Comments Add Comment

भारतीय रहेको दाबीसहित वडाध्यक्षविरुद्ध उजुरी, अनुसन्धान सुरु

१९ फागुन, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । चौधरी भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको रिससियाका बासिन्दा रहेको दाबी उजुरीकर्ताले गरेका छन् ।

रामगोपालपुर नगरपालिका वडा नम्बर ८ बस्ने हरिश्चन्द्र ठाकुरले वडा अध्यक्ष चौधरी भारतीय नागरिक भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

ठाकुरले भारतीय निर्वाचन आयोगको फोटोसहिततको मतदाता नामावलीमा वडाध्यक्ष चौधरी र उनका बुबाको नाम रहेको प्रमाण उजुरीका साथ पेश गरेका छन् । २०१९ मा भारतमा भएको लोकसभा निर्वाचनमा चौधरीले मतदान समेत गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् ।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित चौधरी भारतीय नागरिक रहेको र नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिएको दाबी उजुरीमा गरिएको छ ।

‘वडाध्यक्ष चौधर भारतीय नागरिक रहेको भन्दै उजुरी आएको छ,’ महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘हामी अनुसन्धान प्रकृयालाई अगाडि बढाएका छौं ।’

दोहोरो नागरिकता लिएको बारेमा भारतीय पक्षसँग पनि कुराकानी गरेर अनुसन्धान सुरु गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी खत्रीले प्रमाणित भए कारबाही गरिने बताए । उनले प्रमाािणत भए उनको नागरिकता खारेजीका लागि गृह मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा पेश गरिने बताए ।

नेपाल नागरिकता ऐन २०६३ बमोजिम दोहोरो नागरिकता लिएको प्रमाणित भएमा १ वर्षदेखि ५ वर्षसम्म कैद ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुबै हुने प्रावधान छ ।

झुठो विवरण पेश गरी लिएको नागरिकता समेत स्वतः बदर हुने तथा सहयोग गर्ने, सिफारिस गर्नेलाई पनि कारबाहीको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment