Comments Add Comment

भारतमाथि न्युजिल्याण्डको क्लिन स्वीप

१९ फागुन, काठमाडौं । घरेलु टोली न्यूजिल्याण्डले भारतविरुद्धको दुई खेलको टेष्ट सिरिज पनि क्लिन स्वीप गरेको छ । दोस्रो टेष्टमा ७ विकेटको जित हात पार्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो । पहिलो टेष्ट उसले १० विकेटले जितेको थियो । १

दोस्रो टेस्टमा १३२ रनको लक्ष्य न्युजिल्याण्डले ३६ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्याण्डको जितमा ओपनरद्वय टम लाथम र टिम ब्लन्डेलले अर्धशतक प्रहार गरे । पहिलो विकेटका लागि यी दुईले शतकीय साझेदारी गरे । ब्लन्डेलले ५५  लाथमले ५२ रन योगदान गरे । कप्तान केन विलियम्सन ५ रन बनाएर आउट भए । रोस टेलर र हेनरी निकोल्स समान ५ रनमा अविजित रहे ।

भारतका जसप्रित बुमराहले २ विकेट लिए  ।

भारतले ९०-६ बाट तेस्रो दिनको खेल शुरुवात गरेको थियो । भारतले ३४ रन जोड्दै थप ४ विकेट गुमाएपछि न्युजिल्याण्डले १३२ रनको सामान्य लक्ष्य पाएको थियो । तेस्रो दिन भारतका हनुमान बिहारी ९, रिसव पन्त ४, मोहम्मद सामी ५ र जसप्रित बुमराह ४ रन बनाएर आउट भए । रविन्द्र जडेजा १६ रनमा अविजित रहे ।

दोस्रो इनिङ्समा भारतका लागि चेतेश्वर पुजाराले बनाएको २४ रननै व्यक्तिगत उच्च स्कोर रह्यो । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ र टिम साउथीले ३ विकेट लिए ।

क्राइस्ट चर्चमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २४२ रन बनाएको थियो । न्युजिल्याण्डले पहिलो इनिङ्समा २३५ रन बनाएको थियो ।

पहिलो इनिङ्समा ५ विकेट लिएका केल जेमीसन खेलको म्यान अफ दि म्याच चयन भए । यस्तै सिरिजभर १४ विकेट लिएका न्युजिल्याण्डका टिम साउथी प्लेअर अफ दि सिरिज घोषित भए ।

भारतविरुद्ध सिरिज क्लिन स्वीप गरेपछि १२० अंक जोडेको न्युजिल्याण्डले वर्ल्ड टेष्ट च्याम्पियनसिपमा कूल १८० अंक जोडेको छ र भारत र अष्ट्रेलियापछि तेस्रो स्थानमा उक्लेको छ । भारत ३६० अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको २९६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment