Comments Add Comment

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नै प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओली भोलि सोमबार नै अस्पताल भर्ना हुनेछन् । त्यसको अघिल्लो दिन आइतबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय र दिउँसो मन्त्रिपरिषद् बैठक राखेर आफ्नो प्रत्यारोपण तयारीबारे जानकारी गराएका छन् ।

‘सबै परीक्षण भएको छ । सम्भवत बुधबार प्रत्यारोपण हुन्छ’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘७ दिन जति रेष्ट गर्छु । त्यसपछि विस्तारै काममा फर्किन्छु ।’

भान्जीले दिनेछिन् मिर्गौला

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने युवतीले मृगौला दिनेछन् । मोरङ घर भएकी संग्रौला थरकी भान्जीको नाम भने आचारसंहिताका कारण नाम गोप्य राखिएको छ ।

उनी विवाहित हुन् र पतिसहित परिवारको सहमतिमा मृगौला दिन तयार भएकी हुन् । ‘प्रधानमन्त्रीको मृगौला पुनः प्रत्यारोपणको कुरा आएपछि धेरै कार्यकर्ता र सर्वसाधारणले मृगौला दिन्छु भनेर आग्रह गरेका थिए’ स्रोतले भन्यो ‘तर भान्जीकै म्याच भयो ।’

यसअघि पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिएकी थिइन् ।

स्वदेशमै प्रत्यारोपण

पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा तत्कालीन एमालेका नेता ओली भारतको एपोलो अस्पताल गएका थिए । त्यसयता बैंकक र सिंगापुरमा उपचार गर्दै आएका थिए ।

तर मिर्गौला प्रत्यारोपणका लागि भने नेपालकै सरकारी अस्पताल रोजेका छन् । चिकित्सकहरुले संक्रमणको जोखिम अन्त्यन्तै न्यून हुने भन्दै अमेरिका जाने सल्लाह पनि दिएका थिए । तर प्रधानमन्त्री ओलीले नेपालकै अस्पताल रोजेका छन् ।

प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् ।

उनी बेलाबेला स्वास्थ्य परीक्षणका लागि विदेश गइरहन्थे । पछिल्लो पटक १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गए । २७ साउन स्वदेश फर्किएका उनको मिर्गौलाले राम्रोसँग काम नगरेपछि ५ भदौमा फेरि सिंगापुर पुगे ।

नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । तर यो उपचारले पनि राम्रोसँग काम नगरेपछि २ कात्तिकमा फेरि अस्पताल पुगे । ४ गते बुधबार फेरि अस्पताल पुगेका उनको आकस्मिक रुपमा डायलाइसिस गरियो ।

त्यसयता उनको नियमित डायलासिस गरिँदै आएको छ । उनीसामू नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प थियो । चिकित्सकहरुसँग लामो परामर्शपछि उनले पुनः प्रत्यारोपणको विकल्प रोजेका छन् ।

यो पनि पढ्नुस् :

मिर्गौलाको पुनः प्रत्यारोपण कति सफल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment