेछन् ।

इस्टर्न रिजनमा पनि ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउने तालिका थियो । तर चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीन, भुटान र म्यानमारले प्रतियोगिता नखेल्ने भएपछि अन्तिममा ५ टोलीले मात्र खेल्ने भएका हुन् । त्यसैले एसीसीले प्रतियोगिताको फर्म्याट नै परिवर्तन गरेर ५ टिमको राउण्ड रोविन लिग खेलाउन लागेको हो ।

 च्याम्पियन बन्ने लक्ष्य

राउण्ड रोविन लिगमा सहभागी ५ टिमले एक आपसमा खेल्नेछन् । यसो हुँदा नेपालले लिग चरणमै मलेसिया,  हङकङ, सिंगापुर र थाइल्याण्डसंग खेल्नुपर्नेछ ।

सबैले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ । यस्तै अंक तालिकामा शीर्ष दुईमा रहने टोली आगामी अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरमा छनोट हुनेछ । सहभागी संख्या ८ बाट ५ मा झरेपछि राउण्ड रोविन लिगमा खेलाउन लागिएको हो ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले इस्टर्न रिजनका लागि नेपाल पूर्ण रुपमा तयार रहेको र उपाधि जित्नकै लागि खेल्ने बताए । ‘हामी निरन्तर क्रिकेटमै रहेकोले पनि तयारी राम्रो भएको छ । अलिकति फरक के छ भने यो टी २० फर्म्याटमा छ । हामी तयार छौँ खेलाडी फिट छन् । हामी त्यहाँ कप जित्न जाने हो’  कप्तान ज्ञानेन्द्रले भने, ‘लक्ष्य एसिया कपसम्मको छ । त्यसैले त्यहाँ गएर रम्रो क्रिकेट खेल्ने टुर्नामेन्ट जित्ने हो ।’

नेपालमै भएको विश्वकप लिग २ ट्राई सिरिजपछि उमेश पटवालले प्रशिक्षकबाट राजीनामा दिएकोले अहिले नेपालको प्रशिक्षक बनेका जगत टमाटाले जुनसुकै पर्म्याट भए पनि मुख्य कुरा राम्रो खेल्नुपर्ने बताए ।

‘५० ओभर र टी २० फरक फर्म्याट भएपनि हामी मानसिक रुपमा बलियो छौँ’ टमाटाले भने । टी २० माइन्ड गेमले खेल्ने हो ।’ थोरै समय भए पनि हामी तयार छौँ । तयारी राम्रो भएको छ ।’

प्रशिक्षक टमाटाले आफूलाई क्यान, टिम म्यानेजमेन्ट र खेलाडी सबैले विश्वास र सपोर्ट गरेको भन्दै फेरि एक पटक च्याम्पियन भएर आउने लक्ष्य राखेको बताए । उनले त्यसका लागि टिम सन्तुलित रहेको पनि सुनाए । ‘हाम्रो टिम ब्यालेन्स्ड छ । जुनियर खेलाडीहरु पनि राम्रो प्रदर्शन गरेर नै टिममा आएका छन् । सिनियर पनि छन् उनीहरुको अनुभव छ’ टमाटाले भने ।

कुशल मल्ललगायत युवा खेलाडीहरुको आगमन टिमको लागि सुदख रहेको टमाटाले बताए । ‘कुशल एउटा राम्रो लेफ्टी ह्याण्डेल ब्याट्सम्यान हो । उ अलराउण्डरको रुपमा छ, स्पीन बलिङ गर्छ’ टमाटाले भने, ‘यस्तै जोराहरु (सन्दीप जोरा) छ । योङ साइड छ । यसले फिल्डिङमा पनि प्लस प्वाइन्ट भएको छ । ५०-५० को अवस्थामा ४ रन रोक्न सक्छ । टिम सन्तुलित छ ।’

कप्तान ज्ञानेन्द्र मल्लले पनि टिम राम्रो रहेको बताए । ‘नयाँ खेलाडी क्षमता भएरै आएको हो । विस्तारै क्रिकेट ट्रान्जिसन फेजमा छ । त्यसैले नयाँलाई मौका दिनुपर्छ’ ज्ञानेन्द्रले भने । ‘हामीले २०२२ सम्मलाई तयार हुनुपर्छ । त्यसैले धेरै खेलाडीलाई अवसर दिनुपर्छ ।’

तर कप्तान ज्ञानेन्द्रले इस्टर्न रिजनमा खेल्ने कुनै पनि टिमलाई कमजोर लिन नमिल्ने बताए । ‘टी २० मा अपोनेन्टलाई कमजोर आँक्न मिल्दैन ।’

अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट भइसकेको ओमान पनि यस पटक वेष्टर्न रिजनको छनोटबाटै आउट भयो । कतारसंगको हार ओमानलाई महँगो पर्‍यो । ‘अहिले ओमानको उदाहरण हेर्दा टी २० मा कुनै पनि टिमलाई सजिलो आँक्नु हुँदैन’ ज्ञानन्द्रले भने ।

कप्तान ज्ञानेन्द्र र निवर्तमान कप्तान पारस खड्का अनि विकेटकिपर विनोद भण्डारी बाहेक नेपाली टिमका अन्य खेलाडि सबै युवा नै छन् । यस पटक सिनियर खेलाडीहरु शरद भेषावकर, बसन्त रेग्मी अनि तिब्र गतिका बलर सोमपाल कामी पनि टिममा छैनन् ।

उनीहरु नहुँदा टिममा स्पीनर भुवन कार्कीले कमब्याक गरेका छन्  । तिब्र गतिका बलर किशोर महतो पहिलो पटक सिनियर टिममा परेका छन् । यस्तै पवन सर्राफ र सन्दीप जोराले पनि टिममा कमब्याक गरेका छन् । पछिल्लो पटक ट्राई सिरिजमार्फत एक दिवसीय क्रिकेटमा डेब्यु गर्दा कीर्तिमान बनाएका कुशल मल्ल अलराउण्डरको रुपमा छन् ।

यसबाहेक टिममा उपकप्तान दीपेन्द्रदेखि ग्लोबल स्टार छवि बनाएका सन्दीप लामिछानेसम्म युवा नै छन् । टी २० मा नयाँ खेलाडीलाई पनि अवसर दिने हिसाबले फिटनेस पनि हेरेर युवा खेलाडीहरु राखिएको कप्तान ज्ञानेन्द्रले बताए ।

…..

टिम सन्तुलित रहेको भने पनि ओपनिङ कसले गर्ने नेपाली टिमको कहिल्यै समयमा निर्णय हुन सक्दैन । ओडीआईमा कप्तान ज्ञानेन्द्रले पारस र सुवास खकुरेलसंग ओपनिङ गरेका थिए । यसअघि टी २० मा ज्ञानेन्द्र र पारसले नेपालको ओपनिङ गरिसकेका छन् । पछिल्लो पटक सिंगापुरमा भएको ट्राई सिरिजमा पारस र इशान पाण्डेले ओपनिङ गरेका थिए ।

अहिले इशान टिममा छैनन् । उमेर समूहमा ओपनिङ गरिसकेका युवा अलराउण्डर कुशल मल्ललाई पनि यस पटक ओपनिङको विकल्पमा हेरिएको छ । कप्तान ज्ञानेन्द्र र प्रशिक्षक टमाटाले पनि कुशल विकल्प हुन सक्ने बताए । ‘हामीले कुशललाई ओपनरको रुपमा पनि तयारी गरेका छौँ’ प्रशिक्षक टमाटाले भने, ‘टिम म्यानेजमेन्टले उता गएर कन्डिसन हेरेपछि के गर्ने निर्णय गर्छ ।’ उनले टी २० मा २-३ बलले पनि धेरै परक पार्ने भएकोले अवस्था हेरेर खेलाउने बताए ।

यस्तै कप्तान ज्ञानेन्द्रले पनि कुशललाई ओपनरको रुपमा खेलाउने सकिने संकेत गरे । ‘कुशललाई ओपनरको रुपमा ट्राई गर्न सकिन्छ । अहिले म, पारस र कुशल टप थ्री मा ३ जना छ । ओपनिङबारे  त्यहाँ गएपछि नै निर्णय हुन्छ’ ज्ञानेन्द्रले भने ।

कोरोनाको त्रास

एकातिर नेपालले राम्रो खेल्दै च्याम्पियन बन्ने लक्ष्य राखेको छ । तर अर्कोतिर थाइल्याण्डमा कोरोनाको त्रास पनि छ । बुधबार नेपाली टोलीलाई बिदाई गर्ने क्रममा नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले कोरोनाकै त्रासको कारण प्रतियोगिता गर्ने नगर्ने  भन्नै अन्योल रहेको र एसीसीले यसबारे स्वास्थ्यसम्बन्धी छलफल गरेर पछि मात्र खेलाउने निर्णय गरेको बताए ।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले एसियाका अन्य देशहरुमा साथै युरोपको इटलीसम्म फैलिएको छ । ‘हप्तादिन अघिसम्म त प्रतियोगिता नै रद्द होला कि जस्तो अवस्था थियो । पछि स्वास्थ्यको हिसाबमा सुरक्षित नै रहने भएपछि एसीसीले आयोजना निर्णय गरेको हो,’ प्याकुरेलले भने । एसीसीले खेलाडीहरुलाई खेलबाहेक अन्य बेला होटलबाट बाहिर नजान भनेको छ र आराम गर्ने दिन पनि होटलमै लन्चको व्यवस्था गरेको छ ।

उनले नेपाली खेलाडीहरुको लागि पनि सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेका थिए ।

इस्टर्न रिजन आयोजना हुने थाइल्याण्ड सहभागी सबै अन्य देशमा पनि कोरोनाको संक्रमण देखिएको छ । यस्तै सिंगापुर, हङकङ र मलेसियामा पनि कोरोनाको संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म एक जनामा यो संक्रमण भएको पुष्टि भएको छ । थाइल्याण्डमा ४० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कप्तान ज्ञानेन्द्र मल्लले कोरोना बारेमा फिजियोसंग सल्लाह गरेर सतकर्ता अपनाउने बताए । ‘हाम्रो फिजियोले हेर्नुभएको छ । एसीसीबाट पनि सुरक्षित छ भन्ने आश्वासन छ । त्यस्तो केही छैन । ग्राउण्ड र होटलमा केही छैन भने हामी गेममा फोकस हुनुपर्छ ।’ उनले भने ।

 नेपालको खेलतालिका

एसीसीले राउण्ड रोविन लिग प्रणालीमा सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो दिनै २९ फेब्रुअरीमा मलेसियासंग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसलगत्तै नेपालले दोस्रो खेल १ मार्चमा हङकङसंग खेल्नेछ ।

त्यसपछि एक दिन रेस्ट डे छ भने अर्को दिन नेपालको खेल छैन र नेपालले दुई दिन रेस्ट पाउनेछ । नेपालले तेस्रो खेल ४ मार्चमा आयोजक थाइल्याण्डसंग खेल्नेछ भने ६ मार्चमा सिंगापुरसंग अन्तिम खेल खेल्नेछ । शीर्ष दुई टोलीले एसिया कप क्वालिफायरमा स्थान बनाउने छन्।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, विनोद भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, भुवन कार्की, किशोर महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment